गाम्चा
-जेबी खत्री
हामी सानो छँदा आमाले हामीलाई गाम्चाको झोलुङ्गो बनाई पिठ्यूँमा बोकेर हिँड्नु हुन्थ्यो । मेलापात जाँदासँगै लिएर जानु हुन्थ्यो । शिरको गाम्चा झिकेर शीतलमा ओछ्याई दिनु हुन्थ्यो । हामी हिमालको चिसो हावासँगै खेल्थ्यौं । पहाडको झरनासँगै रमाउँथ्यांै । तराईको सुन्दरफाँटसँग भुल्थ्यौं । हिमाल, पहाड र तराईको गीत गाउँदै खुसीसाथ रमाउँथ्यौं । खुम्चिए गाम्चाको छेउकुना तानेर मिलाउँथ्यौं ।
आमा दिनभरि खेतबारीमा काम गर्नु हुन्थ्यो । आफ्नै माटोको सुगन्ध छरेर पसिना बगाउनुहुन्थ्यो । हामी त्यहीँ निदाउँथ्यौं । पहाडको शीतल छहारीमा निलो आकाश ओढेर । हिमालको शिराने लाएर । पहाडको काखजस्तो तराईको फाँटसम्म फैलन्थ्यौं । न बिझायो हामीलाई हिमाल । नबिझायो हामलाई पहाड । बिझाएन हाम्लाई तराई । दियोको एउटै बत्तीझैँ बलिरहनुभयो, आमा यही माटोमा ।
हामीले कहिल्यै भनेनौं, यता तेरो, यता मेरो । च्यात्न खोजेनौं हामीले त्यो गाम्चा कहिल्यै, आफूभरिको बनाएर उपभोग गर्न खोजेनौँ र भनेनौँ पनि हामीले कहिल्यै यो गाम्चा हाम्री आमाको हो, हाम्रो मात्र हो भनेर ।
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment