Thursday, April 18, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

प्रयोग

- लता के.सी.
तीनकुने, काठमाडौँ  


ओल्टाइ पल्टाइ, तल माथि गरेर ३ पटक पढेँ ।  फिटिक्कै बुझिनँ । टाउको प्याट्ट पिटेँ । आफैसँग प्रश्न गरेँ,  "किन यो मस्तिष्क ह्याङ हुँदैछ ?" 

फेरि पढेँ । अहँ, फेद टुप्पो भेटिनँ । एक कप कफी पिएँ । त्यसबेला झ्वाट्ट महाकवि देवकोटा सम्झिएँ । लेखिसकेर पढ्दा आफैँले लेखेको रचना आफैँ बुझ्दिनँ भनेर साथीभाइसँग जिस्किन्थे रे ! 

यसबेला लेखकसँग धेरै रिस पनि उठ्यो । जान्ने पल्टेर किन क्लिष्ट लेख्नु पर्‍थ्यो ? सबैले बुझ्ने गरेर लेख्दा तिनको बाउको के जान्थ्यो र ?  अगाडि भए बेस्सरी खनिन्थे होला । तत्पल नै दिमागमा घण्टी बज्यो । फेसबुकमा लेखकको नाम खोजेँ । उस्तै नाम दश वटा नाम फेला परे । प्रोफाइल जाँच गर्दै गएँ । बल्ल एउटा लेखक भनेर फेला पर्‍यो । अँध्यारोमै ढुङ्गा हान्न मन लाग्यो र ठाडै मेसेन्जर कल गरेँ । विवरण प्रस्तुत गर्दै सोधेँ,  "यो रचना हजुरकै हो ?"

"हो ।  किन ? के भयो र ?" जवाफ आयो । 

"के भएन ? भन्नु न बरू !" मैले आक्रोश पोखेँ । 

"रिसानी माफ होस् हजुर ! कारण के पर्‍यो होला ?" प्रश्न तेर्सियो ।

सिधैँ सोधेँ,  "हजुरले लेखेको प्रतीकात्मक शैलीको फलानो रचनामा प्रयोजन त प्रष्ट हुनुपर्ने होइन र ? म जस्ता पाठक कति रन्थनिए होलान्?"

उनले हाँस्दै आफ्ना एक विद्वान मित्रको भनाइ सुनाए, "नयाँ प्रयोग सुरू गर्ने हो भने रचनाको  विश्लेषण गर्दा समीक्षक र पाठक होइन, लेखक स्वयम् बोलोस्  रे !"


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment