‘‘त्यो सफलताको सिँढी तिम्रो पसिनाले होइन, मेरै रगतको जगमा ठडिएको हो !’’ मध्यरातको सन्नाटालाई चिर्दै एउटा कठोर र द्वन्द्वात्मक स्वर गुञ्जियो । सहर सुनसान थियो, तर एउटा भव्य सालिकको फेदमा अदृश्य छाया र सालिकबीच वाकयुद्ध चलिरहेको थियो ।
सहरले जसलाई ‘नायक’ मानेर पूजा गर्थ्यो, त्यो सालिक त केवल एउटा जड पत्थर थियो । त्यसलाई जीवन्त बनाउने, बाटो देखाउने र पर्दापछाडि बसेर रणनीतिको जालो बुन्ने त त्यो ‘अदृश्य छाया’ पो थियो ! जसरी चन्द्रगुप्तको पछाडि चाणक्य थिए, त्यसरी नै यो सहरको परिवर्तनको सूत्रधार त्यही निःस्वार्थी छाया थियो । उसले कहिल्यै पद खोजेन, न त सरकारी गाडीको विलासिता नै रोज्यो । उसले त केवल आफ्नो साथीलाई शिखरमा पुर्याउन खोज्यो ।
हेर्दाहेर्दै विजय उत्सवको उज्यालो झलमल्ल भयो । हजारौँका ताली र मालाले सालिक पुरियो । सबैले सालिकको जयजयकार गरे । तर, जब सूर्य टाउकोमाथि आयो, सालिक झन् चम्कियो । विडम्बना ! त्यही उज्यालोमा आफ्नो अस्तित्व अर्पेको त्यो छाया भने बिस्तारै खुम्चिँदै आफ्नै खुट्टाभित्र बिलायो ।
अन्ततः, उज्यालो जति प्रखर भयो, सधैँ साथ दिने छाया उति नै छिटो हरायो ।
- सिद्धार्थटोल, उदयपुर


No comments:
Post a Comment