Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

स्वीकृत

- श्याम आशा
भक्तपुर



लामो भाषणको अन्त्यमा उसले यसरी जोड्यो - ‘कि खानपिउन देऊ, नत्र कुर्सी छोड !’

तालीले आकाश गुञ्जियो । सबैले राम्रो भाषण दिने भनेर स्वीकारे । सरकारले पनि यो कुरा सुन्यो । बोलाएर ऊसित सोध्यो - ‘तिमी मन्त्री बन्न चाहन्छौ ?’

‘ज्यू हजुर ।’

‘ल तिमी मन्त्री भयौ । तिमीलाई कार एउटा, बंगला एउटा र महिनामा ... ।’

‘ज्यू हजुर’ उसले जवाफ दियो । केही क्षणपछि अर्को भाषणको कार्यक्रम एक ठाउँमा तय भयो । माइकबाट आवाज आयो -‘हामी जनताको हित र सुरक्षासँगै खानपिउन दिइरहेको यही सरकार चाहिन्छ ।’

यस समयमा ताली पटक्कै नसुनिएकोले आफ्नो पिएलाई सोध्यो - ‘ताली किन नबजाएको हँ ?’

‘हजुर, यो मौन स्वीकृति हो ।’


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment