Tuesday, April 29, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)



"हजुर, दया गर्नुस्, पुण्य मिल्नेछ ।” दोबाटोको छेउमा एउटा भिखारी भुईंमा रुमाल र रुमालमाथि कटौरा राखी भिख माग्दै थियो । 

साँच्चिकै दुःखी ठानी मनकारी बटुवाहरूले पाँच, दश रुपियाँ दिँदै गए ।

अर्कोदिन त्यही ठाउँमा अरु पाँच जना भिखारी थपिए । बटुवाहरूले त्यसरी नै पैसा दिँदै गए ।

अर्को दिन पन्ध्रजना भिखारी बसेका थिए ।

यसरी भिखारीको सङ्ख्या बढ्दै गएको थियो । दिनहुँ त्यही बाटो कारमा ओहोरदोहोर गर्ने हुनेखानेजस्ता देखिने एकजनाभद्र व्यक्तिले यो सबै दृश्य हेरिरहेका थिए ।

एक दिन उनले माइक्रोबस लिएर आए, सबै भिखारीहरूलाई सम्झाइबुझाई माइक्रोबसमा राखी लिएर गए ।

सधैं भिक्षा दिन बानी परेका दानीहरू एकजना पनि भिखारी नदेखेर छक्क परे । “आखिर यति धेरै भिखारी कहाँ गए होलान् !”

केही महिनापछि, बाटोमा हिँडिरहेका एकजना भद्र व्यक्तिका अगाडि मोटरसाइकल टक्क रोकियो । उसले तीभद्र व्यक्तिलाई हेल्मेट निकालेर स–सम्मान अभिवादन गर्‍यो, “हजुर नमस्कार !” 

“हैन बाबु, तिमी त यही मागी बस्ने भिखारी होइनौ र भन्या?”

“के गर्नु हजुर, पहिले दोबाटोमा बसी भिख माग्नु बाध्यता थियो तर आज एउटा कारखानामा काम पाएको छु, आफै कमाउन थालेको छु, जीवन सुखी छ ।”

“यहाँ त अरु पनि थिए । ती कहाँ गए त?”

“हामी सबै एउटै कारखानामा काम गर्दै छौँ । सबैको कमाई राम्रै छ । हस् त हजुर, म जान्छु है ।”

उसले मोटरसाइकल स्टार्ट गर्‍यो र आफ्‌नो बाटो लाग्यो । दानी पुरुष ऊ गएको बाटो हेरिरहे ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment