Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

अतृप्त प्रेम

-कपिल लोहनी 
काठमाडौँ    


पुस्तक विमोचन समारोह । एक स्थापित लेखकको रूपमा रोशन धेरै यस्ता साहित्यिक समारोहहरूमा सरिक हुन्छ । उ धेरै बोल्दैन, गम्भीर मुद्रामा रहन्छ । उसकी प्रेमिका मुनासँग अन्तिम पटक तीन दशक पहिले भेट भएपछि उसको हाँसो हराएको थियो । 

आज उ केही उत्साहित देखिएको छ, किनकी उसकी सपनाकी रानी मुनालाई अकस्मात् सो समारोहमा देखेपछि । केश आधा फुलिसकेको रहेछ तर उनको मुहारमा पहिलेकै कान्ति र अझ बढी शालीनता । अझै अचम्मको कुरा त उसले निकै रुचाउने गरेकी ‘पारो’को नामले प्रायः असफल प्रेम र विरहले भरिपूर्ण उपन्यासहरू लेख्ने साहित्यकार त उनै मुना पो रहिछन् । अझै अविवाहिता । 

रोशनलाई चिनेर होला उनी पनि टाढैबाट उसलाई हेर्दै टाउको निहुराउँदै पुस्तक विमोचन समारोहका वक्ताहरूको कुरा सुन्दै थिइन् । मुना निकै सम्भ्रान्त जमीनदार परिवारकी छोरी । उनका पिता तथा दाजुहरू ज्यादै कडा स्वभावका व्यक्ति भएकाले रोशनलाई मुनाको छायासमेत नहेर्न धम्की आएको थियो र एकाधपटक हाथापाइसमेत भएको थियो । त्यतिबेलाको अवस्थाले गर्दा रोशन मुनाबाट टाढा हुन वाध्य भए भने उता मुनाले पनि आफ्नो प्रेम असफल भएकोले अरु कसैसँग विवाह गर्ने कुरालाई विभिन्न वहानामा टार्दै आजसम्म एकल भएर बसेकी छन् । दुवैको मनमा लामो समयदेखिको अनियन्त्रित भुमरी र मनको कुरा व्यक्त गर्ने माध्यम केवल साहित्य ।

पुस्तक विमोचन समारोहभर देखादेख भए पनि दुई मुटु बीचको धड्कन जोडिन पाएन र कार्यक्रम सकिनु भन्दा पहिले नै मुना अन्तिम पटक रोशनलाई नियालेर टाउको झुकाउँदै समारोह स्थलबाट बाहिरिन् । तीन दशकसम्म कल्पेर बसेको रोशनको मन आज मुनालाई देखेपछि थोरै खुसी भएको थियो, तर उनी गएपछि झनै अशान्त हुन पुग्यो । तर उसमा आज दृढ विश्वास जागेको छ कि अब भने ढिलो वा चाँडो उनीहरूको मिलन सदाको निम्ति हुनेछ भनेर ।  


(कथाकार विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।)



..साथ सहयोगको खाँचो

No comments:

Post a Comment