Monday, April 28, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


 

सलाई निक्कै छटपटी भएको छ !
वृद्ध बा आत्तिए !  “बाबु ! ए बाबु !! के भयो ?’’

उस्ले लामोलामो सास फेरिरहेको थियो । दुईहात पाखुरा कसेर बलले उचाल्न खोज्दै थियो । उसले दाह्रा किटिरहेको थियो । केही भन्न खोज्दै थियो तर बोली थिएन ।

बाले मुख सुकेको देखेर चम्चाले मुखमा पानी राखिदिनु भयो । दाँत बेस्सरी बाँधिएको भएर मुखबाट पनि बगेर बाहिर आयो ।

ऊ नबोलेको दुईदिन भैसकेको थियो । बेलाबेलामा उस्ले खाली यस्तै हर्कत देखाउँथ्यो ।

बाले उस्लाई गाह्रो भएको देखेर अक्सिजन थोरै बढाउनु भयो । मुखमा लगाएको अक्सिजन मास्क सिधा बनाउनुभयो । पीडामा कुनै कमी देखिएन । ऊ केही बोल्न खोजिरहेको थियो । 

डाक्टरले उस्को छातीमा लागेको गोलीको भ्वाङ् पुरिन मुस्किल छ भनेका थिए । बाले आत्तिएर नर्स बोलाए ।

नर्सले दुखाई कम हुने सुई लगाई दिइन् तर न सविनको दुखाई कम भयो न त बा को !

यसपटक सविनले अक्सिजन मास्क थुतेर फाल्यो अनि बेस्सरी करायो, ऐया ! मरेँ !“ छोराको बोली फर्केको सुनेर बा खुसी भए । छोरालाई सुम्सुम्याउन पुगे । तर छोराको अनुहारमा चिटचट पसिना थियो । शरीर थरथर काँपेको थियो ।

नर्स आत्तिइन् ! बाले चारैतिर अन्धकार देखे !
बाले अकस्मात छोरालाई रुँदै सोधे, “बाबु ! तेरो अन्तिम इच्छा के छ ?’’

छोराले ओठ थर्थराउँदै लामो सास तान्दै बल्लतल्ल आवाज निकाले, “बा… म… यो देशमा उज्यालो भएको हेर्न चाहन्छु !’’

अन्तिम वाक्यसँगै छोराले जिउ तनक्क तन्कायो ! बा चिच्याए ! नर्स डाक्टर बोलाउन गइन् । बाले भावुक हुँदै छोराको शवलाई छोएर कसम खाए, “बाबु अब तेरो अन्तिम इच्छा, अब तेरो यो बुढो बाउको अन्तिम इच्छा हुनेछ !’’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment