पाश कोलोनीमा मानिसहरू प्रायः अहङ्कारवश आत्मकेन्द्रित भएर आफ्नो घरमा बसेका हुन्छन् । कोरोनाका कारण त्यसै पनि यहाँ सुनसान थियो । यसैमा पनि पैंतालिस डिग्रीको तापक्रम छुट्टै । एउटा मजदुरलाई धेरै तिर्खा लागेको थियो । उसले तीन–चारओटा घरको बाहिर गएर कसैले पानी पिउन देला कि भन्ने आशामा बोलायो तर कसैले जवाफसम्म पनि दिएनन् । अन्त्यमा उसले एउटा घरको बाहिर कलबेल राखेको देख्यो । उसले हिम्मत गरेर बेल बजायो । एक पटक…, दुई पटक…, तेस्रो पटकमा घण्टी बजाएपछि एउटा साहेब प्रकृतिको आकृतिले ढोका खोलेर बाहिर उभिएको मजदुरलाई क्रोधपूर्वक हेर्यो ।
“साहेब ! अलिकति पानी पिउन दिनुस् न ! बेस्सरी तिर्खा लागेको छ ।’’ मजदुरले हात जोडेर गिडगिडायो ।
“चल, भाग् यहाँबाट ! सबै निन्द्रा बिथोलिस् । यहाँ अहिले कोही मान्छे छैनन् । अगाडि जा !’’ साहेब बडबडाए ।
“साहेब ! घाँटी धेरै सुखिरहेको छ । अलिकति पानी दिनुस् न !’’ उसले फेरि दयाको भिख माग्यो ।
“भनिसकें नि, यहाँ कोही छैन भनेर । यहाँबाट जान्छस् कि जाँदैनस् ।” यस पटक साहेबले उसलाई धम्क्याए ।
“साहेब ! ठुलो गुन लाग्ने थियो । बिहानैदेखि तिर्खाएको छु । केही समयका लागि हजुर नै मानिस…..।’’ यसभन्दा अगाडि शब्द नै निस्केन ।
-जोधपुर, राजस्थान, भारत
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment