Monday, June 15, 2026

अनुवाद लघुकथा (अङ्क ३५ मा प्रकाशित)


एक साँझ फोनको घण्टी बज्यो । 'हलो' भनेर मैले आफ्नो उपस्थिति जनाएँ । उताबाट सम्मानजस्ता केही शब्द सुनियो । बडो मुस्किलले आफूलाई सम्हालेर मैले भनें “के भन्नुभयो सम्मान ?’’

उनी बोलिन् “हो मेडम, हाम्रो संस्थाले यस पटक हजुरलाई सम्मान दिने निश्चय गरेको छ ।’’

मैले भनें– अवश्य ! अवश्य !! यो त मेरा लागि अत्यन्त खुसीको कुरा हो । हजुर ठेगाना र समय दिनुहोला । म आउँला ।’’

मन कुनै नशामा डुबेजस्तै गरेर झुमिरहेको थियो फेरि अर्को फोन आयो । त्यो फोनमा पनि सम्मान दिनका लागि निमन्त्रण दिइरहेका थिए । उनीहरूलाई कुनै जवाफ दिन पाएकी थिइन फेरि अर्को फोन आयो । पहिलेको फोनलाई रोकेर अर्कोलाई सोधें “के कुरा हो ?’’

उनी भन्न थाले–“मेडमजी ! हामी तपाईंलाई सम्मान गरेर धन्य हुन चाहन्छौं ।’’

मैले भनें “मेरो त पहिलेबाट दुई ठाउँमा कार्यक्रम निश्चित भइसकेको छ । त्यसैले त्यहाँ आउन कठिन छ ।’’

उनले भन्न थाले – “तपाईंका तीन सम्मान एकै सहरमा छन् । व्यवस्थापन गर्न सकिन्छ । तपाईं तीनै ठाउँका समय फरक फरक पार्नुहोस् बस् !” मैले भनें– “त्यसो भए बिहान, दिउँसो अनि साँझको समय राखौं अनि हजुरको फोन तेस्रो नम्बरमा आयो, त्यसैले हजुरकहाँ साँझ मात्र आउने छु ।”

अर्को दिन बिहान फोनको घण्टी बजेपछि म हतारिएर उठें । फोनमा पहिलोवाला कार्यक्रमकी संयोजक थिइन् । मैले भनें– “तपाईं जब गाडी पठाउनुहुन्छ, त्यसपछि म घरबाट निस्कुँला ।“

उनले भनिन् “मेडम ! तपाईं आफ्नै गाडीमा आउनुहोला ! अनि, अँ…. केही सहयोग पनि गरिदिनुहोला ।’’

“सहयोग ?’’ – मैले उत्सुकतापूर्वक सोधें । उनी सम्झाउन लागिन् । 

“यो संस्था हामी महिलाहरू मिलेर चलाउँछौँ । पूरा वर्ष सङ्गोष्ठी, विमोचन, तिज कार्यक्रम, पर्वका कार्यक्रम, र सम्मान हुन्छन् ।’’

“तर म किन सहयोग गरूँ ?“ मेरो यो कुराले उनी रिसाइन् ।

“तपाईं हाम्रो संस्थाबाट सम्मान पाउँदै हुनुहुन्छ । मानिस सम्मान पाउन के के गर्छन् ? कति लेखकहरू, वरिष्ठ लेखकको टाउकोदेखि खुट्टासम्म मालिस गरिरहन्छन् । कोही रुपियाँ पैसाका साथ दोसल्ला र श्रीफल पनि लिएर आउँछन् । एउटा तपाईं मात्र हुनुहुन्छ जो अलिकति सहयोगका लागि नाइँ भनिरहनुभएको छ ?”

अब मैले बल्ल राम्ररी बुझै कि “यो त सम्मानको व्यापार हो ।’’

अनुवादः डा. पुष्करराज भट्ट

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment