Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

सत्य
 

- डा. कमला तामाङ
मिरिक, दार्जीलिङ, भारत


एक साधारण व्यक्ति - पञ्चवीर तामाङ । नचाहिँदो नबोल्ने । जीवनमा उनले कहिल्यै कसैको कुभलो चिताएनन् । बेलाबेलामा गाउँघरमा उनको चर्चा चल्छ - उनी साह्रै सोझा मानिस, सत्यवादी पनि । मान्छे होस् त त्यस्तो ! तर उनको उपहास गर्ने मानिसहरूको पनि कमी छैन ! तिनीहरूका भनाइ छः “पञ्चवीर जस्तो मानिसको हिजोआज कुनै मूल्य छैन । अहिलेको जमानामा बाठा, धनीहरूको बोलवाला चल्छ । धनाढ्य हुन - नसक्नेलाई कसले मान्ने ! ... आदि ...? पञ्चवीरले समाजिक जीवनमा कति मानिसहरूका मान - मर्यादाको उत्थान - पतन देखेका छन् । क्षमतावान मानिस गतिछाडा भएको पनि उनले देखेका छन् । कुनै बेला मिथ्याचारहरूका बेहाल देखेर उनी दङ्ग परेका पनि छन् । अरूको मनको कुरा सुन्ने असीमित धैर्य उनमा रहेको छ । यही धैर्यले उनले अरूको जीवन नियालेर हेर्ने प्रयास गर्छन् । 

हिजोआज पञ्चशीलको उमेर बुढेसकालतिर ढल्कँदैछ । उनी सधैँ सरल जीवन बिताउने गर्छन् । उनको दाम्पत्य जीवनले पनि उनका दुई छोरीहरूमा पूणर्ता प्राप्त गरेको छ । उनी ईश्वरमा समर्पित छन् । सायद ईश्वरको इच्छाले नै उनका दुवै छोरीहरू डाक्टर भएका होलान् - मानिसहरूका सेवा गर्न । कसैले उनलाई ’तपाईंलाई के मनपर्छ ?’ भनेर सोध्यो भने उनी भन्छन् : “मलाई प्रकृतिको यो अचम्मको सृष्टि 'मानिस' मनपर्छ ।’’ अर्कोतिर कसैले उनलाई तपाईंलाई के मनपर्दैन ? भनेर सोध्यो भने उनले झट्ट भन्छन् - 'मिथ्याचार' सायद त्यसैले उनी सत्यलाई अँगालेर नै सधैँ खुसी छन् ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment