नेपाल प्रज्ञा प्रतिष्ठानमा झिल्का साहित्य समाजद्वारा आयोजित एक कार्यकममा तीन वटा झिल्का कविता सङ्ग्रहको एकसाथ लोकार्पण सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार वसन्त अनुभवले संयुक्त रूपमा विमोचन गर्नुभएको थियोे ।
झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नवीनतम् काव्यिक विधा झिल्का कविताका ३ वटा पुस्तकहरू विमोचन भएका थिए। विमोचित पुस्तकहरूमा नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकहरूमा रहनुभएका ८३ जना नेपाली भाषी झिल्काकारहरूको संयुक्त झिल्का कवितासङ्ग्रह ‘आवाज’, झिल्काकार वसन्त अनुभवको एकल झिल्का कवितासङ्ग्रह ‘अनुभव’ र झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’ रहेका छन्।
विमोचित कृतिहरूमध्ये ‘अनुभव’को समीक्षा समीक्षक प्रमोद नेपालले, ‘आँगन’को समीक्षा समीक्षक अनुराग अरुणले र ‘आवाज’ संयुक्त झिल्का कवितासङ्ग्रहको समीक्षा समीक्षक अरुण बहादुर खत्री नदीले गर्नुभएको थियोे ।
कार्यक्रममा डा.धनप्रसाद सुवेदी, ललिता दोषी, घनश्याम पन्त, लता के.सी. त्रिचन्द्र श्रेष्ठ, कृतिकारका तर्फबाट सुरेशकुमार पाण्डेले मन्तव्य राख्नुभएको थियोे । उक्त अवसरमा झिल्काकार सुरेशकुमार पाण्डेलाई कृति निकाले वापत ‘झिल्का साहित्य समृद्धि सम्मान २०८३ बाट सम्मानित गरिएको थियो । त्यस्तै झिल्का कवितालाई पत्रिकामा प्रकाशित गरेर टेवा पुर्याए वापत झिल्का साहित्य सञ्चार समान २०८३ ‘द्वारा, अग्रिम साप्ताहिक र संसार न्युजलाई सम्मान गरिएको थियो ।
त्यस्तै आवाज झिल्का संयुक्त सङ्ग्रहमा समाविष्ट सबै सर्जकहरूलाई ‘झिल्काश्री साहित्य सम्मान २०८३ द्वारा सम्मानित गरिएको थियोे । साथै उक्त अवसर दुई दर्जन बढी अतिथिहरूलाई मायाको चिनो Token of Love प्रदान गरिएको थियो । पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा झिल्काकार रामप्रसाद पुरीले सबै अथितिलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा घनश्याम पन्त, लता के.सी. सञ्जय सोती, अर्जुन प्रसाद चौलागाईँ, ईश्वर लामिछाने, सरस्वती श्रेष्ठ, नेत्र बहादुर श्रेष्ठ, रामप्रसाद पुरी, जमुना आचार्य कोइराला लगायतका स्रष्टाहरूले झिल्का कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन/उद्घोषण झिल्काकार दीपा गुरुङ समभावले गर्नुभएको थियो ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।



No comments:
Post a Comment