Friday, June 12, 2026

व्यक्तित्व (अङ्क ३५ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार किशोर पहाडी (सं. २०१३) देखा परेका हुन् । उनको पहिलो कथा हो 'म के जवाफ दिऊँ’ (सं. २०२८) जुन 'नयाँ सन्देश’ मा छापिएको थियो । सिभिल इन्जिनियरिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनको अभिरुचि साहित्यिक पत्रकारिता, सम्पादन कला, अभिनय, निर्देशन, अनुवाद कार्य र फोटोग्राफीमा रहेको पाइन्छ । उनी साहित्यिक तथा सांस्कृतिक संघ–संस्थाहरूसँग आबद्ध छन् । उनी 'साझा पुरस्कार’ (सं. २०४५), 'राष्ट्रिय युवा वर्ष मोती पुरस्कार’ (सं. २०४७), 'मैनाली कथा पुरस्कार’ (सं. २०६३) आदिद्वारा सम्मानित भइसकेका छन् ।

उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् ।

घर – खण्डहर : कथासङ्ग्रहः २०३७
बाँच्नु र बाँचेकाहरू : कथासङ्ग्रह : २०३७
कथा–कोण : संयुक्त कथासङ्ग्रह : २०४३
विशुदाइ : कथासङ्ग्रह : २०४५
अध्याय : सम्पादित लघुकथासङ्ग्रह : २०४७
किंवदन्ती : लघुकथासङ्ग्रह : २०५३
शहरमा बत्ती निभेको बेला : कवितासङ्ग्रह : २०५३
एकैसाथ हाँसौं : अनुवादित कथासङ्ग्रह : २०५५
सर्वज्ञ र सेक्स : कथासङ्ग्रह : २०५५
लम्लम्ती दम : बालकथासङ्ग्रह : २०५७
त्यो तलाको मालिक : अनुवादित कथासङ्ग्रह : २०५९
आ–आफ्नो भाग : : बालकथासङ्ग्रह : २०६१
हाँस र फुच्ची केटी : : बालकथासङ्ग्रह : २०६६
मुग्ध सिम्फोनी : कथासङ्ग्रह : २०७०
अन्नपूर्णको भोज (मनुब्राजाकी) : सम्पादन : २०७०
शनिवारको साथी : बालकथासङ्ग्रह : २०७३ 

रोजा कथाहरू : कथासङ्ग्रह २०७५

****

'सिर्जनशील किशोर पहाडीॅ – डा. शेखर कुमार श्रेष्ठद्वारा सम्पादित  २०८०

किशोर पहाडी कविता विधाका पनि स्रष्टा हुन् ।

किशोर पहाडी मान्छेभित्रको निकृष्ट मानसिकता वा मनोभावलाई उदाङ्गो पार्ने संवेदनशील कथा–स्रष्टा हुन् । उनी मान्छेलाई नैतिक गुणहीन, स्वार्थी, ईर्ष्यालु, आडम्बरी, पाखण्डी, दम्भी, कपटी, पक्षपाती र अत्यन्त दुराग्रही देख्दछन् अर्थात् उनी मान्छेभित्र पाशविक र बर्बर प्रवृति रहेको देख्दछन् । उनी जीवनलाई सङ्गति अर्थात् हिसाब नमिलेको मृत्यु उन्मुख एउटा गतिविधि मात्र ठान्दछन् । उनी के देख्दछन् भने दम्भ, आडम्बर र निकृष्ट सोचका कारण मान्छे व्यक्तिवादी बनेर अरूका कुरालाई महङ्खव नै नदिने भइसकेका छन् ('सल्लाह’ कथा), त्यसरी नै मानिसहरू एकले अर्कालाई अवमूल्यन गरेर आफ्नै मात्र अहम् साँचेर बाँचिरहेका छन् ('साबुन’ कथा) र अरूलाई माध्यम बनाएर मान्छे आफ्नो व्यक्तिवादी सोचलाई मात्र प्राथमिकता दिन प्रवृत्त छन् ('साथ’ कथा) । यसै सन्दर्भमा उनको 'बाह्रखरी’ कथाको यो अंश हेरौं :

उसले पसलको कन्तुरबाट पचास पैसाको ढ्याक निकालेर त्यो बुढी माग्ने भएतिर फुत्त फाल्यो ।

उसले हेरिरह्यो बुढीले झटपट त्यो पैसा टिपी । जाँदाजाँदै भन्दै पनि गई के गर्नु, बिहानदेखि बिँडी खान नपाएर ।

उसले अझै हेरिरह्यो त्यो बुढीले सँगैको पसलमा त्यो पचास पैसाको शिव बिंडी हो या गणेश बिँडी हो– किनी ।

उसले निदाएजस्तो गरी आँखा चिम्ल्यो ।

अरूसँग दयाका रूपमा पैसा मागेर अरू थोक (खाने चीज) होइन विंडी किनेर खानु निश्चय पनि मान्छेको पतित मानसिकताको द्योतक हो । कथाकार पहाडीले यस्तै भग्न मानसिकताको प्रसङ्ग 'पाठक प्रतिक्रिया’ कथामा यसरी दिएका छन् :

'श्रीमान् सम्पादकज्यू … ।’

सम्पादक महोदयलाई आफ्नो साहित्यिक पत्रिकाको ’पाठक–प्रतिक्रिया’ प्राप्त भएको थियो र उनी त्यही पढ्दै थिए । अगाडिको सम्बोधन 'श्रीमान् सम्पादकज्यू’ ले नै उनी झस्के । कता–कता गल्ती सम्बोधन गरेजस्तो लाग्यो उनलाई … ।

अनि फेरि पढ्न थाले '… तपाईंको पत्रिकाको प्रवेशाङ्गको आवरण पृष्ठ निकै सुन्दर छ । …’

उनी मुसुक्क मुस्काए ।

पत्रिकाको सामग्रीतिर भने 'स्तरपूर्ण छैनन् । ..’.

उनको आँखीभौं खुम्चियो ।

'विज्ञापन धेरै राख्नुभएछ, उनको आँखीभौं झन् खुम्चियो । उनी दारी मुसार्नपट्टि लागे’ । त्यसो त उनको मुसार्नुपर्ने किसिमको दारी आएकै थिएन । त्यसपछि उनी कपाल कन्याउनपट्टि लागे । तर उनको कपाल चिलाएको पनि थिएन । के गरूँ न के गरूँ भएछ उनको पालो अचानक ती दुवै वाक्यलाई रातो मसीले काटिदिए र आफूले थपिदिए – 'पत्रिका स्तरपूर्ण छ । विज्ञापन धेरै रहेनछ ।’

मुस्काए । सम्पादकलाई काँटछाँट गर्ने अधिकार छ – उनी मुसुक्क

                   + + + 

किन हो कुन्नि, ती वाक्यहरूमा चाहिँ उनले काँटछाँट गर्ने अधिकार प्रयोगमा ल्याएनन् र पढ्दै गए – '… तपाईंको पत्रिकामा भाषा र व्याकरणमा अशुद्धि पनि थुप्रै रहेछन् … ।’

उनले आँखा च्याते । – के लेख्या है यस्तो ? मूला नेपाली व्याकरणमा पनि कोही अशुद्धि गर्छन् ? 'शुद्ध’ लेख्न खोजेको हो क्या र गल्तीले अगाडि 'अ’ थप्न पुगेछ । यस्तो सोचेर उनले त्यो वाक्यलाई पनि यसरी सच्याइदिए… 'तपाईंको पत्रिकामा भाषा र व्याकरण एकदम शुद्ध रहेछन् … ।

यस कथामा सम्पादन हुनुको अयोग्यता, दम्भ, अन्धता आदिबाट सिर्जित पलायनमुखी मानसिकताको चित्रण छ । आफूले गरेको गल्तीलाई स्वीकार नगर्ने र पलायनको बाटो समाती आफूलाई ठिक भनाउन धृष्टता गर्न सम्पादन भनाउँदाहरूका अन्तर्प्रवृत्तिको भण्डाफोर यस कथामा गरिएको छ । यसरी कथाकार किशोर पहाडीले आजका मान्छेको भित्री रूपलाई उदाङ्गो पार्ने काम गरेका छन् । यसै सन्दर्भमा उनले आफ्नो मज्जा र आनन्दका लागि बन्द हडताल र चक्काजाम गर्ने नेताहरूको विकृत मानसिकता (ॅमहाभारत’ कथा) र राज्यबाट न्यायको जिम्मेवारी पाएर पनि आफ्नो घरपरिवारभित्र भने लैङ्गिक विभेदलाई महङ्खव दिने न्यायाधीशको क्रूर मानसिकता ('तराजु’ कथा) को जीवन्त चित्रण गरेका छन् । यसै सन्दर्भमा ॅअद्र्धसत्य’ कथाको यो अंश हेरौं :


दुधको लाइन थियो ।

एक जना मान्छे असिनपसिन गरी दुगुर्दै आएर लाइनभन्दा अगाडि बस्न खोज्यो । लाइनमा एक घण्टादेखि उभिएको गोविन्देले त्यसलाई पाखुरा समातेर तान्यो र भन्यो “लाइनमा बस ।’’

त्यो मान्छेले रुँला झै अभिनय गर्‍यो “मेरी आमा बिरामी हुनुहुन्छ । उहाँलाई दुध लग्न लागेको ।’’

गोविन्देले झन् तान्यो उसलाई र भन्यो “फटाहा कुरा नगर् साले । हामीलाई थाहा छ अचेल आफ्नी आमाको निम्ति कसैले पनि यति धेरै सेवा गर्दैन । स्वास्नीलाई भन् न वरु पत्याउँछु ।’’


यस कथामा कथाकर पहाडीले आफ्नै स्वार्थमा बाँचेका युवकहरूको गैरजिम्मेदारपूर्ण पारिवारिक भूमिकालाई व्यङ्ग्यका साथ खुलस्त पारेका छन् अर्थात् आजका युवाको नैतिकताहीन मानसिकताको पर्दाफास गरेका छन् ।

कथाकार किशोर पहाडीको ध्यान देशमा विद्यमान सामाजिक र राजनीतिक विकृति र विसङ्गतिहरूतर्फ पनि आकृष्ट भएको छ। उनी के देख्छन् भने स्वतन्त्रता हराएको मानिस अरूको इसारामा भालु, बाँदरझैँ नाचेर आफ्नो अस्तित्व गुमाइरहेको छ ('बयान’ कथा), नेता र मन्त्रीहरूले नै गुन्डा र बदमासहरूलाई संरक्षण दिएर देशमा हुने गरेका भ्रष्टाचार र अनाचारलाई बढावा दिइरहेका छन् ('बलात्कार’ कथा) र दुई सम्पत्तिवालहरूबिच परस्परको होडाबाजी र एकअर्काले लिने प्रतिशोधको परिणामस्वरूप बजारमा सामानहरूको कृत्रिम अभाव हुने गरेको छ ('सहर’ कथा) । कथाकारले देशमा राजनीतिक विकृतिले जरो गाडेको यथार्थलाई 'काण्ड’ कथामा यसरी चर्चा गरेका छन् :

टुँडिखेलभरि लासैलास थियो मान्छेको लास । त्यो लास कताबाट कसले ल्याएर त्यहाँ बिछाएको हो, कसैलाई थाहा छैन । जिउँदा मान्छेहरू ती लासलाई एकएक गरी हेर्दै थिए ।

एक जनाले भन्यो– 'यी जनताका लास हुन् । यी सबैलाई देशले मारेका हुन् ।’

त्यो मान्छे त्यहीँ भुक्लुक्क लड्यो । त्यो पनि लासहरूको भिडमा मिसिन पुग्यो ।

अर्कोले भन्यो– 'यी लास जनताका लास होइन । यी सबैलाई देशले मारेका होइन् ।’

त्यो पनि भुक्लुक्क लड्यो र मर्‍यो । अनि टुँडिखेलभित्र मिसिन पुग्यो ।

                   + + +

एक जना अलि मोटेमोटो खालको मान्छे आयो – दौरा, सुरुवाल, टोपी लगाएको । त्यसले चस्मा पुछ्यो । अलि तिखारिएर हेर्‍यो र भन्यो – 'अहा ! कति राम्रो प्रदर्शनी । सबै जनता टन्नसित घाम तापिरहेका पो छन् त ।’

त्यो मान्छे भने अरू जस्तो भुक्लुक्क लडेन, मरेन । पछि थाहा भो त्यसलाई देशको मन्त्रीमा नियुक्त गरियो ।

देशको मन्त्री पद पाउन चाहिने योग्यता भनेको जनतामाथिको शोषण, अन्याय, अत्याचार वा असह्य पीडालाई देखेर आनन्दमा लीन हने अन्धशक्ति हुन् । राजनीतिक विकृति र विसङ्गतिको यो चरम रूप हो, किनभने नेता र मन्त्रीहरूले देशका जनतालाई कुल्चेर नै माथि पुग्ने सपना साकार पारेका हुन्छन् । यसको अर्थ के हो भने कथाकार पहाडीले देशको समसामयिक राष्ट्रिय परिवेशभित्रका यथार्थहरू उदाङ्गो पार्ने सन्दर्भमा विद्यमान नकारात्मक प्रवृत्तिहरूको कटु आलोचना गरेका छन् ।

कथाकार किशोर पहाडीले छोएको अर्को विषय हो मानवीय शोषणका दुष्परिणामहरू । उनले 'अल्याङटल्याङ’ भन्ने कथामा समाजमा हुने गरेको आर्थिक शोषणलाई यसरी नाटकीय शैलीमा प्रस्तुत गरेका छन् :


दुई वर्ष

–बा ! आमाको नाम के हो ?

–लक्ष्मी हो, तेरी आमाको नाम ।

–आमाको नाम कसले राखेको ?

–बज्यैले ।

–तेरी बज्यै खेत गएकी छ धान रोप्न ।

तीन वर्ष

–बा, मेरो नाम के हो ?

–तेरो नाम घंटे हो ।

–मेरो नाम कसले राखेको ?

–तेरी आमाले ।

–मेरी आमा कहाँ छिन् त खोइ ?

–खेत गएकी छे धान गोड्न ।

–धान गोड्न ?

–अँ, धान गोड्न ।

–सबै सधैं धानकै निम्ति गोड्ने गर्छन् । यो धान पाक्न कति वर्ष लाग्छ बा ? हामीले खान नपाएको त तीन वर्ष भइसक्यो । हैन र ?

धान रोप्नु, गोड्नु र दाइँ गर्न अरूका लागि मात्र भएकाले आफू भोकै बस्नपर्ने शोषित अवस्था भएका गरिबहरूको पीडालाई यस कथामा देखाइएको छ । कथाकार पहाडीले 'अङ्कुर’ कथामा पनि गरिबीका यस्तै पीडा देखाएका छन् । यस कथाको बालक पछि वकिल बन्न चाहन्छ, किनभने उसको सोचअनुसार वकिलले धेरै कमाउँदछ । छोरालाई कपी–कलमसमेत किनिदिन नसक्ने आमाबाबुले आर्थिक दुरवस्थाको प्रसङ्ग यस कथामा दिइएको छ । कथाकार के देख्दछन् भने सामन्ती संस्कार र संस्कृतिमा आधारित देश र समाजले मर्नेलाई मारेर सन्तुष्टि लिने काम मात्र गर्दैन ('अतिरिक्त’ कथा), गरिबहरूले आफू निर्दोष भएर पनि उच्च वर्गका मानिसहरूको निजी सुरक्षा र स्वार्थपूर्तिका लागि आफूले दोषी भएर दुर्नियति भोग्न बाध्य हुनुपर्दछ ('अचार समाचार’ कथा)। कथाकारले समाजमा एउटा गम्भीर समस्याका रूपमा रहेको शोषणको रूपलाई प्रतीकद्वारा यसरी प्रस्ट्याएका छन् :

भाँडोबाट छल्किएर अलि कति दुध टेबुलमा पोखियो ।  

दुध ओरालोतिर बिस्तारै बग्न थाल्यो ।

टेबुलमा अलिकति कागजपत्रहरू थिए । त्यसलाई भिजाउँदै बग्यो दुध । एउटा सिसाकलम थियो । त्यसलाई पनि भिजायो दुधले । टेबुलमाथिका धुलाहरूलाई आफूसँगै बगाउँदै लग्यो । फूल रहेछ टेबुलमा गुलाफको । त्यसलाई पनि बगाएर लान खोज्यो । तर डेग चलेन फूल । दुधले फूललाई पनि भिजायो मात्र । यसरी भिज्दा गुलाफको फूल क्वाँ… क्वाँ रोई । नजिकै स्याउ र चक्कु थिए । दुधले स्याउलाई भिजायो । चक्कुलाई भिजायो । चक्कुको धारले दुधलाई अलिकति घाउ भयो । दुधलाई दुख्यो । अब दुधलाई बग्न अलि गाह्रो भयो ।

केही छिनपछि दुध टक्क रोकियो । दुधको अगाडि एउटा झिंगा थियो – हरियो झिंगा ।

दुधले भन्यो– 'म आउँदै छु । छोड् बाटो ।’

झिंगाले छाती फुलाउँदै भन्यो– 'छोड्दिनँ । म बाटो छोड्ने खालको प्राणी होइन ।’

दुधले भन्यो – डुबेर मर्लास् तँ । छिटो छोड् ।” 

झिंगाले केही भनेन । हाँस्यो मात्र, दुध अब फेरि बग्न थाल्यो ।

विस्तारैविस्तारै दुधले झिंगा छोयो । डुबाउने मनसायले विस्तारैविस्तारै झिंगालाई चारैतिरबाट छोप्यो ।

अब दुध बग्न फेरि बन्द भयो । किनभने झिंगाले मज्जासँग दुध खाँदै थियो – यो दुधले पहिल्यै विचार नगरेको कुरो ।

दुध सुक्दैसुक्दै जान थाल्यो । झिंगा हाँस्न थाल्यो बेसरी ('जीवनको पराजय’ कथा) ।


शोषक (हरियो झिंगा) र शोषित (दुध) को मनसाय तथा अवस्थाको यो मर्म कथा हाम्रो समाजको यथार्थ हो । यस कथामा निम्नवर्गका मानिसहरूले जीवनमा भोग्नुपरिरहेको पराजयको नियतिलाई व्यक्त गरिएको छ । कथाकार किशोर पहाडीले 'अनकन्टार’ र 'घर’ लघुकथाहरूमा पनि समाजका विविध रूप देखाउने सन्दर्भमा श्रमिक, यौनकर्मी, किरायादार आदिका पीडा प्रस्तुत गरेका छन् । उनको विचारमा हाम्रो समाज व्यवस्था मात्र होइन, राजनीतिक धरातल पनि त्रुटिपूर्ण भएको हुँदा जनताहरू ठुलाठालु र स्वयम् राज्यबाट शोषित भएका छन् –ॅप्रजातन्त्र मेरो देशलाई’, 'खुकुरी’, 'क्रान्ति’ जस्ता कथाहरूले प्रत्यक्ष वा परोक्ष रूपले यस कुराको पुष्टि गर्दछन् ।

कथाकार किशोर पहाडीले मानवीय अनुराग र संवेदनाको कुरा पनि गरेका छन् ('प्रेम र 'कुल आरम्भ’ कथाहरू) र मान्छेभित्रको पाशविकता ('स्वर्गमा समस्या’ र 'हत्या’ कथाहरू) को कुरा पनि गरेका छन् । साथै उनले जीवनका विसङ्गति ('हिसाब कथा’ कथा) का साथै विडम्बना ('साधारण’ कथा) को कुरो पनि गरेका छन् । उनी युगीन चेतना भएका कथा–स्रष्टा भएको हुँदा उनका लघुकथाहरू वर्तमान युगको ऐना भएका छन् ।

लघुकथाका शिल्पी किशोर पहाडी व्यङ्ग्यविधानमा अत्यन्त निपुण छन् । उनले मिथक र अन्योक्तिद्वारा विषयवस्तुको प्रस्तुतिलाई प्रभावशाली तुल्याएका छन् । उनी प्रयोगप्रिय पनि भएकाले उनका लघुकथाहरूमा आकर्षण पाइन्छ । तर 'सिर्जना र व्यवधान’, 'फटाहा’, 'काठमाडौँ र प्लेग’, 'हत्या’ मा लघुकथाको विशुद्धता हराएको छ । समग्रमा भने उनका लघुकथाहरू सटीक र खंदिला छन् ।

निष्कर्षमा के भन्न सकिन्छ भने मान्छेका मनोवृत्ति र प्रवृत्तिलाई उदाङ्गो पार्नुका साथै युगीन विकृति र विसङ्गतिको चिरफार गर्न किशोर पहाडी सफल छन् । उनी हृदयका संवेदनालाई बुझ्न सक्ने एक संवेदनशील कथाकार हुन् ।

............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
.‍..‍


No comments:

Post a Comment