Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

अस्तित्व

- ध्रुवराज थापा 'पुरुष'
काभ्रे, पनौती । हालः कपन, काठमाडौँ   



"तिमी म भन्दापछि मरेको पहिले बाँच्यौ तर म तिमीभन्दा धेरै पछि मरेको कहिले बाँच्छु होला "  मरेका र बाँचेका दुईजना कुराकानी गर्दै थिए ।

“त्यहि त तिमी समयको पालक थियौ । कुनै समय त्यस्तो थियो तिमीबिना कामकाजै चलाउन गाह्रो थियो । सहरवासीलाई दैनिक जगाउने तिमी नै थियौ !’’ बाँचेकोले भन्यो ।

मरेकोले थप्यो, “पहिलेका गइहाले, अहिलेकाले मेरो महत्व बुझेनन् । अहिले पो म वृद्ध भएँ, जवान छँदा सबै मेरै इसारामा नाच्थे ! बाटो हिँड्दा मेरो सौन्दर्यलाई पुलुक्क फर्केर नहेर्ने कोही थिएन ।’’

“हो त समय समयमा समिप बसेर तिम्रो गर्जन सुन्ने बानी परेको म, आजभोलि मेरा कान तिम्रा प्यासी बनेकाछन्, तिमीलाई खोजिरहेका छन् ।’’ बाँचेकोले उसको अभाव दर्शायो र थप्यो, "म जिउँदो छँदा मानिसहरूले मलाई हत्याराको समेत लान्छना लगाउन समेत पछि परेनन् तिमीलाई थाहा नै छ ।"

“हो नि त्यस कुराको साक्षी म छु नि ! दिनरात तिमै छेउमा म ठिङ्ग उभिइ रहेको हुन्थेँ । मान्छेहरू आफ्ना विभिन्न व्यक्तिगत व्यथा बोकेर आउँथे, झ्वाम्म हाम फालेर मर्थे, बेकारमा अपजस् तिमीलाई आउँथ्यो ।

मृतकले अनुरोध गर्‍यो,"लौन तिमीलाई जसले ब्यूँतायो उसलाई मलाई पनि पुनर्जीवित गर्न भनिदेउ न ! म त्यही आशामा बसेको छु । यदी म बाचेँभने अझै धेरै वर्ष निरन्तर सेवा दिने थिएँ !" रूँदै घण्टाघरले रानीपोखरीलाई भन्यो ।

(लामो समयदेखि बिग्रिएको घण्टाघर र भर्खरै पुनर्जीवन पाएको रानीपोखरीको सम्मानमा)


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment