शहरको एउटा होटल परिसरमा भव्य सम्मान कार्यक्रम चल्यो । सो कार्यक्रममा स्थानीय नेता, समाजसेवी, बौद्धिकवर्ग, विद्धान्जन्, महिला, बालबालिका, संस्कृति, शिक्षा, पर्यटन, स्वास्थ्य, साहित्य, कला आदि क्षेत्रका वरिष्ठदेखि कनिष्ठ व्यक्तिहरूको बाक्लै सहभागी थियो । म पनि सो कार्यक्रममा सहभागी हुन पुगेको थिएँ ।
पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रम शुभारम्भ गरेको थियो । कार्यक्रम वरिष्ठ साहित्यकारबाट सञ्चालन गरियो । स्वागत भाषण संस्कृति अध्येयता एक विद्धानबाट भयो । वक्ता पङ्क्तिमा एक नेताजीको पहिलो पालो आयो । वहाँले आफ्नो कार्यको आफै मूल्याङ्कन गर्दै नाकलाई घिरौलाझैँ फुलाएर भाषण गर्नुभयो– “हेर्नुस् यस भेकको कला, संस्कृति सम्पदाको सबै काम पुरा भइसक्यो । अब बाँकी केही रहेन ।
विश्वको उच्च निकायबाट ठूल–ठूला पुरस्कार र प्रमाणपत्र पनि हामीलाई दिइसक्यो यो सबै मेरै पालामा भयो । परर….परर ताली बज्यो । अन्तिम वक्ताको रुपमा सम्मानित व्यक्तिको पालो आयो । जो संस्कृति सम्पदा अध्ययन र अनुसन्धानमा लामो समयदेखि कार्यरत थिए । उनले आफ्नो मन्तव्य राखे– “सज्जनवृन्द सम्पदा संस्कृतिको काम यस भेकमा अझ धेरै गर्न बाँकी नै छ । हामीले दिनरात खटेर गर्दा पनि चौठाई भाग पनि गर्न सकेको छैन । अब आफूमा भएको ज्ञान र सीप नवपुस्तालाई सिकाउँदै अघि बढाउँदै लानु छ । यो सम्मानले मेरो काँधमा थप जिम्मेवारीको भारी थपेको छ ।” सबैले तरर….ताली बजायो । अचानक ताली बज्दा बज्दै मेरो हात टक्क रोकियो । म भित्र अन्तरद्वन्द्व चल्यो । नेता भन्छ– ‘‘काम गर्न बाँकी नै छैन्’’ संस्कृति अध्येयता भन्छन्– ‘‘धेरै काम गर्न बाँकी छ ।’’ जे होस् नेता र संस्कृति अध्येयताको अभिव्यक्ति फरक थियो । आकास र पातालको अन्तर थियो । फरक अभिव्यक्ति सुनेर म अवाक् भएँ ।
- बुङ्गमति–२२, ललितपुर


No comments:
Post a Comment