Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

लोग्ने स्वास्नी

- रञ्जुश्री पराजुली
काठमाडौँ


सधैं यस्तै भए पछि म कसरी खप्नु । आठ महिले छोरोलाई पिठ्युँमा पटुकाले बाँध्दै उ एकोहोरो फतफत जारी राख्छे । घरको आमकाज कत्ति पनि नसघाउने । घर भन्नु नै के छ र । एउटा फुसले छाएको छाप्रो । एक जोडी बाख्रा, तीनवटा अन्डा पार्ने कुखुरा अनि घर वरिपरि अलिकति बारी । बस् त्यति हो ।

आफू फुपूको घरमा एक साता बस्न आएको बेला भेट भएको हो फुपूको भान्जा उसँग । उस्को बोलीचाली, बानी बेहोराले मोहनी लगायो । फुपू काहाँ दुई दिन बसे पछि उस्ले मलाई भगायो । एक साता लुकाएर राख्यो । त्यसपछि उस्को घर  यो छाप्रोमा ल्यायो । आफूलाई पनि त माया गर्ने लोग्ने पाए पछि के चाहियो र । मेरो माया पनि उ माथि कम थिएन अहिले पनि त्यत्तिकै छ । तर यो मुर्ख भयो । घरमा स्वास्नी, सानो छोरा छ भन्ने कुरा घरबाट बाहिर निस्केपछि बिर्सन्छ । त्यसलाई आजकल न कुनै आइमाइले फसाई कि भन्दै चमेली एकालाप गरी मन बुझाउँदै थिई । ॅॅअब त्यो आए पछि म आज ठिक पार्छु । कि तँ यो घरमा बस, कि म बस्छु’’ भनेर झगडा नगरी भएन । म जस्ती तरुनीले पोइल जाउँ भने जति पनि अर्धोकेटो पाउँछु ।’’

भोक लागेर आउँछ त्यो अब । तातो आलुको झोल तरकारी र कोदोको रोटी पकाएर राखेको चिसो भइसक्यो । आफूलाई पनि त भोक लाग्यो नि । एक्लै खान मन लाग्दैन । आमा नभएको त्यसलाई माया गर्ने मै मात्र त छु नि । बिचरो कति भोकायो होला भन्दै खानेकुरा भुङ्ग्रोमा राख्न अगेनामा गै ।

मौकाले त्यो दिन नरेले गाउँमा मेलो जान पाएकोथ्यो । हातमा पैसा पनि थापेको थियो । गाउँकै कान्ला मुनीकि मुसुरी कान्छीको भट्टी पसलमा पसेर धीत मरुन्जेल रक्सी धोक्यो । बुढीलाई खुसी पार्नु पर्छ भनेर अलिकति पैसा उसले कट्टीमा लुकाएको थियो । लागेको सुरमा उस्ले मुसुरीलाई “मैले आज कमाएको अलिकता पैसा बुढी खुसी पार्न कम्मरमा लुकाएको छु ?  भन्न भ्यायो । मुसुरीले पनि मौकाको फाइदा उठाउँदै  “नरे रात पनि परिसक्यो । तिम्रो बुढी बच्चा च्यापेर सुतिसकी आज मैसँग सुत । पानी परेर जाडो पनि छ । हामी न्यानो गरी सुतौँला’’ भनी ।

“आम्मै नि मुसुरी तिमीले के यस्तो पापी कुरा गरेको ? घरमा मेरी स्वास्नी नखाइकन मलाई कुरेर बसेकी छे । मैले उस्लाई धोका दिन हुन्न । पाप लाग्छ बाबै’’ भन्दै ढोका खोलेर बाहिर निस्कियो ।


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment