Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

सोच

-देवकी के.सी.
दक्षिणकाली नगरपालिका ३, काठमाडौँ  


त्यो तीन वर्ष मात्रै पुगेको कलिलो नातिलाई त्यति परको स्कुलमा किन पठाउनु परेको होला ? दैलोमा त्यति ठूलो स्कुल छँदै थियो नि । नातिलाई आउजाउ गर्न गाह्रो हुन्छ । राधाले छोराबुहारीलाई भनिन् ।

नातिको माया गरेर तपाईं उसको भविष्य नबिगार्नुस् त आमा । प्राइभेट  स्कुल त्यही पर छ त के गर्नु ? दैलो नजिक भए पनि त्यो सरकारी स्कुल हो त्यहाँ पढाएर हाम्रो छोराको भविष्य बिगार्नु छैन छोराबुहारीले रिसाउँदै राधालाई भने । 

हाम्रा पालामा त सरकारी चिज भनेपछि मान्यता नि ठूलो थियो । अहिले त सरकारी चिज भनेपछि सबै गुणस्तरहिन हुन्छ छ्या मात्रै गर्छन् छोराबुहारी । खोइ के भाको होला त्यस्तो राधाले मनमनै भनिन् ।

एक दिन छोराबुहारी खुसीले फुरुङ्ग हुँदै हातमा मिठाइको पोको बोकेर आएको देखेर राधाले छोराबुहारीलाई सोधिन्, के को खुसीयालीमा हो मिठाइ बोकेर आएका छौ त ? तपाईंको छोराको खरदारमा नाम निस्कियो । अब त तपाईंको छोरा पनि सरकारी जागिरे भएको हेर्ने मेरो सपना पनि पुरा भो । 

धन्य ! भगवान् नोकरी त सरकारी नै वेश । चम्किला अनुहार पारेर बुहारीले भनिन् ।

सरकारी सबै चिजलाई कमसल ठानेर अनुहार बिगार्ने छोराबुहारी पनि उ सरकारी जागिरे भनेपछि मख्ख भएको देख्दा राधालाई अचम्म लाग्यो । उनले मनमनै भनिन् नोकरी चाहिँ सरकारी उत्तम रे । अनि अरु चिज चाहि सरकारी कमसल रे ! सोचनै यस्तो भएर त होलानि देशको अवस्था बदल्न त पहिले सबैले आफ्नो सोच बदल्नु पर्दो रै’छ ।

No comments:

Post a Comment