नेपाली साहित्यको लघुकथा विधामा अनवरतरूपमा सक्रिय महिला साहित्यकार हुन् – लता के.सी । जान्दवीदेवी र लक्ष्मीबहादुर खड्का क्षत्रीकी सुपुत्री लता के.सी. २०१६ कात्तिक ६ गते भोजपुर दावामा जन्मिएकी हुन् ।
बी.ए.सम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका लता २०वर्षको निरन्तरशिक्षण सेवाबाट २०७३ देखि अवकाशप्राप्त हुनुहुन्छ । २०३९ मा मोरङ कलेजको वार्षिक मुखपत्र 'प्रकाश’मा 'अन्तरद्वन्द्व’ शीर्षकको कथा प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकी के.सी.को पहिलो लघुकथा लोकभावना पत्रिकामा प्रकाशित 'दुर्घटना’ शीर्षकको थियो भने पहिलो कृतिको रूपमा 'चोटदेखि मृत्युसम्म’ (लघुकथासङ्ग्रह, २०७७) प्रकाशित भएको थियो ।
हाम्रो लघुकथा केन्द्र नेपालको अध्यक्षको रूपमा कार्यरत के.सी.का अन्य कृतिमा दृश्य लघुकथासङ्ग्रह–२०७८, सफलता लघुकथासङ्ग्रह –२०८० गरी तीन वटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् भने केही पुस्तकहरू प्रकाशनको तयारीमा छन् । उहाँले थुप्रै पुस्तकको सम्पादन समेत गरेकी छिन् ।
उनी विभिन्न संघसंस्थाबाट साहित्यिक पुरस्कार तथा सम्मानबाट पुरस्कृत, सम्मानित हुनुहुन्छ । लता के.सी.सँग लघुकथा संसारले गरेको छोटो कुराकानी ।
लघुकथा किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?
लता के.सी. : लघुकथाकारहरूले शब्दका माध्यमबाट जीवन र जगतका विषयहरूलाई लघुकथामा उठान गर्छु । कलमले यावत् समस्या उजागर गर्छ, समाधान खोज्छ । एकातिर समाजको लागि भने अर्कोतिर आत्मसन्तुष्टि र समयको सदुपयोग होस् भनेर म लघुकथा लेख्ने गर्छु ।
उत्कृष्ट लघुकथा हुन के कस्ता गुणहरू हुनुपर्छ होला ?
लता के.सी. : लघुकथाको सिद्धान्त लेखिसकिएको यो वर्तमान परिस्थितिमा लघुकथालाई उत्कृष्ट बनाउन एउटा सर्जक त्यतातिर सजग हुनु पर्छ । मोटामोटीरुपमा आकारले, आयामले छोटो छरितो हुनु, कथावस्तु, विषय नवीन र मौलिक हुनु, सकारात्मक सन्देश हुनु, तीखो व्यङ्ग्य, संवाद र विम्बको प्रयोग हुनु, पात्र सीमित हुनु, शीर्षकको सार्थकता, विपरित र झड्केदार समापन आदि जस्ता गुणहरु आउनु पर्छ ।
यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?
लता के.सी. : एउटा कलमप्रेमीलाई लेखनमा समय र स्थानले प्रभाव पार्छ नै । मेरो हकमा पनि त्यही हो । बिहानीको ताजा अवस्थामा एक्लै, सुनसान, फुर्सदको समयमा प्रायः लेख्ने गर्छु । कहिलेकाही“ जुनबेला जहाँ पनि विचार र भाव सलबलाउँछन् त्यसबेला म टिपोट गर्छु र समयानुकूल लेख्ने गर्छु ।
हिजोआज साहित्य लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउन चलन असाध्यै बढेर गएको छ यसलाई कसरी लिनु भएको छ ?
लता के.सी. : साहित्यको विकास र विस्तारमा सामाजिक सञ्जालको ठूलो महत्व र प्रभाव रहेको छ । प्रविधिले दिएको यो एउटा अवसर र उपहार हो । हामीले सदूपयोग गर्न सक्नु पर्छ । सामाजिक सञ्जालमा पोष्ट्याउनु सरल पद्धति त बनेको छ तर उत्कृष्ट साहित्य लेखनमा स्रष्टा स्वयम् सचेत र सजग रहनु पर्छ ।
वर्तमान लघुकथा लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?
लता के.सी. : वर्तमान समयमा लघुकथा लेखनको भेल बगेको छ । खासगरी ७०को दशकपछि लेखन दर ह्वात्तै आकाशिएको छ । कोही लघुकथा बनेका छन् भने कोही अलघुकथा पनि । हिजो र आजको लेखन प्रवृत्तिलाई तुलना गर्दा निकै फरक आएको छ । जतिखेर लघुकथाका सिद्धान्त कोरिएका थिएनन्, त्यो बेला आ–आफ्नै हिसाबले प्रयोग भए, लघुकथा लेखिए तर वर्तमान समयमा लघुकथाका तङ्खवहरु आत्मसात् गरेर लेखिनु पर्छ भन्ने आवाज उठेको छ, लेखिन थालेका छन् ।
| लता के.सी.का प्रकाशित कृतिहरू -------------------------------------------- |
कविता र कथामा तात्विक भिन्नता के कस्ता हुन्छन् ? केही खुलाई दिनुहुन्छ कि ?
लता के.सी. : कविता र कथा, साहित्यका फरक विधा हुन् । कविता कविकर्म हो, जसमा कविका भाव र संवेगहरू गद्य या पद्यरुपमा पोखिन्छन् तर कथा आख्यान विधा हो जसमा घटना र पात्रहरूको प्रमुखता हुन्छ ।
अहिले लेखिएका/छापिएका लघुकथाहरूको कमजोर पक्ष ? अथवा लघुकथाका चुनौतीहरू के–के होलान् जस्तो लाग्छ ?
लता के.सी. : सामाजिक सञ्जालको अत्याधिक प्रयोगले आज लघुकथाहरू सिक्ने बहानामा होस् या नयाँ नयाँ प्रयोगको चाहनाले होस् । राम्रा नराम्रा, लघुकथा, अलघुकथा सबै छ्यासमिस लेखिन/छापिन थालेका छन् । वर्तमान समयमा लघुकथालाई छोटो, सानो कथा भन्ने बुझेर लेख्नेको घुइँचो छ । लघुकथाको अवधारणा नबुझेर नै लेख्नु ठूलो कमजोरी पक्ष हो । लघुकथा लेखनमा गुणस्तर कायम गर्नु, विश्व बजारमा नेपाली लघुकथा पुर्याउनु आजको अहंम् चुनौती हो ।
विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्याउन के गर्न सकिएला ?
लता के.सी. : नेपाली लघुकथाले लेखनमा बाहुल्यता त पायो तर विश्व बजारमा पुर्याउन सकिएको छैन । यो संस्कार नै हामीमा विकसित भएको छैन । यो हाम्रै कमजोरी हो, दुर्भाग्य हो भन्ने बुझ्नु पर्छ । विश्वका विभिन्न भाषा र मूलतः अङ्ग्रेजी भाषामा किताबहरू अनुवाद गरेर, ई लाइब्रेरी वा प्रविधिका विभिन्न माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सक्नुपर्छ, माध्यमहरूको खोजी गरिनु आवश्यक छ ।
तपाईंद्वारा स्थापित 'हाम्रो लघुकथा केन्द्र नेपाल’को कार्य क्षेत्र के के होला?
लता के.सी. : हाम्रो संस्थाको कार्यक्षेत्रबारे विधानले तोके अनुसार काठमाण्डौँ जिल्लाभर रहनेछ साथै स्थानीय अधिकारीको स्वीकृति लिएर अन्य जिल्लामा क्रमिक बिस्तार गरिने छ ।
२०७६ साल चैत्र ३ गते लघुकथा पाठशाला भनेर खोलिएको यो फेसबुक पेज २०८० बैशाख १३ गते विधिवत् रुपमा दर्ता भएपछि हाम्रो लघुकथा केन्द्रको नाममा खडा भएको छ ।
"सिकौं र सिकाऔं" भन्ने नारा लिएर जन्मिएको यो मुनाफारहित जनहितकारी सामाजिक/साहित्यिक संस्थाको मुख्य लक्ष्य भनेको लघुकथाको उन्नयनमा लागि पर्नु हो । यसैका लागि हामीले लघुकथाको वाचन, विश्लेषण, लघुकथाकृति प्रकाशन र विमोचन, अन्तरक्रिया, संवाद र गोष्ठी, गानको माध्यमबाट पनि लघुकथाको प्रचार प्रसार गर्न सकिन्छ भन्ने ध्येयले विधागत गान 'हाम्रो लघुकथा गान’को निर्माण, स्रष्टालाई सम्मान समर्पण, मासिकरुपमा लघुकथासम्बन्धी समाचार प्रसारण र प्रकाशन, अन्य संस्थाहरूसँग सहकार्य गरेर स्रष्टाहरूलाई संगठित गर्दै उनीहरूको पारस्परिक सम्बन्ध स्थापना आदि कार्यहरू गर्दै आएका छौँ ।
आउने दिनहरुमा लघुकथाको प्रतियोगिता र पुरस्कार वितरण, स्रष्टा र संस्थालाई सम्मान, पत्रिमा प्रकाशन, लघुकथाको सिद्धान्त, समालोचना, प्रयोगमा विद्वानसँग सहकार्यसहितको काम गर्न सकिनेछ ।
पाठक शुभचिन्तकहरूलाई अब आउन लागेको नयाँ कोसेली कृति केही छन् ?
लता के.सी. : संस्थागत रुपमा कि व्यक्तिगत रुपमा ? यो प्रश्नमा म अलमलिएँ ।
संस्थागत रुपमा भनेको हो भने पाँचौँ वार्षिकोत्सवमा (चैत्र २/३) पक्कै नयाँ केही आउनेछ । व्यक्तिगतरुपमा सोधिएको हो भने ८२ सालमा चौथो लघुकथाकृति प्रकाशन गर्ने तयारीमा छु । हेरौँ, कत्तिको सफल हुनेछु ?
साहित्यको कुन विधा यहाँलाई प्रिय लाग्छ अथवा पाठकले आफूलाई को हुँ भनेर बुझिदिए हुने थियो जस्तो लागेको छ ?
लता के.सी. : साहित्यका विधाहरूमा उपन्यास, कथा र लघुकथा प्रिय लाग्छन् ।
विद्यार्थी अवस्थामा उपन्यास खुबै पढ्ने गर्थे । तर उपन्यास लेख्ने जाँगर भने कहिले आएन । मेरो लेखनयात्रा कथाबाट (२०३९ सालमा) भएको हो । यसलाई निरन्तरता दिन पनि सकिनँ । २०७४ सालदेखि जब लघुकथा पढन र बुझ्न थालेँ त्यसपछि अरु विधा बिर्सिएझैँ भएको छ । मेरा पाठकले मलाई लघुकथाप्रेमी/लघुकथाका साधक भनेर बुझिदिए पुग्छ ।
अन्तमा लघुकथा क्षेत्रमा नयाँ सर्जकहरूलाई के भन्नुहुन्छ ?
लता के.सी. : हालको समयमा लघुकथा लेखनमा नयाँ सर्जकहरूको ओइरो लागेको देखिन्छ । महिनामा ५/७ जना निरन्तर हाम्रै संस्थामा पनि प्रवेश गरिरहनु भएको छ । २०७७ सालदेखि २०८१ सालको मङ्सिरसम्म ६९० जना लघुकथाकारहरू हाम्रो संस्थामा आबद्ध रहनु भएको आँकडा मसँग छ । यो हामी लघुकथाप्रेमीहरूका लागि सुखद् पक्ष हो । उहाँहरूका लागि म भन्छु कि सङ्ख्यात्मक रुपमाभन्दा गुणात्मक लेखनमा जोड् दिनु होस् । लघुकथाको अवधारणा बुझेर मात्र लेख्नु होस् । बिना साधनाको फल प्राप्त हुँदैन, त्यसैले साधना गर्नु होस् ।
अन्त्यमा मेरा विचार पाठकसमक्ष पुर्याउन पहल गर्ने लघुकथा संसार अनलाइन मासिक पत्रिकालाई हार्दिक धन्यवाद !
-------------------------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment