पहाडको काखमा बसेको एउटा सानो गाउँ । साँझको सुनौलो उज्यालोले बिस्तारै अँध्यारोको आँचल ओढ्दै थियो । गाउँका बाटाहरूमा धुलो र सुगन्ध मिसिएको हावा बगिरहेको थियो । त्यसै बेला, तीन जना भिक्षुहरू — चोला ओढेका, अनुहारमा शान्ति तर दृष्टिमा अर्थपूर्ण गहिराइ — भीक्षा माग्दै बिस्तारै गाउँ झर्दै थिए
तीनैजना एक घरको ढोकामा पुग्छन् । घर बाहिर धुपको बास्ना मिसिएको हावा, आँगनमा ढिकीको आवाज, अनि परपर बगिरहेको नालाको सरसर ध्वनि — जीवनका सामान्य स्वरहरू ।
भिक्षुहरूमध्ये एकले गहिरो आवाजमा बोलायो —
“हे घरकी गृहिणी ! आशीर्वादका लागि हामी आएका छौँ ।”
भित्रबाट गहुँगोरो अनुहारकी एक महिला हतारिँदै निस्किन् । उनको ओंठमा आदरको मुस्कान, तर आँखामा अलिक आश्चर्य थियो ।
“किन बोलाउनुभयो, गुरुजन ?” उनले नम्र स्वरमा सोधिन् ।
सबैभन्दा वृद्ध भिक्षु अघि बढे —
“हामी तीन जना यात्रु हौँ — धन, सुख र प्रेम । हाम्रो बाटो भीक्षाबाट खुल्छ । यदि सम्भव छ भने, केही अन्न, केही स्नेह प्रदान गर्नुहोस् ।”
महिलाले मुस्कुराउँदै भनी —
“गुरुजन, मेरो श्रीमान् आउँदै हुनुहुन्छ । उहाँसँग सल्लाह गरेर भीक्षा दिन्छु ।”
भिक्षुहरूले टाउको हल्लाए, आँखा बन्द गरेर धैर्यका मुद्रा ओढे ।
केही क्षणपछि घरको ढोकामा एक गृहस्थ देखा परे — खेतको माटोले रङ्गिएको पाउ, काँधमा लट्ठी, अनुहारमा थकाइ र मुस्कान दुवै । श्रीमतीले ती भिक्षुहरूको कुरा सुनाइन् ।
गृहस्थले भन्यो —
“हाम्रो घरमा यदि कोही एक मात्र पस्न सक्छ भने, म चाहन्छु — ‘सुख’ पसोस् । सुख भए जीवन सजिलो हुन्छ ।”
श्रीमतीले असन्तोषका साथ भनिन् —
“सुखभन्दा धन चाहिन्छ । धन भएपछि सुख त आफैँ आउने कुरा हो ।”
त्यसपछि सुरु भयो सामान्य दम्पती बीचको बिन्ती र बहस —
हावामा निर्णयको वजन बढ्दै गयो । अन्ततः दुवै जनाले मिलेर भने —
“हामीले 'धन’लाई घरभित्र बोलाउँछौँ ।”
तीनै भिक्षुहरू केही क्षण मौन रहे । वृद्ध भिक्षुको अनुहारमा एक गम्भीर छायाँ खेल्यो । उनीहरू उठे र ढल्कँदो घाम तिर हिँड्न थाले ।
महिला छक परिन् । उनले लत्रिँदो साडी समात्दै दौडिन् र सोधिन् —
“गुरुजन, रिसाउनुभयो ? के हामीले केही गल्ती गर्यौं ?”
वृद्ध भिक्षुले आँखामा करुणा बोकेर भने —
“मूर्ख नारी, तिमीहरूले धन र सुख माग्यौ — तर तिनको घरमा हामी कोही पस्दैनौँ । धन र सुख त छायाँ हुन्, जुन सूर्य अस्ताउँदा हराउँछन् ।
यदि तिमीहरूले ‘प्रेम’ बोलाएको भए, हामी तिनै — धन, सुख र प्रेम — तिमीहरूको घरमा एउटै साथ पसेर बस्ने थियौँ । किनभने जहाँ प्रेम हुन्छ, त्यहाँ सुख र धन पनि आफूले ठाउँ खोज्छन् ।”
त्यो भन्दै तीनै भिक्षुहरू हराए अस्ताउँदो सूर्यको छायाँमा ।
- बौद्ध कुमारीगाल, काठमाडौंँ


No comments:
Post a Comment