Wednesday, June 4, 2025

व्यक्तित्व (अङ्क २४ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'यथार्थवादको युग’ (सं. १९९१–२०१९) मा कथाकार पूर्णप्रसाद ब्राह्मण (सं. १९७९–२०४६) देखा परेका हुन् । उनको पहिलो कथाको शीर्षक हो 'दम्पती’ (सं. २००३) जुन उनको पहिलो कथासङ्ग्रह 'एक्काइस कथा’ (सं. २००३) मा सङ्ग्रहीत छ । पूर्वमीमांसा दर्शनमा प्रथम श्रेणीमा आचार्य उपाधि प्राप्त गरेका उनको व्यक्तित्वका विविध पाटाहरू छन्, जस्तो सं. २००४ मा 'जयतु संस्कृतम्‌’ आन्दोलनको नेतृत्व लिए, त्यसपछि राजनीतिक दल खोलेर नेपालको राजनीतिमा महङ्खवपूर्ण भूमिका खेले । उनी पञ्चायती शासनकालमा राज्यसभाका सदस्य पनि भए । समाजसेवाका साथै शिक्षासेवामा समेत उनी समर्पित भए । ॅनेपाल राष्ट्रिय विद्यापीठ’ का उपकुलपतिसमेत भएका उनको अभिरुचि धर्म, दर्शन, अध्यात्म र संस्कृतिका साथै पत्रकारितामा समेत थियो । नेपालको विद्वत् परम्परासँग उनको पनि नाम जोडिएर आउँदछ । नेपालको राष्ट्रिय जीवनसँग उनको घनिष्ठ सम्बन्ध रह्यो । उनका पुस्तकाकारमा प्रकाशित कथासङ्ग्रहहरू हुन् : 

१. एक्काइस कथा (सं. २००३),    
२. झिल्का (सं. २००७, लघुकथा सङ्ग्रह),
३. म लोग्ने हुँ (सं. २००८, लघुकथा सङ्ग्रह),
४. एकतीस कथा (सं. २०४२, लघुकथा सङ्ग्रह),
५. एघार कथा (सं. २०४३) ।

उनी कविता–काव्यका पनि सर्जक हुन् ।

पूर्णप्रसाद ब्राह्मण राजनीतिक चेतनाभिमुख कथाकार हुन् भन्ने कुरालाई उनका 'सराप’ 'खलल’, 'होक्का’, 'खेल’, 'हीही’, 'जाँच’, 'भिक्षा’, 'बैठक’, 'नाटक’, 'वर्तमान’, 'त्यो त स्वप्न हो’, 'नाटक कस्तो छ ?’, 'भौंजाहा कार’, 'पुनर्निर्णय’, 'कोइली गाइरहेकै छ नि !’, ;माथि माथि नै छ’, 'व्यामोह’ जस्ता कथाहरूले पुष्टि गर्दछन् । उनले एकातिर २००७ सालअघिको राणातन्त्रको अधिनायकवादी किंवा निरङ्कुशतन्त्री राजनीतिक स्वरूपको चित्रण गरेका छन् भने अर्कातिर उनले त्यस शासनकालमा नेपाली जनताले भोग्नुपरेका पीडा, जताततै बढ्दो चाकडी र चापलुसी तथा अन्याय र अत्याचार एवम् शोषणको चित्र उतारेका छन् । २००७ सालपछिको राजनीतिक अवस्थामा पनि जनताले प्रजातन्त्रको उपभोग गर्न नपाएको र सहिदहरूको सपना अधुरै रहेको यथार्थलाई पनि उनले आफ्ना कथाहरूमा अड्ढन गरेका छन् । यति मात्र नभएर समयको परिवर्तनसँगसँगै देशमा विद्यमान राजनीति जनमुखी हुन नसक्दा नेतृत्व वर्ग कमजोर भएको अथवा जनताका आँखामा नेताहरू नैतिकताहीन बनेको तथ्यलाई पनि प्रस्तुत गरेका छन् । यस सन्दर्भमा उनले निरङ्कुश राणा शासकहरूलाई वनका राजा सिंहको अन्योक्ति बनाएर त्यस भयातुर कालको चित्रण ’सराप’ कथामा यसरी गरेका छन् :

