Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

घरेलु हिंसा

- श्रीओम श्रेष्ठ 'रोदन' 


घोप्टो परेर रोइरहेकी थिएँ !

घरका सबै जनाले मलाई वरिपरि घेरेर बसेका थिए ! मानौं, म अपराधी हुँ र पारिवारिक अदालतको कठघरामा उभ्याइएकी छु !

– त्यही बेला एउटा पाको आवाज आयो– भन, भन सत्य भन ! तिमीले डराउनु पर्दैन !’

– अर्को नारी आवाज आयो– ’यल्ले के भन्छे अब, कुलङ्घारनीले ! कसैको नआएको बैंसजस्तो !’

– अर्को दुःखी आवाज आयो ’लौ न, अब के गरेर समाजमा मुख देखाउने होला र अलच्छिना ! बरू जन्मदै मरेकी भए हुन्थ्यो नि ! (रूँदै) मेरो गर्भ नै पापी रहेछ ।’

– अलि गम्भीर आवाज आयो– ’हेर ! नहुने भइसक्यो । तिमीजस्ती पढेकीले यस्तो गल्ती गर्नु हुन्थेन ! जे भए पनि अब साँचो कुरा भन्यौ भने उपाय पनि निकाल्न सकिन्छ !’

– अर्को चर्को आवाज आयो– ’अब खुरुक्क भन्दे, यो कसको पेट बोकेको तैंले ?

परिवारका सबैले सोधेको सोध्यै गरे पनि म भन्न सक्दिन थिएँ ! तर नबोलेर पनि के गर्नु ?

– म चिच्याएर भन्छु– ’म भन्न सक्दिनँ, मलाई बाध्य नपार्नुस् ! मैले भने पनि तपाईंहरू कसैले सुन्न सक्नु हुन्न र सुन्नु भयो भने पनि पत्याउनु हुन्न ! दोष मलाई नै दिनुहुन्छ ! म नारी भएर जन्मिएँ ! यो नै मेरो ठूलो अपराध भयो !’

– त्यही बेला आत्तिएको आवाजमा खबर आयो तेरै दिन जुठो लाग्ने काकाले आत्महत्या गर्नु भएछ । सबै जना आत्तिए र सबैका अनुहार कालो बन्दै गए तर मेरा आँखाहरू भने उज्यालिँदै गएका थिए ।


-----------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment