Wednesday, April 30, 2025

पुस्तक समीक्षा (अङ्क २३ मा प्रकाशित)



राजु क्षेत्री 'अपुरो’ नेपाली लघुकथा साहित्यमा समर्पित एक प्रतिष्ठित स्रष्टा हुन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेर पनि नेपाली लघुकथाको विकास र प्रवर्द्धन उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

उनका लघुकथाहरूमा सामाजिक विसंगति, राजनीतिक विकृति, नारी उत्पीडन, पत्रकारिता, न्याय कानुन, शिक्षा क्षेत्रका समस्याहरू र व्यक्ति–पात्रहरूको विसंगत जीवन चरित्रको उद्घाटन जस्ता विषयवस्तुहरूलाई प्रस्तुत गरिएको पाइन्छ । उनको लेखनमा संवादको प्रयोग र व्यङ्ग्यात्मक चेतनाको प्रबलता विशेष रूपमा देखिन्छ । 

उनी लघुकथा विधामा नयाँ प्रयोग र नवीनताका पक्षधर हुन् । लघुकथाको विकासका लागि संस्थागत प्रयासहरूमा पनि सक्रिय छन् र लघुकथाको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको पाइन्छ ।

'लघुवार्ता’ राजु क्षेत्री 'अपुरो’ द्वारा अन्तरवार्ताकृत एक अनुपम कृति हो, जसले नेपाली लघुकथा साहित्यका २४ जना अग्रज एवं सक्रिय स्रष्टाहरूको विचार र दृष्टिकोणलाई स्थान दिएको छ । लघुकथा विधामा समर्पित साहित्यकारहरूका विचार भावना र भोगाइले यो कृति यथार्थपरक संवादहरूको उत्कृष्ट दस्तावेज बनेको छ ।

कृतिमा समेटिएका अन्तरवार्ताहरू लघुकथा विधाको विकास, प्रवृत्ति, शैली, शिल्प, र भावभूमिमा केन्द्रित छन् । कतिपय अन्तर्वार्तामा लघुकथा लेखनका चुनौती, प्रवृत्ति र भावनात्मक पक्षको गहिरो विवेचना पाउन सकिन्छ ।

स्रष्टाहरूले लघुकथाको महत्व, प्रभावकारिता र यसको समसामयिक आवश्यकता बारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् ।

कृतिमा समावेश स्रष्टाहरू नेपाली साहित्यमा स्थापित तथा अनुभवी लघुकथाकारहरू हुन् । फरक दृष्टिकोण र फरक लेखनशैली भएका स्रष्टाहरूको विचार एकै थलोमा प्रस्तुत गरेर कृतिले समग्र नेपाली लघुकथा साहित्यको विविध आयाम र यथार्थ चित्रण गरेको छ ।

राजु क्षेत्री 'अपुरो’को प्रश्नवाचन शैली स्पष्ट, सरल र उद्देश्यपरक छ । अन्तर्वार्तामा उठाइएका प्रश्नहरू तार्किक र सन्दर्भानुकूल छन्, जसले स्रष्टाहरूको अन्तरदृष्टिलाई उजागर गर्न मद्दत पुर्‍याएको छ ।

अन्तर्वार्ताका उत्तरमा स्रष्टाहरूले आफ्ना व्यक्तिगत अनुभव, प्रेरणा र सिर्जनात्मक यात्राका पाटाहरूलाई स्पष्ट रूपमा प्रष्ट्याएका छन् ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment