"बा , म गुरु दीक्षा लिन चाहन्छु !’’ विज्ञान पढेको छोराको अनौठो प्रश्न सुनेर बाबुले उसको मुखमा केहीबेर हेरे । र भने, "दीक्षित हुन असल गुरु चाहिन्छ बाबु ! तिमी विज्ञान पढेको विद्यार्थी, आफ्नो गुरु आफैँ हुने प्रयत्न गर ।’’
– "विज्ञानले गुरु निषेध गरेको छ र बा ?’’
– "विज्ञानको गुरुत्वाकर्षण र अध्यात्मको आकर्षणमा फरक छ बाबु । गुरुत्वाकर्षणले मान्छे अडाउँछ । ईश्वरज्ञानले मान्छे विभाजित गरेको छ । आज ।’’
– "ईश्वरीय ज्ञानले जीवनबोझबाट मुक्ति दिन्छ । म मानवजीवनको सरल मुक्तिमार्ग अपनाउन चाहन्छु । जुन विज्ञानमा सम्भव छैन बा ।’’
– "विज्ञानले जीवन बोध गराउँछ, बाँच्न सिकाउँछ । पूर्ण जीवन बाँच्नु नै मुक्ति प्राप्त गर्नु हो । जीवनदेखि भाग्नु मुक्ति होइन, मर्नु हो । मरेपछि शरीरसँगै जीवन पनि मर्छ ।’’
– "ईश्वरीय ज्ञानले जीवन मरेपनि मान्छे जीवित रहन्छ, होइन र ?’’
छोराको नैराश्यतामा अवश्य केही थियो । तातो दूध पिए जिब्रो पोल्थ्यो । चिसो गरे स्वाद हराउँथ्यो । बा दोधारमा परे । चुप लाग्नु श्रेयस्कर थिएन । उनले मध्यबिन्दु झिके ।
"विज्ञान पढेको विद्यार्थी तीक्ष्ण हुन्छ । उसँग नौलो/नवीन सृजना गर्ने आक्रामक शक्ति हुन्छ । ईश्वर भक्तिले त्यो शक्ति सुस्त हुन्छ । त्यहाँ सबै वस्तु पूर्व सृजित हुन्छ । तिमीले सृजना गर्नुपर्ने केही हुन्न । अरूले दिएको लिने प्रवृतिले शरीर अङ्ग सेलाउँछ । मन्त्रीय ज्ञान क्षणभङ्गुर हो, भङ्ग हुन्छ । अध्यात्ममा भग्नावशेषको कुनै प्रयोजन रहन्न ।’’
– "के विज्ञानले मृत मन प्रयोगमा ल्याउँछ त ? मसँग एउटा मरेको मन छ ! केही गर्न नसक्ने ज्ञान/विज्ञान छ !’’
- धनगढी, कैलाली


No comments:
Post a Comment