सिंहले गर्जेर भन्यो– 'म राजा हुँ, नढाँट ।’

'वनको यत्रो निष्कण्टक राज्य ! पञ्जामा त्यत्रो विश्वसामर्थ्य, तैपनि यो नीचातिनीच शड्का, उपशङ्का, त्यो पनि आफ्नै अशक्त निरपराध बालबच्चामाथि ? धिक्कार छ राजकुलको जन्मलाई’ 'यति मनमा विचार गरिसकेपछि सिंहिनीले अलि धोत्रो स्वरमा भनी ’किन ढाट्थें ।’

          +  + +

मेघ गर्जियो । सिंहले ओडारबाट कटु गर्जना छोड्यो, आकाशतिर फर्केर ! ह्वाङ्ग मुख वायो दाह्रा देखाएर चारै खुट्टा तन्कायो, साथै नङ्ग्रा पसार्दै । वनका गुफागुफाले प्रतिध्वनिले त्यो गर्जाइको स्वागत गरे । वनको शान्त वातावरण क्षुब्ध भयो । मृगका पाठाहरू तर्सेर माउको काखमा घुस्रिए । उनीहरूको भयतरत दृष्टिले वन छायो ।

सिंहको दम्भले मृगका पाठाहरू भयभीत भएको प्रसङ्गबाट कथाकार ब्राह्मणले राणाकालीन सन्त्रासको वातावरण देखाउन खोजेका हुन् । त्यस्तै ॅखलल’ कथामा पनि उनले सिंहको दम्भ र पाखण्डबाट जनतामाथि भएको अन्याय र अत्याचार देखाउन खोजेका छन् । उनले 'खेल’ कथामा राणा शासकहरूले सीधासादा जनताहरूलाई खेलौना बनाएर आफ्नो स्वार्थपूर्ति गरेका, 'हीही’ कथामा चाहिँ ती स्वेच्छाचारी शासकहरूले जनतालाई दमन गरी आफ्नो मात्र अस्तित्व कायम राख्न खोजेका, 'जांच’ कथामा शासक वर्गले चाकरी र चापलुसीलाई मात्र प्राथमिकता दिएका, 'बैठक’ कथामा ती क्रूर शासकहरूले जनताका पिर र समस्यालाई ढाकछोप गर्ने धृष्टता गरेका, 'पुनर्निर्णय’ कथामा शासक वर्गले जनतालाई कमजोर अवस्थामा पुर्‍याउने नीति लिएका ऐतिहासिक यथार्थलाई आख्यानीकरण गरेका छन् । यी उद्धृतांशहरू हेरौं :

बैठक उठ्यो । इसारा भयो आठ पहरियाहरूले तलका दीन हीन आर्त चित्कारीहरूको थाप्लोमा डण्डा बजारेर हटाए । अनि सौकतदार जन्मसिद्ध जर्नेल, कर्णेल आदि भाइभारदार, जन्मसिद्ध विद्वान् गुरु, पुरोहित, आदि, सेवा लब्धपदक सुब्बा, सरदार, आदि गन्य मान्यहरूको दायाँ बायाँ घेरामा राजदूत तल ओरालिएर त्यो पनि एक न एक प्रश्नमा भुलाएर । कारण दायाँबायाँका दलित शोषितहरूतिर कतै दृष्टि नपुगोस् ! आर्त चित्कार नसुनियोस् । नेपालको नग्न दृश्य नखुलोस् । पोटीमा मोटर तयार छ, राजदूत रासमा बस्न बेर न ड्राइभरले लाउन बेर ! ड्राइभर पनि उस्तै आशय–सेवक न थियो ।

चल्यो अनि मोटर नयाँ सडकतिर, जहाँ मुठीभर धनीका हवेलीले नेपालको युगयुगदेखिको दलन शोषणको पर्दा राख्थे । चल्यो अनि फेरि मोटर बालाजु महाराजगन्जतिर, जहाँ रानीवनको हरियाली र अरू प्राकृतिक सौन्दर्यहरूको दर्साइले नेपालको दीनहीन वस्तुस्थिति छोप्ने मौका दिन्थ्यो । (’बैठक’ बाट) ।

कथाकार पूर्णप्रसाद ब्राह्मणले ’शिक्षा’ र 'भौंजाहा कार’ कथाहरूमा राणा शासनको पतनको चर्चा गरेका छन् । जनतामा चेतनाको वृद्धि भएको कारणले विद्रोहको भावन देशभर उठेको यथार्थलाई पनि उनले आफ्ना 'सराप’, 'जाँच’ जस्ता कथाहरूमा प्रस्तुत गरेका छन् । २००७ सालको क्रान्तिपछि देशमा सुधारको जुन अपेक्षा गरिएको थियो, त्यो पटक्कै हुन नसकेकोमा उनले खेद प्रकट गरेका छन् भन्ने कुराको पुष्टि 'वर्तमान’, 'त्यो त स्वप्न हो’, 'कोइली गाइरेहेकै छ नि !’ कथाहरूले गर्दछन् । देशमा प्रजातन्त्र त आयो, तर राजनीतिक दलहरूमा कुनै दृढ राष्ट्रिय इच्छाशक्ति नहुँदा जनता भोका र नाङ्गा नै रहे, समग्र देशमा कुनै परिवर्तन आएन भन्ने कुराको बोध गराएर उनले आफूभित्रको राजनीतिक असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । 'वर्तमान’ कथाको यो अंश हेरौं :

होटलनेर पाटीमा २–४ जना गाउँले जम्मा थिए – 'छड्के कछाड, अर्धानु बाँकटे भोटो, टुपी छेड्ने घेरावाल टोपी’ डोकोबाट झिकेर बासी मकै कट्याङ–कट्याङ टोक्तै ती दुई सहरिया भाइहरूको कुरा सुनिरहेका थिए । एक्कासि लामो सास फेरेर आपसमा कुरा गर्न थाले – खै ! तीन दिन भो, मकैका ठेटना टोकेर थलो कुरेको नुन पाइएन । जहानलाई लाज ढाक्ने बाटो एउटा गुन्यू हेरौं भनेर गाको, छर्ने सकिएन, महँगो रछ । अछेता र पिण्डलाई पर सारेको गोडा दुईएक पाथी चामल लिएर आको, नुन नलगे अलिनो फाँडोले छोडेन । छुट्टिदा एउटा फलामे थाल भागां परेको थियो, खोले पिउन पनि केटाकेटीलाई भाँडो छैन, त्यो लान थाले नुन भएन त्यो त नलगी भएन, अरू जे भए पनि, भन्या है त्यही नपाइने भो, कहाँ भन्नुपर्ने हो, नयाँ बन्दोबस्त भो भन्छन् !

+ + +

एकैछिनपछि कारमाथि चढेर लाउडस्पिकरबाट मानिस बोल्दै आए – 'भोलि सानो टुँडिखेलमा चार बजे भाषण हुन्छ, सुन्न आउनुहोला ।

यसरी कथाकार पूर्णप्रसाद ब्राह्मणले समसामयिक राष्ट्रिय परिवेशभित्र देखिएका राजनीतिक जटिलता र विकृतिहरूलाई कथ्य बनाएका छन् । यस सन्दर्भमा उनले धनीवर्गले किसानहरूमाथि गर्ने शोषण ('बिहे’ कथा), सर्वत्र छाएको जातिवाद ('लिसो’ कथा), बढ्दो अधर्म ’शर्म’ कथा), अवसरवादीहरूको बढ्दो क्रियाकलाप ('थोक व्यापार’ कथा), धर्मका नाममा हुने गरेको विभाजन ('धर्मको खोज’ कथा) जस्ता समसामयिक विषयमा पनि कथाहरू लेखेका छन् । उनले राष्ट्रवादको प्रश्न उठाएका छन् ('व्यतिक्रम’ कथा) र विश्वभावनामा जोड दिएका छन् ('बिगुल’ कथा) । समग्रमा हेर्दा उनी व्यवहारमा जुन प्रकारको राजनीतिक प्रतिबद्धता राख्दथे, त्यसको प्रतिबिम्ब कथाहरूमा परेको पाइन्छ ।

पूर्णप्रसाद ब्राह्मण आध्यात्मिक चेतना भएका कथा–सष्टा हुन् । 'सेवा’, 'सभा’, 'सेवाको परीक्षण’, 'शक्ति–स्वामित्व’, 'आत्मविकासको खोजी’, 'मातृतङ्खव’, 'कहिल्यै सक्तैनन्‌’ र 'सङ्कल्प’ कथाहरूमा उनले जीवन र जगत्‌लाई विभिन्न कोणहरूबाट हेरी अन्तर्सत्यको निरूपण गर्ने काम गरेका छन् । यस सन्दर्भमा उनले कर्मको भित्री रहस्य, जीवनतङ्खवको सार, सत्यका रूपमा स्विकार्नैपर्ने मृत्युतङ्खव, आत्मविकासको ताङ्खिवक उपादेयता, मान्छेभित्रको आत्मिक शक्ति आदिमाथि प्रकाश पार्ने काम गरेका छन् । 'मातृतङ्खव’ कथाका यी पक्तिहरू हेरौं :

'प्रभो, विश्वमा सर्वाराधनीय, सर्वोत्कृष्ट, एवं सर्वप्रिय तङ्खव कुन हो ?” ब्रह्मसभामा देवर्षि नारदले झुकेर ब्रह्माजीसँग सोधे ।

ब्रह्माजीले मन्द हास्यमा नारदलाई भन्नुभयो– “गौरीशङ्कर हिमालको तपोवनमा तीन व्यक्ति घोर तप गरिरहेका छन् । तिनीहरू के प्राप्त गर्न चाहन्छन् । पहिले त्यो बुझेर आऊ, गइहाल !’’

+ + +

फर्केर नारद ब्रह्मलोक पुगे । ब्रह्माजीले स्मितपूर्ण मुद्रामा नारदलाई सोध्नुभयो– 'विश्वमा सर्वाराधनीय, सर्वोत्कृष्ट, एवं सर्वप्रिय तङ्खव कुन रहेछ, पत्ता लगायौ, नारद !“

नारदले झुकेर बिन्ती गरे “लगाएँ प्रभो ! त्यो तङ्खव शान्तिशक्ति सिद्धिरूप मातृतङ्खव नै रहेछ या देवी सर्वभूतेषु मातरुपेण संस्थिता ।’’

आध्यात्मिक चेतनालाई आख्यानको रूप दिन सक्ने कथाकार ब्राह्मणको चिन्तनको धरातल निकै उच्च रहेको पाइन्छ । यसैकारण उनी मान्छेभित्रको योग्यताको उच्च कदर गर्दछन् ('मूर्ति र छाया’ कथा) र ईश्वरको सिपको नमुनाका रूपमा प्रकृतिको सुन्दरताको प्रशंसा गर्दछन् ('ईश्वरको रूप’ कथा) ।

कथाकार पूर्णप्रसाद ब्राह्मणको सामाजिक सचेतना 'दागा’, 'तङ्खव’, 'छोरी’, 'गरिबकी छोरी’, 'म पनि आउँछु’, 'सुसारे’, 'म लोग्ने हुँ’, 'पुरानो कथा’ जस्ता कथाहरूमा स्पष्टसँग प्रकट भएका छन् । उनी मुख्यतया नारीमाथि हुने घरेलु हिंसाको विरोध गर्दै उनीहरूका वेदना र पीडाप्रति गहिरो सहानुभूति राख्दछन् । परिवारमा पुरुषतन्त्रको पराकाष्ठा हुनुले नारीहरू स्वतन्त्रताबाट सर्वधा वञ्चित भई अन्याय र अत्याचारको सिकार हुन वाध्य हुनुपरिरहेको कुरोलाई 'म लोग्ने हुँ’ कथामा यसरी भनिएको छ :

सुनोइन भन्दा त त्यो पनि सुनिहालेछ र हरिले उनीहरूतिर फर्किएर भन्यो– 'अरूले जेसुकै गरुन्, के खाँचो चाहियो । स्वास्नी भनेको त जुत्ता हुन् जुत्ता । बुझ्यौ ? जति फेरे पनि हुन्छ । यिनीहरूले आफ्नू पर्दामा बस्नु पर्दैन ?’

