Friday, October 24, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


अनुपमा माइतमा आइपुग्नेबित्तिकै भाउजुले भनिन्‌– “लौ हेर फेरि आइपुगिछे भिखारी । दाइसँग सधैँ आर्थिक सरसहयोग मागिरहन यसलाई कुनै लाज शरम पनि लाग्दैन । जतिबेला जहिले चाह्यो, सरासर ढुक्कै यहीँ आइपुग्छे ।” 

फेरि पनि अनुपमा नरिसाई शान्तपूर्वक बोलिन्‌– “बाध्यता विवशता छ नि, के गर्ने भाउजु ? आफूलाई मेरो ठाउँमा राखेर हेर्नुहोस् न, जसको श्रीमान् लाउँ–लाउँ खाउँ–खाउँको उमेर जवानीमै बितेका छन् । अनाथ बालबच्चाहरूलाई एक विधवाले एक्लै कसरी के कसो गरी पालन–पोषण गरिरहेकी होली ? भएभरको सम्पूर्ण जायजेथा उहाँको औषधोपचारमै सकियो । बाँकी अब यही सानो घरबाहेक अरु केही पनि त छैन ।”

अनुपमाको दाजु आफ्नो कोठाबाट बाहिरिँदै बोल्यो– “तिमी आफूले पनि अब केही न केही गर्नुपर्छ अनुपमा । म कहिलेसम्म तिमीलाई अनुदान दिइरहन सक्छु । तिमी काम गछ्र्यौ भने कतै न कतै कहीँ न कहीँ केही न केही नोकरीको व्यवस्था गरिदिन सक्छु । कुनै कार्यालयमा कार्यालय सहयोगीको काम भए पनि गर । १५–२० हजार तलब त दिइहाल्छ ।”

अनुपमाले भनिन्‌– “मेरा श्रीमान् जीवितै भएका भए यसरी मलाई दुनियाँका अगाडि जागिरका लागि कराउने थिएनन् । मैले सामान्य जागिर खाँदा तपाईँको इज्जत मान–सम्मान–प्रतिष्ठामा धक्का लाग्दैन र दाइ, छिमेकी र आफन्तहरूले के भन्छन् ? यत्रा ठूला तीन वटा कम्पनीको मालिक अनि महिनामा लाखौं कमाई भएको अरबपति दाइकी बहिनी १५–२० हजारको जागिर खाइरहेकी छ….भन्दैनन् र….?”

यो कुरा सुन्नेबित्तिकै भाउजुले रिसाउँदै भन्न थालिन्‌–“दाइको सम्पत्तिमाथि कुदृष्टि लगाउँदै छे अलच्छिनी, तँलाई कुनै लाज लाग्दैन क्या हो ? जा निक्लिजा तँ अहिल्यै मेरो घरबाट…!” यसरी विचरीलाई भाउजुले आफ्नो जन्म घरबाट निकाली दिइन् । दाजुचाहिँ चुपचाप उभिँदै यो सबै घटना हेरिरह्यो । निरीह अनुपमा मौनता साँधेर अपमानित भई फर्की आइन् । तर आज उनलाई आफ्नो एकमात्रै दाजुसँग पनि ठूलै घृणा उत्पन्न भइरहेको थियो । कम्पनी अनि सम्पूर्ण सम्पत्ति उनीहरूका बाआमाले कमाएर छाडिगएका थिए । त्यो सम्पत्तिबाट दाजुभाउजुले उनलाई बालबच्चा पालन पोषणका लागि केही पनि दिन चाहिरहेका थिएनन् । भोलिपल्टै अनुपमाले आधा अंशका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिन् । छ महिना लडेर उनले मुद्दा जितिन् । यसरी अन्ततः अब उनको भागमा एक फ्याक्ट्री अनि दुई वटा घर पर्‍यो । तर उनले आफन्तलाई चाहिँ पूरै गुमाएकी थिइन् । दाजुभाउजु उनका अजात शत्रु बनेका थिए । परिणामतः धन चाहँदा जन गुम्यो । लौ अब सबैले भन्नुहोस् अनुपमाले यो ठीक गरिन् कि बेठीक ?

- हालः दधिकोट, सूर्यविनायक नगरपालिका–४, भक्तपुर


..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment