विश्वास अविश्वास
- कल्पना भण्डारी
सिन्धुपाल्चोक हालः काठमाडौंँ
शिव निरास हुँदै हिँडिरहेको थिए । पसल जाँदै गर्दा गोमासँग जम्का भेट भयो । गोमोले अडिएर शिवको अनुहारमा हेरेर सोधिन् "के भयो शिव दाइ ? सधैँ खुसी देखिने पूर्णिमाको जुन जस्तो मान्छे हजुर आज त औँसीको रात जस्तो देखिनुभएको छ । के भयो दाइ हजुरलाई? भन्नू न !"
शिवको अनुहार झन् कालो बादलले ढाकेको जस्तो देखिएको थियो । "के भनौँ बहिनी, मेरो कहानी धेरै छ । तनावमा छु ।’’
गोमाले सोधिन् "के भयो भन्नू न दाइ मलाई ?" अनुरोध गरिन् ।
शिवले लामो सास तानेर भने "मेरा दुईजना बच्चा छन् । मैले अहिलेसम्म विदेशमा बसेर कमाएको सबै पैसा मेरी श्रीमतीले भिरखर्कको लाहुरेलाई ऋण दिएको छु भन्छिन् । मागेर ल्याऊ भन्दा मान्दिनन् । अहिलेसम्म कमाएको सबै खाने खेल्ने गरेर सकिछन् । म विदेशबाट आएको दिनदेखि पैसाको कुरा गर्यो कि रिसाउँछिन् । हिजो बेलुका मैले पैसाको हिसाब मागेको मसँग रिसाएर बिहानै हिँडेकी छन् । माइतमा गइन् कि भनेर बुझ्न हिँडेको ।"
शिवको कुरा सुनेर गोमा मन अमिलो भयो । मनमनै भनिन् "हिजोअस्ति त सँगै हामी मेला गएको थियौँ । मलाई त त्यस्तो नराम्रो मान्छे जस्तो त लागेको थिएन"
शिवले रुँदै फेरि भने "मैले मेरी श्रीमतीलाई सबै विश्वास गरेको थिएँ । त्यसैको फल भोग्दै छु । मेरो बच्चाको बिजोक हुने भयो ।" शिवको कुरा सुनेर उनी एकछिन अवाक् भइन् । "विदेश गएका धेरै श्रीमान्को यस्तै हालत भएको छ । पिर नमान्नु होला । मिलेसम्म श्रीमतीलाई माइतमा भए फकाएर लिएर आउनुहोला" भन्दै उनी पसलतिर हिँडिन् ।
शिवको मोबाइलको घन्टी बज्यो । कसले फोन गरेछ भनेर हेर्दा त आफ्नै श्रीमती पो रहिछन् । "हेल्लो कता छौ?’’ भन्नै नपाई खुसीको आवाजमा प्रत्युत्तर आयो "हजुरले कमाएर दिएको पैसाले मैल घर किनेर आज पास गरेर आएँ, हेर्न आउनुहोस् ।"
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment