Monday, September 23, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

गाउँ फर्क

- रुद्र अधिकारी 'निर्दोषी'
इटहरी-१९, सुनसरी हालः लन्डन 


"प्रणाद दाजु !" दरवारमार्गमा अपर्झट भेट हुँदा कमलले मलाई अभिवादन गर्‍यो । 

“ए कमल पो ! भाग्यमानी भएस् !  के कति कामले ! कहिले आयौ काठमाडौँ ?” मैले जिज्ञासा राखेँ ।

कमलले “जलवायु परिवर्तन सम्बन्धी गोष्ठीमा भाग लिन आएको” भन्दै कोठा खोज्न सुन्धारा जान लागेको र कोठामा सामान राखेर कार्यक्रममा जाने बतायो ।

मैले “काठमाडौँमा मेरो घर हुँदाहुँदै बाहिर लजमा बस्ने हो?” भन्दै मेरो गाडीमा उसलाई बसाएर घर ल्याएँ । उसले आनाकानी गरिरहेको थियो । 

गाडीमा उसले धेरै जिज्ञासा राख्यो,
“यो कुन गाडी हो?
डिजेल, पेट्रोल, हाइब्रिड वा इलेक्ट्रोनिक हो?
तपाईंलाई काठमाडौँमा बस्दा उकुस मुकुस हुँदैन?
धुँवा, धुलो र प्रदूषण के साह्रो आकासिएको ? 

सरकारले देखेर पनि अनदेखा गर्न मिल्छ?, म त दुई चार दिन बसें भने निस्सासिने रहेछु’’ उसले प्रश्न मात्र गरिरहेको थिएन, धारणा पनि राखिरहेको थियो ।

ऊ बोल्दै गयो “जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम तारे होटलमा मात्र सीमित हुँदा रहेछन, ब्यवहारमा हुँदैन रहेछन् । यस्तो तालले कसरी पृथ्वी र मानवलाई जलवायु परिवर्तनले गर्दा हुने असरबाट बचाउन सकिन्छ खै ?” उसले लामो श्वास तान्यो । मैले उसलाई जलवायु परिवर्तनको कारण, प्रभाव र समाधानबारे अत्यन्तै चिन्तित भएको पाएँ ।

कुरैकुरामा जब मैले “कस्तो संयोग ! तिमी सहभागी हुन आएको कार्यक्रममा मैले पनि जलवायु परिवर्तन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्दैछु ।” भनें; त्यसपछि उसले मुखैमा आएका कुरा पनि छान्दै, तौलँदै बोल्न थाल्यो ।

एक छिन गमेर उसले सोध्यो “दाजु, मलाई सानो सहयोग गरिदिनु न ल ?”
मैले सहजै जवाफ दिएँ “निर्धक्क भन, म सहयोग गर्न तयार छु ।’’

“मलाई बसपार्कसम्म पुर्‍याइ दिनुहोस्, यस्तो गोष्ठीमा म भाग लिन्न आजै नाइट बसमा गाउँ फर्कन्छु ।”


.‍..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment