Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

पागल

-रिपन गौतम
दार्जीलिङ, भारत  


मैले उसलाई पढाएको नै हैन । न कुनै ज्ञान नै दिएको छ मैले । तर उ मलाई सर ! भन्छ र खुलेर मसँग गफ गर्छ । मेरो हाल खबर यसरी सोध्छ उसले कि उसले अरू कसैलाई मेरो खबर सुनाउनु पर्ने हुन्छ । लाग्छ हामी धेरै अघिदेखि चिनजानमा छौ । जति बेला पनि म भेट्छु उसलाई बाटोतिर । प्लास्टिकको बोरा काँधमा बोकेर उ जहिल्यै हतारले हिँडीरहेको हुन्छ । 

म उसको केशको तारिफ गरिदिन्छु । उसको लागि नयाँ तर कसैले मिल्काएको पुरानो जुत्तालाई दामी भनी दिन्छु । मैलाको थुप्रोमा भेट्टाएको, उसले लगाएको फुटेको चस्माले सुहाएको मेरो भनाइमा उसको अनुहारमा आएको त्यो चमकले मलाई तान्छ । उसको खुल्ला खुसी हेर्न नै म बोल्छु उसँग । 

आज बेलुकीतिर भेट भयो । एउटा फोन कल सकेर बिरक्तिएर म चिसोमा उभिएको थिएँ । उसले छेउमा आएर मलाई सल्लाह दिएर गयो – सर ! बेसी नसोच्नु, नत्र यो दुनियाँले पागल भन्छ मलाई जस्तै ।

No comments:

Post a Comment