लेख्नु मेरो धर्म हो, मेरो कर्म पनि हो । अग्रजले हातमा कलम थमाई दिएपछि लेख्न थालेको म, आज उमेरले पचासको दशक काट्ने संघारमा पुग्दा पनि अनवरत लेख्दैछु । शिक्षक भएर छत्तीस वर्षसम्म विद्यार्थीलाई ज्ञान र सीप सिकाउन लेखेँ । पाठ्यपुस्तकहरू सरल, सहज र प्रभावकारी बनाउन लेखेँ ।
यी सबै उद्देश्य प्राप्तिकालागि लेखिएका कुरा भए । यी बाहेक उद्देश्य नराखीकनै म लेख्ने गर्छु । लेखेपछि त केही उद्देश्य बन्लान् – आज मेरो लेखाईको क्षेत्र साहित्य ! मैले २०३९ सालबाट साहित्य लेखनमा प्रवेश गरेको हुँ । मेरो पहिलो कविता शार्दूलविक्रीडीत छन्दको ‘कुकुर’ शीर्षकको हो । पछि साहित्यमा रस बस्दै गयो । निबन्ध, कथा, मुक्तक र गीत पनि लेख्न थालेँ । वि.सं. २०४७ सालमा मैले रचना गरेको गीतलाई समेटेर ‘बिना मौसमको वर्षात्’ भाग १ र वि.सं. २०४८ सालमा ‘बिना मौसमको वर्षात्’ भाग–२ क्यासेट निकालें । यसको परिणामले म निकै उत्साहित भएँ ।
त्यसपछि मैले रेडियो नेपालकालागि केही राष्ट्रिय गीत लेखेँ । पचासको दशकबाट लघुकथा लेख्न थालेँ । प्रायः मुड चलेको बेलामा वा प्लट फुरेको बेलामा लेख्दछु । सिर्जनाको सङ्ख्यामाभन्दा गुणात्मकतामा विश्वास राख्छु । मेरा रचनाले कतै न कतै दीनदुःखीको, अन्याय अत्याचारको, विकृति विसङ्गतिको विरूद्धमा औँला ठड्याउने गर्दछ । मैले लघुकथा लेख्दा लघुकथाको कुनै सिद्धान्त बनेको थिएन । आफ्नै हिसाबले लेख्दै गइयो ।
त्यसबेलाका युवामञ्च, कान्तिपुरको साप्ताहिक लगायत पत्रपत्रिकामा लघुकथा छापिएपछि त्यतै रमाउन थालेँ । त्यतिबेला लघुकथाले एउटा बेग्लै ट्रेण्ड समातेको थियो । करिव २०५८ सालपछि लघुकथा लेख्न छाडेँ, पछि आउनेले त्यो धारलाई समाते । लघुकथा लेखे, पुस्तक छापे तर मैले निरन्तरता दिन सकिंन । लघुकथालाई निरन्तरता दिननसक्नु कमजोरी भएको महशुस गरेको छु । चाँडै ‘सपनाको पहाड’ नामक लघुकथासङ्ग्रह लिएर आउँदैछु, जसले म किन लेख्छु भन्ने कुरा पाठकसामु अझ प्रष्ट्याउने छ ।
– काभ्रे, पनौती
-------------------------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment