Wednesday, June 4, 2025

अन्तर्वार्ता (अङ्क २४ मा प्रकाशित)


नेपाली लघुकथा लेखनमा भारतीय नेपाली लघुकथाको पनि महत्वपूर्ण स्थान छ । यस स्थानमा नेपालीमूलका भारतीय लघुकथाकार देवीप्रसाद थापा 'मामा’ को नाम छुटाउनु हुँदैन । 

देवीप्रसाद थापाको जन्म सन् १९६६ दिसेम्वर १९ मा सदर हिल्सको साइकुल, मणिपुरमा भएको हो । उनीका कविता र लघुकथा गरी आठवटा कृतिहरू प्रकाशित छन् । जसमा आमा, बाबा, सासू, माइती, एक थोपा आँसु र भ्रूणहत्या गरी ६ वटा लघुकथा कृति प्रकाशित छन् । 

लघुकथामा नै केन्द्रीत रहेर आफ्‌नो साहित्यिक यात्रा अघि बढाइरहेका लघुकथाकार देवीप्रसाद थापा 'मामा’सँग दीपक लोहनीले लघुकथा संसार अनलाइन पत्रिकाका लागि गर्नु भएको लघुवार्ता यहाँ प्रस्तुत छ ।

-------------------------------------------------------------------------------------

देवीप्रसादज्यू, आफ्‌नो बाल्यकालको थोरै चर्चा गर्दै, तपाईं साहित्यमा कुन अभिरुचीका साथ प्रवेश गर्नु भयो ? 

देवीप्रसाद : मेरा पुर्खा शताब्दीअघि जन्मथलो छोडेर यतातिर प्रवेश गर्नुभएको हो । मेरो जन्म यतै भारतको मणिपुर राज्यमा भएको हो । परिवारभित्र नेपालीभाषा बोल्नु बाहेक मैले अन्य ठाउँमा नेपाली बोल्ने मौका गुमाएको हो । यो मेरो मात्र कथा होइन् सम्पूर्ण मणिपुरेली नेपालीभाषीहरूको कथा हो । मैले हिन्दी साहित्य र अङ्ग्रेजी साहित्य विद्यार्थी जीवनमा अलिअलि अध्ययन गरेको हो । नेपाली साहित्यको कुरा गर्नुपर्छ भने मैले नेपाली छापा अक्षर श्रीस्वस्थानी व्रतकथा, नेपाली महाभारत र रामायण पुस्तकहरूमा मात्र देखेको हुँ । नेपाली साहित्यको अभिरुचिकै कुरा गर्नुपर्दा ई. सन् १९९६–९७ तिर मणिपुर सरकारले यहाँका नौ र दस कक्षामा विद्यार्थीहरूले अनिवार्य रुपमा आफ्नो भाषा पढ्नै पर्नै सूचना जारी गर्‍यो । त्यतिबेला म एउटा प्राइभेट हाइस्कूलमा जागिर खान्थे । नेपालीभाषा पढाउने शिरोभार मेरो टाउकोमा पर्‍यो र त्यतिबेला सिक्किमको सिलेबस (Syllabus) पढाउनु पर्दथ्यो । तिनै पुस्तक पढाउँदै जाँदाको अभिरुचिले मलाई साहित्यमा प्रवेश गराएको हो ।


तपाईं लघुकथा सहित साहित्यका अन्य विधामा पनि कलम चलाउनु हुन्छ । हामीलाई बताईदिनु त, आफ्‌ना विचारहरू अभिव्यक्त गर्न तपाईंलाई कुन विधि बढी सहज र प्रिय लाग्छ ?

देवीप्रसाद : सुरु सुरुमा मैले कविता र लामा लामा कथामा कलम चलाएको हुँ । केही वर्ष लेख्दै सिरानीमा लुकाउने प्रक्रिया चल्यो । अन्ततः लुकाउने प्रक्रिया सार्वजनिक भयो तर मैले पहिलोपटक कविता र लामा कथा निकाल्ने आँट गरिनँ ।

यसरी केही वर्षपछि मेरो ध्यान छोटा कथामा पुग्यो र लघुकथालाई आफ्नो साहित्यिक पाटो बनाएर अघि बढिरहेको छु । 

आफ्ना विचारहरू अभिव्यक्त गर्नलाई कविता र लामा कथामा बढी सहज हुन्छ र पाठकहरूलाई बुझ्न पनि सरल हुन्छ । लघुकथामा भने त्यस्तो मौका गुम्छ तैपनि मलाई लघुकथा नै प्रिय लाग्छ ।

लघुकथाप्रति तपाईंको प्रेरणाको श्रोत के हो ?