बारिएर, त्यो सुनेपछि हिमालीले रुन्चे स्वरमा भनी – 'भैगो तपाईं पर्दा राख्न सक्ने अरूलाई नै यो घरमा ल्याएर राख्नोस् न त सधैंको कति यो… । मलाई बिदा दिनुहोस् ।’

त्यो सुनेर जुत्ता उठाउँदै हरिले भन्यो– 'बिदा माग्ने भएकी राँड, लौ बोल् फेरि । मैले बिदा माग् भने न माग्लिस् ? बढ्ता हुन्छेस् ? मलाई मन लाग्यो भने घोर्क्याएर निकालिदिन पनि सक्छ, यहीं थाममा बाँधेर मार्न पनि सक्छु बुझिस् । लोग्ने है मेरो माथि हात छ !’

गरिबकी छोरीले पराईघरमा बुहारी बन्दा ठुलो मानसिक र शारीरिक यातना खप्नुपर्ने, छोरी जन्माएमा नारीले नारकीय यातना पाउनुपर्ने र कतैबाट पनि सहारा र भरोसा नपाउनाले नारीले अन्तमा आत्महत्या गर्न विवश हुनुपर्नेजस्ता नारीको नियतिको कथा यी कथाकारले हालेका छन् ।

कथाकार ब्राह्मणको दृष्टि परेको अर्को सामाजिक यथार्थ हो गरिबीको पीडा । 'तङ्खव’ र 'पुरानो कथा’ मा उनले समाजमा गरिबहरूले सहन बाध्य हुनुपर्ने विषम स्थितिहरूबारे उल्लेख गरेका छन् । सामाजिक पर्यवेक्षणका क्रममा उनले मानिसभित्रको पाशविक वा बर्बर प्रवृत्तिले समाजलाई प्रदूषित तुल्याएको ('अवाक् स्थिति’ कथा), पाखण्डी र आडम्बरी मानिसहरू देखा परेका ('त्यस्तो त कहिले भने’ कथा), नरसंहारले बढी महङ्खव पाएको 

('मसँग पो सोध्यौ’ कथा) र पापाचारको विजय भएको ('निर्वाचन’ कथा) कुरालाई विभिन्न कोणबाट प्रस्तुत गरेका छन् । यसरी समग्रमा समाजको स्थितिको पारदर्शी चित्र उतार्दै यी कथाकारले आफ्नो सामाजिक चेतनालाई आख्यानको रूप प्रदान गरेका छन् ।

कथा–शिल्पी पूर्णप्रसाद ब्राह्मण अन्योक्ति (Allegory) मा कथ्य सम्प्रेषण गर्न प्रवीण छन् । उनलाई व्यङ्ग्यमा भन्दा समसामयिक स्थितिको अन्तर्मन्थनमा रुचि रहेको देखिन्छ । मिथकको प्रयोगमा पनि उनको तीव्र अभिरुचि रहेको छ । तर यति भएर पनि आफ्नो निजी विचार र दृष्टिकोण लाद्ने प्रवृत्ति उनमा रहेको पाइन्छ । यसको अर्थ उनका लघुकथामा यदाकदा नाटकीकरण (Dramatization) को अभाव खट्कन्छ । उनको ॅझझल्को’ कथामा आख्यानतत्व नभएर विचारको बाहुल्य मात्र छ । यसमा भएको क्लिष्टता लघुकथाको पहिचान होइन । तर समग्रमा हेर्दा उनका लघुकथाहरूले शिल्पगत उत्कृष्टता जनाएकै कारणले उनी यस कथा–रूपका समय–बिम्ब बन्न सफल भएका छन् ।

निष्कर्षमा के भन्न सकिन्छ भने पूर्णप्रसाद ब्राह्मण समसामयिक राष्ट्रिय परिवेशबाट प्रभावित भएका सचेत कथाकार हुन् । उनले अध्यात्म जस्तो जटिल विषयलाई आख्यानीकरण गर्न सकेका छन् । उनलाई सामाजिक जीवनका आलोचक पनि भन्न सकिन्छ । उनको शिल्पगत सचेतना अत्यन्त बलियो छ ।

साभारः नेपाली लघुकथा र कथाकारहरू

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment