Tuesday, April 29, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


छोरी ठुली भैसकी बिहे गर्ने कुरै गर्दिन । कुनै केटालाई पनि “मेरो केटा साथी हो’’ भनेर ल्याउँदिन, बिहे नै नगरिकन बस्छे की भन्ने पो चिन्ता लाग्न लाग्यो । पन्ध्र वर्ष अगाडि डिभी परेर अमेरिका बसाईं सरेका सुवेदी परिवारका बुढाबुढी प्रायः आफ्नी एक्ली छोरीबारे यस्तै कुरा गर्छन्  । अमेरिकामा हुर्केकी छोरी पुरा अमेरिकन नै बनेकी छ । बेला मौकामा साथीहरूलाई मोमो पार्टी गरी घरमा पनि बोलाउँछे । तर कुनैलाई पनि “यो मेरो ब्याय फ्रेण्ड हो’’ भनेर चिनाउन्न । त्यस्मा बुबा आमा चिन्तित थिए । अमेरिकामा यस्तो विषयमा चिन्तित हुन सुहाउँदैन भन्ने पनि उनीहरूलाई थाहा छ । तर उनीहरूको नेपाली रगतले त्यो कुरा स्वीकार गर्दैन । 

अमेरिकी नियम अनुसार उ अठार वर्षको भएपछि घर छोडेर एपार्टमेन्टमा एक्लै बस्न गै । त्यस्मा पनि कानुनतः आमा बाबुले बोल्ने कुरा थिएन ।

उनीहरूको घरपरिवार राम्रो र रमाइलो नभएको पनि होइन । हजुरआमा नेपालमा एक्लै भएकोले कानुन अनुसार ल्याउन मिल्ने भएकोले उनी पनि सँगै थिइन् । बिहान बेलुकी नेपाली खाना पनि उनी पकाउँदिन थिइन्  । तर नातिनी भने पटक्कै मन पराउँदैन थिइन् ।

दुई वर्ष अगाडि उनको बुबाले अफिसका केही साथीहरूलाई मोमो पार्टी गरेर बोलाएका थिए । त्यो दिन उनी पनि घरमै थिइन् । मोमो बनाउन आमालाई हेल्प गर्दै थिइन् । बुबाको साथीहरू आए । मीठो मानेर, स्वाद लिएर मोमो खाए । त्यसमध्ये एउटा काले धेरै रमाइलो गफ गर्ने, गीत गाउने पनि थियो । छोरीलाई त्यो असाध्य राम्रो लाग्यो । अंकल भनेर नै कुरा गरिन् । त्यसपछि पनि बुबाले “छोरीले मोमो पार्टी रमाइलो मानी’’ भनेर बेला मौकामा मोमो पार्टी गरिरहे ।

एकदिन अनायास खुसी मुड्मा छोरीले बुबा, आमा, हजुरआमा टेलिभिजन हेरिरहेको ठाउँमा आएर “तपाईंहरू मेरो बिहेको चिन्ता नगर्नुस्  है । अब म बिहे गर्छु । मेरो ब्याय फ्रेण्ड छ । म एक दिन ल्याउँछु’’ भनी । 

छोरीको कुरा सुनेर बुबा आमा खुसी भए । त्यस्को केहीदिन पछि छोरीले केटा साथी बुबा आमालाई भेटाउन ल्याइन् । तर त्यो अरु कुनै थिएन उसकै बुबाको काले साथी थियो जो बारम्बार मोमो पार्टीमा आउँथ्यो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment