Monday, September 23, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

छलफल

- युवराज मैनाली
सुकेधारा, चक्रपथ


ब्रह्माण्डको बारेमा सोचविचार गरी जैविक सङ्कट मोचनार्थ समुद्री किनारमा जलथल र वायुमण्डलमा भएका जीवजनावरहरूको छलफल शुरू भयो । छलफलको विषय जैविक अस्तित्व कसरी संरक्षण गर्ने भन्ने थियो । प्राणीमध्येको सर्वश्रेष्ठ बौद्धिक प्राणी मानवलाई पनि छलफलमा निमन्त्रणा थियो । निमन्त्रणा मात्र नभएर ऊ त नभई नहुने नै भयो । हरेक प्राणीका फरक र विशिष्ट विशेषताबाट प्रभाव ग्रहण गरेको मानवले चरा उडेको देखेर प्लेनको आविष्कार गर्यो । माछा पौडेको देखेर पानी जहाज बनायो । आकाशबाट उल्का झरेको देखेर रकेट बनाएको थियो । चितुवा दौडेको देखी मोटर बनायो । 

यसरी जे जे देख्यो त्यही गराउने अद्भुत र सर्वश्रेष्ठ प्राणी मानव ...जिज्ञासु र कहिल्यै तृप्त नहुने मानव। विकास र विनाशलाई समानान्तर लिएको उसले सामानान्तरको रेखा हल्लाउँदा असन्तुलन भएको निचोड निस्कियो । आकाशमा हवाइजहाजको  चाप, वायु मण्डलमा तीव्र ताप, जलप्रदूषण, जमिनप्रदूषण, चाप, ताप र अभावले व्याकुल हुँदा पृथ्वी बस्न योग्य नभएको निस्कर्ष निस्कियो । तत्काल सुधार गर्ने र सुधार नभए विकल्पमा अन्य ग्रहहरू खोज्ने निणर्य भयो । छलफलमा सबै जीवजनावर र प्राणीले अस्तित्व सङ्कटको कारक मानव भएको निष्कर्ष निकाल्दै समाधान पनि मानवले खोज्नु पर्ने अडान लिए । प्रगतिप्रति पश्चाताप गर्दै मानव समाधान गर्न तम्सियो । 

सोधखोज र अनुसन्धान गर्दा सुधारको डोरी तान्दातान्दै समस्या, समाधानका लागि समय निकै ढिला भएछ । ब्रह्माण्डको दियो यति कोल्टिसकेछ जसलाई जति सोझ्याउन खोज्यो उति नै ढलपल ढलपल !... दियो जतिसुकै सोझ्याएर वर्तन थप्छु भने पनि सबैका सामु समाधानमा निस्किएको मान्छेका हात नै लल्याक्लुलुक भए । अञ्जुलीमा दियो उत्तानो पर्न सकेन । कोल्टियो बराबरभन्दा बढी । पाखुरा गले । कोल्टिने क्रम अझ जाँगरिलो... हुँदै गयो... अन्ततः झ्याप्प... निभ्यो... संसार... मान्छे... समस्या... समाधान... शून्य... शून्य... ।


.‍..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment