लेखन मेरा आफ्ना विचार, भावना र गहिरो अनुभूतिहरू अभिव्यक्त गर्ने सबैभन्दा सशक्त माध्यम हो । मानव मनमा पलपलमा अनेकौँ विचार र तरङ्गहरू जन्मिरहेका हुन्छन् तर ती सबै कुरालाई मुखबाट मात्र व्यक्त गर्न सम्भव हुँदैन । तसर्थ तिनै आन्तरिक भावना, जीवनका भोगाइ र वैचारिक चिन्तनलाई जीवन्त र सुरक्षित रूपमा अभिलेख गर्ने एक मात्र अचुक माध्यम लेखन नै हो ।
मेरो लेखनले मलाई आफ्नो अस्तित्व, माटो र पहिचानसँग निरन्तर जोडिराख्छ । जीवनको गतिशील यात्रामा देखिएका, भोगिएका र अनुभूत गरिएका सुख–दुःख, आशा–निराशा तथा समाजका विविध पक्षहरूलाई अक्षरमा उतारेर पाठकमाझ पुर्याउन पाउँदा मलाई असीम आत्मसन्तुष्टि मिल्छ । लेखनले मेरो मनलाई हलुङ्गो बनाउनुको साथै पाठकहरूलाई समेत नयाँ ढङ्गले सोच्न, बुझ्न र आत्ममूल्याङ्कन गर्न प्रेरित गर्छ भन्ने दृढ विश्वास ममा छ ।
साहित्य र समाज एकापसका परिपूरक हुन् । समाजमा व्याप्त विकृति, विसङ्गति, अन्याय र असमानताप्रति आम नागरिकलाई सचेत गराउनु एक सजग लेखकको मुख्य दायित्व हो । शब्दको शक्तिमार्फत समाजमा सकारात्मक चेतनाको सञ्चार गर्न र मानवीय मूल्यहरूको संरक्षणमा योगदान दिन सकिन्छ । यही गहन उद्देश्य प्राप्तिका लागि मेरो कलम अविचलित रूपमा चलिरहन्छ ।
विशेषगरी दुई हरफमा पूर्ण हुने टुक्का कविता, गद्य कविता, छन्द कविता, लघुकथा, हाइकु, मुक्तक, उदक, झिल्का कविता लगायत विभिन्न साहित्यिक विधामार्फत म आफ्नो सिर्जनात्मक ऊर्जाको प्रयोग गर्छु । सिर्जनाले मलाई आत्मिक आनन्द दिन्छ, नयाँ चिन्तन जन्माउँछ र जीवनलाई बढी अर्थपूर्ण र उद्देश्यमूलक बनाउँछ । लेखन मेरा लागि आत्मअन्वेषण र समाजप्रतिको उत्तरदायित्व पनि हो ।
यसर्थ, आफ्नो मनको आवाज बोल्न, समाजसँग निरन्तर संवाद गर्न, सकारात्मक चेतना फैलाउन र समयको प्रवाहसँगै आफ्ना अनुभूतिहरूलाई अक्षराङ्कन गरी सुरक्षित राख्न म लेख्छु । शब्दहरू नै मेरा सच्चा साथी हुन् र लेखन मेरो जीवनयात्राको एक अभिन्न हिस्सा बनेको छ ।
– धुनिबेसी नगरपालिका ९, धादिङ, हाल : युएई


No comments:
Post a Comment