देवीप्रसाद : मैले माथि नै भनी सकेको छु । म कविता र लामा कथामा ध्यान दिने मान्छे थिएँ तर सासाना साहित्य गोष्ठी कार्यक्रममा जाँदा श्रोताले लामा कथा र कवितामा ध्यान नदिएको देखेँ । एकदिन एउटा साहित्य गोष्ठीमा मेरा लेखक मित्र मुक्ति गौतमज्यूले एउटा लघुकथा 'बिडीको तल्‌तल्‌’ शीर्षक कथा सुनाउनुभयो । त्यो कथा छोटो अनि मीठो थियो । श्रोताले ध्यान दिएको देखेपछि मलाई पनि लघुकथा लेख्ने रहर जाग्यो । लेख्न थालेँ । लामा विधाबाट छोटा विधामा झर्नुपर्दा मलाई लघुकथा लेख्न धेरै गाह्रो भयो । प्रयास गर्दै गएँ अनि अन्ततः अलिअलि लेख्न सक्ने भएँ । मेरो यस विधामा प्रेरणा श्रोत भने पनि गुरु भने पनि मेरा मित्र मुक्ति गौतमज्यू नै हुनुहुन्छ ।


तपाईंको विचारमा भारतीय लघुकथा र नेपाली लघुकथामा समानता र भिन्नता के के रहेछन् ?

देवीप्रसाद : नेपाली मूलधारको लघुकथा लेखन र भारतीय नेपाली लघुकथा लेखनमा त्यस्तो भिन्नता केही देखिन्न । साहित्य जहाँको भएपनि उस्तै हुन्छ । अँ, बसोबास अनि त्यहाँको परिस्थिति अनुसार विषयवस्तुहरूमा भिन्नता हुन्छ । कताकता भाषामा केही अन्तर हुने पनि अवश्य हुन्छ । नेपाली मूलधारको लघुकथा लेखनले सगरमाथा चुमेको छ भने भारतीय नेपाली  लघुकथा लेखन त्यो स्थान ओगट्न अलि सकेको छैन होला ।


साहित्य लेखनबाट के कति पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ ? यस्ता पुरस्कारहरूले लेखकको वैयक्तिक जीवनमा कतिको प्रभाव पार्दोरहेछ ?

देवीप्रसाद : राष्ट्रिय/अन्तर्राष्ट्रिय पुरस्कारहरू त मैले पाएको छैन तर पनि सासाना प्रमाणपत्रहरू भने अवश्य पाएको छु । यिनै सासाना सम्मानले अघि बढ्ने हिम्मत दिन्छ । नवनासो साहित्य प्रतिष्ठान शिवसताक्षी – झापा र सतासी साप्ताहिक पत्रिकाले तीनवर्ष अघि ठूलै कार्यक्रम गरेर मलाई सम्मान गरेको थियो । यो उप्रान्त मैले अहिलेसम्म कुनै संस्थाबाट सन्मान पाएको छैन । नेपालदेखि बाहिर बसेर लेख्ने लेखकलाई यस्तो अवसर प्राप्त गर्न गाह्रो नै पर्छ । नेपालले देख्दै नदेखेको र कल्पनासम्म नगरेका लेखकहरूले यस्तो सपना देख्नु भनेको आकाशको फल आँखा तरि मर भनेकै बराबर हो । साँच्चिकै भन्नुपर्दा आजको यो सोसियल मेडिया/सञ्जाल नभएको भए मजस्तो टुहुरे लेखक कागजभित्रै निसासिएर मर्नु पर्‍थ्यो तर सञ्जालकै कारण केही परिचय पाएको छु ।


लघुकथा लेखनमा सिद्धान्तको प्रभाव कति जायज कति नाजायज देख्नुहुन्छ ?

देवीप्रसाद : लघुकथा लेखनमा सिद्धान्तको प्रभाव कति जायज कति नाजायज भन्ने प्रश्नको उत्तर मजस्तो सिकौरे लेखकले दिन सक्ने क्षमतादेखि बाहिरको विषय हो । सिद्धान्तमा सबैले जायज कुरा नै लेखेको पाइन्छ । तर  पनि सिद्धान्तमा समयअनुसार परिवर्तन हुनुपर्छ नत्र हामी त्यही पुरानै ढाँचामा बग्न सक्छौ । लघुकथा दुई शब्द मिलेर बनेको विधा हो, त्यसैले विभिन्न विद्वान्‌हरूका आआफ्नै अवधारणाहरू छन् । हामीले उनीहरूलाई पढेर निर्णय गर्न सकिन्छ ।  


लघुकथा लेखनमा अबको बाटो कस्तो हुनुपर्छ ?

देवीप्रसाद : लघुकथा लेख्न त्यति सजिलो छैन । लघुकथा सरल विधा पनि पटक्कै होइन । अथाह कुहिरोले ढाकिएको अज्ञात आकाश हो लघुकथा । शब्द शब्दमा तराजु लाउनु पर्छ अनि वार्तालाई छोट्याउनु पर्छ । यहाँ ठूलो भ्रम छ । अबको बाटो भनेकै समय र युगलाई हेरेर लघुकथा लेख्नु हो । आजका मान्छेको व्यस्तता र शर्टकटलाई मध्यनजर राखेर लघुकथा लेख्नुपर्छ ।

.............................................................................
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment