लघुकथाकार रासाको अवाक् नामक लघुकथासङ्ग्रह २०८१ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका अम्मल, अभिनन्दन, अवाक्, अस्तित्व, आतङ्क छाया लगायत विभिन्न शीर्षकका ४० वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ४० वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको अम्मल शीर्षकको पहिलो लघुकथामा आज । लकडाउनको बीसौँ दिन । घर बस्दा–बस्दा वाक्क–दिक्क भयो ऊ । कार्यालय जानु छैन । अन्यत्र पनि कहीँ जानु छैन । केही गर्नु छैन । खाली घरमा बस्यो । खायो । पियो । तास खेल्नका लागि पनि साथीभाइहरू छैनन् भनेको छ ।
आदत शीर्षकको लघुकथामा घरका सम्पूर्ण सदस्यहरू एक स्थानमा भेला भए । उनीहरू भर्खर मात्र नयाँ भव्य घरमा बसाईँ सरेका थिए । काम नलाग्ने भाँडाकुँडाहरू जम्मै बेचबिखन गर्ने निर्क्यौलमा पुगेका छन् उनीहरू । इतर सम्बन्ध शीर्षकको लघुकथामा घर पुरानो जीर्ण अवस्थामा थियो । त्यो दुईतल्ले थियो । त्यहाँ केबल एक बृद्ध मानिस बस्थे । माथिल्लो तलामा उनी सुत्थे र छिँडीमा सिकर्मीको काम गर्थे । त्यो घरको पछाडि खुल्ला चौर थियो र झाडी पनि थियो । त्यहीँ उनी शौच गर्थे भनेर रासाले लेखेका छन् ।
सानो एउटा कुनै घटना भयो कि लघुकथा लेखिहाल्ने । त्यो लघुकथा भयो कि भएन भन्ने कुनै चिन्ता छैन रासालाई । लघुकथा नामले नै छोटो कथा भन्ने बुझिन्छ । तथापि यसले सिर्जित गर्ने कौतुहलता, रोचकता र मनमस्तिष्कमा झिल्का उठाउने गरी पर्ने तीक्ष्ण प्रभावले यसको प्रभावकारिता एवम् ख्यातिलाई बढाएको छ । उनले लेखेका लघुकथामा यौनतृष्णाका, मित्रताका, ठालुपनका, समलिङ्गीका विषयहरू आएका छन् । मानवीय जीवनका अनेक विकृति, बिसङ्गति उनले लघुकथामा उजागर गरेका छन् ।
सङ्ग्रहभित्रका सबै लघुकथाहरू सवाल्टर्निक छैनन् । रासाका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीब्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरित मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरू हुन् । रासाको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् ।
लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्टस्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरू छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरू यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार रासाले मनन गरेका छन् ।
रासाका लघुकथाको भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ । उनका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारित छन् । यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रुपमा पनि आएका छन् ।
मनमा बिझेका, मनलाई छोएका, देखे–भोगेका र कल्पनामा दौडिएका कुराहरू नै कथाका रुपमा आउने रहेछन् । यस सङ्ग्रहभित्रका प्रायः जसो लघुकथाहरू मलाई मन परेका छन् । लघुकथा अवाक्मा उनले प्रश्न उठाएका छन् मानिसजस्तो मानिस हुनुपर्छ कि पर्दैन ? बाबु र छोराबीचको संवादमा यो प्रश्न बालसुलभ हृदयबाट उत्प्रेरित भएको छ । कृतध्न मानिसहरूप्रति उनले आक्रोस पोखेका छन् । रासाले जे लेखे पनि लघु आकारप्रकारमा लेख्छन् । उनका पत्रपत्रिकामा प्रकाशित फुटकर कथाहरूमा पनि यस्तो देख्न पाइएको छ । यस सङ्ग्रहमा सङ्गृहीत लघुकथाहरू त अझ स्वभावैले लघु हुने नै भए ।
कैद शीर्षकको लघुकथामा कवि बिरामी भए । आँखामा समस्या उत्पन्न । आधी उमेरमै मोतियाविन्दु जचाउँदा थाहा लागेको भनेर रासाले लेखेका छन् । दैहिक शीर्षकको लघुकथामा ऊ घरबाट निस्क्यो । सडकमा ओर्ल्यो । हिँडेर एउटा गल्लीभित्र पस्यो । एक घरको ढोकामा उभियो । पछि, भित्रियो भनेर लेखिएको छ । सम शीर्षकको लघुकथामा के भयो तिमीलाई ? कि मसँग रिसाएको ? मैले प्रश्न तेर्स्याए । फेरि मौनता । किन बोल्दैनौ ? भने सोधिएका छन् । समवेदना शीर्षकको लघुकथामा अचानक एक युवा नाटककारको असामयिक निधन भयो । देशका सम्पूर्णजसो पत्रपत्रिकाहरूले उनको अल्पायुमै भएको दुःखद् मृत्युको समाचार प्रकाशित गरेको छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment