Wednesday, January 22, 2025

लेख (अङ्क २० मा प्रकाशित)


- उप्रपा‍. प्रेमप्रसाद तिवारी

लेखसार 

प्रस्तुत लेखमा आधुनिक कालमा विकसित भएका विभिन्न धारा तथा प्रवृत्ति केकस्ता रहेका छन् भन्ने मूल समस्याको समाधान खोजिएको छ । यस लेखमा पुस्तकालयीय कार्यबाट द्वितीयक स्रोतका सामग्री सङ्कलन गरी तिनैको विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा माध्यमिक कालीन अतिकाल्पनिकता, आदर्शवादिता औपदेशिकता, शिथिल आख्यान अनि दुर्बल संरचनायुक्त कथा लेखनको परम्पराबाट विच्छेद हुँदै ‘शारदा’ पत्रिकामा गुरुप्रसाद मैनालीको ‘नासो’ (१९९२) प्रकाशन भएपछि नेपाली कथा आधुनिकतामा प्रवेश गरेको विषय प्रस्तुत गरिएको छ । साथै यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाले ‘चन्द्रवदन’ (१९९२) कथा प्रकाशन भएपछि नेपाली कथाको संरचना पाश्चात्य कथालेखनसँग पनि जोडिन पुगेको विषय उल्लेख गरिएको छ । यस लेखमा नेपाली कथाको आधुनिक कालमा सामाजिक यथार्थवादी धारा, मनोविश्लेषणवादी धारा, प्रगतिवादी धारा, नवचेतनावादी धारा तथा उत्तरआधुनिकतावादी धारा विकसित हुन पुगेका छन् भन्ने निष्कर्ष निकालिएको छ । यस लेखमा पाश्चात्य साहित्यमा विकसित भएका विविध मान्यताको उपयोग गरी बहुलवादी कथा लेख्ने प्रचलन पनि नेपाली कथाको उत्तरवर्ती चरण प्रवेश गरेको पाइन्छ भन्ने निष्कर्ष निकालिएको छ । आजसम्म पनि नेपाली कथामा नवीन प्रवृत्ति भित्रिइरहेका छन् र ती सबै नवीनतालाई सम्बोधन गर्दै आधुनिक नेपाली कथा निरन्तररूपमा अगाडि बढेको छ भन्ने कुरा देखाइएको छ । शब्दकुञ्जी : नवचेतनावाद, प्रगतिवाद, मनोवैज्ञानिकता, यथार्थवाद, समसामयिक, सामाजिक ।


विषयपरिचय 

आधुनिक कथा विधाको विकास उन्नाइसौँ शताब्दीमा भएको हो । आख्यानात्मक निबन्धको पृष्ठभूमिबाट विकसित भएको कथा साहित्यका लोकप्रिय विधाको प्रकारमा पर्छ । भन्ने सुन्ने परम्पराबाट अगाडि बढेको कथाले समयको अन्तरालमा लिखित अभिव्यक्तिलाई आत्मसात् गर्न पुग्यो । लेख्य भाषाको उपयोग गरी कथा लेख्ने पद्धतिको विकाससँगै कथा लेखनका क्षेत्रमा समेत नवीन प्रवृत्तिहरू भित्रिन थाले । १८२७ सालबाट लिखित स्वरूपमा देखिएको नेपाली कथाले आधुनिक रूप प्राप्त गर्न १६३ वर्षको लामो अवधिको प्रतीक्षा गर्नुपर्‍यो । १९९२ सालमा गुरुप्रसाद मैनालीको ‘नासो’ कथा ‘शारदा’ पत्रिका प्रकाशित भएपछि नेपाली कथा आधुनिकतामा प्रवेश गरेको हो । 


नेपाली कथाको यही आधुनिक कालमा विकसित भएका विभिन्न धारा तथा प्रवृत्ति केकस्ता रहेका छन् ? भन्ने मूल समस्या रहेको यस लेखमा आधुनिक नेपाली कथाका धारा, प्रवृत्ति तथा मोड निरूपण गर्ने उद्देश्य लिइएको छ । यसका लागि आवश्यक सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । कथाको इतिहास लेखनसँग सम्बन्धित प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरी निष्कर्ष निकालिएको छ । कथा शब्दको व्युत्पत्तिपरक अर्थ दिँदै आधुनिक नेपाली कथाको विकासमा देखापरेका मुख्य प्रवृत्ति र मोड निरूपण गरिएको छ । कथाको विकासक्रमका बारेमा अध्ययन गर्ने पुरानै परम्परा रहेको भए पनि आधुनिक कालका धारा, मोड र प्रवृत्तिसमेत निरूपण गर्ने अध्ययनको अभाव देखिएकाले यो अध्ययन गरिएको हो । आधुनिक नेपाली कथाको विकासका धारा, मोड र प्रवृत्तिबारेमा अध्ययन गर्न चाहने पाठकका लागि यो लेख उपयोगी रहेको छ । आधुनिक नेपाली कथाको विकासक्रमका बारेमा मात्र अध्ययन गर्नु यस लेखको सीमा रहेको छ ।

अध्ययन विधि 

प्रस्तुत अनुसन्धानात्मक लेख गुणात्मक प्रकृतिको रहेको छ । यस लेखमा सोद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा आधुनिक नेपाली कथाको विकासको यात्रा निरूपण गर्ने कार्य गरिएको छ । प्रस्तुत अध्ययनका लागि आवश्यक सामग्री पुस्तकालय कार्यबाट सङ्कलन गरिएको छ । प्रस्तुत लेखमा इतिहासलेखनका विधिलाई मुख्य आधार बनाइएको छ । तिथि मितिको निर्णय, चयनशीलता, कालक्रम निर्धारण, सामग्री सङ्कलन, सामग्रीको विश्लेषण र प्रस्तुतीकरण अनि सामान्यीकृत सिद्धान्तको प्रतिपादन जस्ता इतिहासलेनसँग सम्बद्ध विधिका आधारमा लेखलाई निष्कर्षसम्म पुर्‍याइएको छ । प्रस्तुत लेखमा लेखक, मिति, प्रवृत्ति, कालक्रम आदि निर्धारण गरी अर्थापन गरिएको छ ।


सैद्धान्तिक पर्याधार 

कथा संस्कृत भाषाबाट आएको तत्सम शब्द हो । कथ्‌धातुमा अ (अच्‌) प्रत्यय लाग्दा कथ शब्द निर्माण हुन्छ र कथ शब्दमा आ (टाप्‌) प्रत्यय जोडिँदा कथा शब्द निर्मित हुन्छ । साहित्यको कुनै विधाविशेषसँग कथा शब्द सम्बन्धित भए पनि यसको शाब्दिक अर्थ घटना वा आख्यान भएको रचना वा कहानी भन्ने हुन्छ (अधिकारी र भट्टराई, २०६०, पृ.१४८) । साहित्यिक विधाका रूपमा विकसित कथाले वर्तमान अवस्थामा लेख्यपरम्परासँग सम्बन्ध स्थापित गरे पनि यसको आन्तरिक मर्म भने कथ्य परम्परासँग नै अनुबन्धित हुन्छ । लोककथाको बीजबाट विकसित वर्तमान समयको कथाको स्वरूप लोककथाको र स्वरूपमा भिन्नता भेटिन्छ । मानवसभ्यताको चरम विकास अनि भाषिक परम्पराको पनि सुदृढ विकास सँगसँगै आधुनिक कथाको स्वरूप निर्माण भई विकासको यात्रा गतिमान्‌भएको स्पष्ट देखिन आउँछ । पाश्चात्य साहित्यमा सर्ट स्टोरीे शब्दबाट सम्बोधित हुन जाने विधा नै आधुनिक कथाका रूपमा चिनिने गर्छ । कथा कुनै शास्त्रीय नियम वा लक्षणहरूसित आबद्ध परम्परागत विधा होइन ( श्रेष्ठ, २०५७, पृ.६) । नयाँ स्वरूप अनि संरचनामा आबद्ध कथाको आफ्‌नै प्रकारको मौलिक संरचना रहेको भेटिन्छ । कथा भाषिक कलास्वरूप साहित्यका आख्यानविधाको त्यस्तो उपभेद हो जसमा सुन्दर गद्यभाषामा पठाकाल र पृष्ठसङ्ख्याका लघु आयाममा जीवनको कुनै एक अंशलाई झल्काउने खालका कुतूहलपूर्ण एवम्‌कलात्मक चित्रण हुने गर्छ (अवस्थी, २०५५, पृ.५) । समय अनि समाजमा देखिने परिवर्तनलाई तत्काल आत्मसात्‌गर्न सक्नु कथाको गत्यात्मक सामर्थ्य हो । अन्य साहित्यिक विधाबाट प्रशस्त प्रभाव ग्रहण गर्दै र प्रभाव छाड्दै नयाँपनलाई स्वीकार गरेर अग्रगति लिनु कथाको महŒवपूर्ण विशेषता मानिन्छ । यथार्थ जीवनको कथात्मक अभिव्यक्ति वा जीवनको स्वाभाविकता व्यक्त भएको कथा नै आधुनिक कथा हो (अर्याल, २०५९, पृ. ८) । 


प्रभावकारी सङ्क्षिप्त विषयवस्तुलाई आफ्‌नो सानो सशक्त काँधमा बहन गरी छोटो यात्रामा निस्कने कथा कहिल्यै उद्देश्यबाट विचलिन हुँदैन । पाठकलाई छुट्टै लोकमा विचरण गराएर निरन्तर कौतुकता प्रदान गरी असीम मनोरञ्जन प्रदान गर्ने सामर्थ्य कथामा सन्निहित हुन्छ । साहित्यको लोकप्रिय विधाका रूपमा रहेको कथाको इतिहासलेखनसँग सम्बन्धित कार्यका लागि इतिहासलेखनको प्रसिद्ध सिद्धान्त उपयोग गरिएको छ । साहित्यको इतिहासलेखन अत्यन्तै जटिल, गहन तथा जिम्मेवारीपूर्ण काम हो । यसका लागि इतिहासकार अत्यन्तै सचेत बन्नुपर्ने देखिन्छ । साहित्यको इतिहासलेखनका क्रममा तिथि मितिको निर्णय, चयनशीलता, कालक्रम निर्धारण, सामग्री सङ्कलन, सामग्रीको विश्लेषण र प्रस्तुतीकरण अनि सामान्यीकृत सिद्धान्तको प्रतिपादन गर्ने कार्य गरिन्छ । साहित्यको इतिहासलेखनका क्रममा कृति र कृतिकारको तिथिमितिको निर्णय गर्नु महत्वपूर्ण पक्ष हो । साहित्येतिहास लेखनका क्रममा प्रत्येक युगमा प्राप्त भएका सम्पूर्ण कृति र कृतिकारलाई चिनाउन सम्भव हुँदैन । यस क्रममा प्रत्येक युगका मुख्य प्रवृत्तिलाई आत्मसात् गर्ने गरी प्रतिनिधि कृति र कृतिकारको चयन गर्नुपर्छ । प्रतिनिधि कृति र कृतिकारको चयन गर्ने कार्य निकै जटिल हुन्छ । त्यस कालको वस्तुगत तथा शैलीगत प्रवृत्तिका आधारमा युगको प्रतिनिधित्व गर्ने मुख्य कृति र कृतिकारलाई चयन गर्नुपर्छ । प्रतिनिधि चयन नभएका कृति र कृतिकारको नाम उल्लेख गर्नुपर्छ (श्रेष्ठ, २०३४, पृ.७) । साहित्यको इतिहासको लेखनका क्रममा कालक्रमको शैली अपनाउनुपर्छ । कृतिकारको जन्म, कृतिको लेखन वा प्रकाशन मिति आदिका आधारमा विवरणलाई प्रस्तुत गर्ने शैली अपनाउनु अनिवार्य हुन्छ । 


यस्तो कार्यबाट विवाद आउने सम्भावना अत्यन्तै कम रहन्छ । साहित्यको इतिहास लेखनका क्रममा त्यससँग सम्बन्धित बढीभन्दा बढी सामग्री सङ्कलन गर्नुपर्छ । आफ्‌नो विषयक्षेत्रका आधारमा सामग्री कहाँबाट उपलब्ध हुन सक्छ भन्नेबारेमा स्पष्ट जानकारी रहनुपर्छ । सामग्रीको ्‌सङ्कलनका क्रममा मुद्रित वा हस्तलिखित पुराना ग्रन्थको विवेचनात्मक अध्ययन गर्ने, पुस्तकालयको क्याटलगको पुष्पिकाबाट आवश्यक सूचना लिने, प्रकाशित नयाँ पुस्तकको अध्ययन गर्ने, क्षेत्रीय स्तरमा भएका शोध तथा अनुसन्धान कार्यसँग सम्बन्धित ग्रन्थको अध्ययन गर्ने जस्ता कार्य गर्नुपर्छ । आफ्‌नो विषयक्षेत्रसँग सम्बन्धित अधिकाधिक सामग्रीको सङ्कलन गरी धेरैभन्दा धेरै सूचना सङ्कलन गरेर सत्यापन गरी प्रस्तुत गर्नुपर्छ । साहित्यको इतिहासलेखनका क्रममा प्राप्त तथ्यलाई चयनशीलता र कालक्रमका आधारमा सङ्कलन गरिसकेपछि कृतिमा अन्तर्निहित अन्तः साक्ष्यका आधारमा तथा ती कृतिमा व्यक्त सामाजिक र सांस्कृतिक प्रवृत्तिको पहिचान गरी विश्लेषण गर्नुपर्छ । सङ्कलित सामग्रीको विशलेषणपश्चात् प्राप्त निष्कर्षलाई सार्वकालिक सिद्धान्तका प्रस्तुत गर्नुपर्छ । लेखक, तिथिमिति, कृति तथा प्रवृत्तिका बारेमा दिइएको निष्कर्ष नै इतिहास बन्ने भएकाले यसमा इतिहासकार अत्यन्तै संवेदनशील बन्नुपर्छ । प्रस्तुत लेखमा कथाको इतिहासलेखनसँग सम्बन्धित सिद्धान्त उपयोग गरिएको छ । मूलतः यस लेखमा तिथि मितिको निर्णय, चयनशीलता, कालक्रम निर्धारण, सामग्री सङ्कलन, सामग्रीको विश्लेषण र प्रस्तुतीकरण अनि सामान्यीकृत सिद्धान्तको प्रतिपादन गर्ने कार्य गरिएको छ । यसका लागि आधिकारिक कथाको इतिहाससँग सम्बन्धित कृतिको उपयोग गरिएको छ ।


आधुनिक नेपाली कथाको प्रवर्तन र प्रमुख धारा 

नेपाली कथाको विकासयात्राले लामो दुरी निर्धारण गरिसकेको छ । नेपाल एकीकरणको यात्रा सँगसँगै आरम्भ भएको कथाको यात्रा लगभग २४० वर्षको अवधि पार गर्दै अगाडि बढिरहेको छ ।


नेपाली कथामा आधुनिक कालको इतिहास सं.१९९० को दशकदेखि प्रराम्भ भएको हो (श्रेष्ठ र शर्मा, २०५९, पृ. ७२) । आधुनिकताले प्रवेश पाएको आठ दशक मात्र भए पनि देशमा देखिएका विभिन्न किसिमका परिवर्तनले यसको स्वरूपलाई नवीन ढाँचामा रूपान्तरित गर्दै लगेका छन् । ‘शारदा’ (१९९१) ‘शारदा’ पत्रिकाको उदयको एक वर्षपछि प्रकाशित गुरुप्रसाद मैनालीको ‘नासो’ (१९९२) कथाबाट आधुनिक नेपाली कथाको प्रारम्भ भएको हो (गौतम र घिमिरे, २०६८, पृ.३) । ‘शारदा’ पत्रिकाको प्रकाशनपछि आधुनिक नेपाली कथाको सुरुवात भएको हो । यसको विश्लेषणका लागि ऐतिहासिक, राजनीतिक र सांस्कृतिक सम्बन्धलाई आधार बनाउनु उपयुक्त देखिन्छ (श्रेष्ठ, २०५९, पृ. २३) । यी सबै सम्बन्धका आधारका कथाको विकासक्रमको आरेख निर्धारण गर्ने कार्य गरिएको छ । गुरुप्रसाद मैनालीको ‘नासो’ (१९९२) कथाको प्रकाशनबाट प्रारम्भ भएको नेपाली कथाको आधुनिक काल वर्तमान समयसम्म गतिमान रहेको छ । यस अवधिमा नेपाली कथाले विभिन्न मोड तथा प्रतिमोडमा विश्राम लिँदै अगाडि बढेको छ । माध्यमिक कालीन अतिकाल्पनिकता, औपदेशिकता, अतिआदर्शवादिता, शिथिल आख्यान अनि दुर्बल संरचनाकै परिणतिस्वरूप आधुनिक नेपाली कथाले प्रसूत हुने अवसर पाएको हो । आधुनिकताका लागि सुगठित कथानक, जीवन्त चरित्र, पात्रनुकूल भाषा, यथार्थवादी स्वर, सैद्धान्तिक अवधारणाको पालना जस्ता पक्षले महŒवपूर्ण भूमिका निर्वाह गरेका छन्। यिनैआधारभूत मान्यताको पालना गरी कथा लेख्ने कार्य गुरुप्रसाद मैनालीबाट थालनी भएकाले यिनकै कथाबाट आधुनिकताले प्रवेश पाएको हो । आधुनिक नेपाली कथामा विकसित प्रमुख धारा वा मोडहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :


सामाजिक यथार्थवादी धारा 

आधुनिक नेपाली कथाको प्रवर्तन गर्ने महत्वपूर्ण मान्यताका रूपमा सामाजिक यथार्थवादी धारालाई लिइन्छ । प्रारम्भिक चरणमा आदर्शवादबाट अनुप्राणित यथार्थवादको प्रयोग गरिए पनि पछाडि आदर्शवादरहित यथार्थवादको प्रयोग भेट्न सकिन्छ । यस मान्यतालाई नेपाली क्षेत्रमा सफल अवतरण गराउने कार्य गुरुप्रसाद मैनालीबाट भएको हो । नेपाली समाज मूलतः हिन्दुसंस्कृतिबाट प्रभावित भएको र सांस्कृतिक मूल्यले पनि सहिष्णुता, धैर्य, क्षमा, दान परोपकार औदार्य आदिमा अत्यधिक विश्वास गरेको हुँदा यी सबै कुराबाट परेको प्रभावस्वरूप यथार्थवादी नेपाली कथामा आदर्शवादको पुट रहन गएको हो (श्रेष्ठ, २०५९, पृ. २६) । यथार्थवादसँग सम्बन्धित आदर्शवादी मान्यताले लामो समयसम्म प्रभाव जमाउन सकेन । अन्ततः नेपाली कथालेखन परम्परा यथार्थवादमा आएर थेग्रिन पुग्यो । वि.सं. २००० को सेरोफेरोमा यथार्थवाद अझ उत्कृष्ट मान्यताका रूपमा स्थापित हुन पुग्यो । नारीवर्गको दुःखपूर्ण स्थिति, मानिसको स्वार्थपूर्ण व्यवहार, आडम्बरयुक्त रीतिपरम्परा, गरिब वर्गको दुर्नियति आदि नै यस धाराका विषयवस्नु बन्न पुगे (श्रेष्ठ, २०६९ पृ. २६) । २००७ सालको राजनीतिक व्यवस्थामा आएको परिवर्तनले यथार्थवादी धारालाई अझ सशक्त किसिमबाट अगाडि बढाएको भेटिन्छ । सामाजिक यथार्थवादी कथामा विशेषतः पहाडिया ग्रामीण जनजीवनका यथार्थ विविध पक्षलाई बढी देखाइएको पाइन्छ र पछि क्रमशः सहरिया जनजीवन र तराइली जनजीवनका सामाजिक यथार्थका विविध पक्षहरूलाई प्रस्तुत गरिएको पाइन्छ (गौतम र अधिकारी, २०६९, पृ. ५६) । सामाजिक यथार्थवादी धारासँग सम्बन्धित भई कथा रचना गर्ने प्रतिभाको सङ्ख्या उल्लेख्य रहेको देखिन्छ । यस धारामा कलम चलाउने गुरुप्रसाद मैनाली, बालकृष्ण सम, पुष्करशमशेर, इन्द्र सुन्दास, हृदयचन्द्रसिंह प्रधान, पूर्णदास, कृष्णबम मल्ल पूर्णप्रसाद ब्राह्‌मण, भीमनिधि तिवारी, रूपनारायण सिंह, शिवकुमार राई, शङ्कर कोइराला, दौलतविक्रम विष्ट, लीलबहादुर क्षेत्री आदि उल्लेख्य रहेका छन् ।


मनोवैज्ञानिक धारा 

नेपाली कथालेखनको परम्परामा आधुनिकताको जग बसाल्ने कार्य गुरुप्रसाद मैनालीले अगाडि बढाएको सामाजिक यथार्थवादी धारबाट भयो भने आधुनिकतालाई परिपुष्ट तथा सबल बनाउने कार्य मनोवैज्ञानिक धाराबाट हुन पुग्यो । कालगत दृष्टिले हेर्दा सामाजिक यथार्थवादी धारा र मनोवैज्ञानिक धारा समकालीन देखिए पनि विचार र विषयले यी दुई मान्यता फरक बन्न पुगेका छन् । पाश्चात्य जगत्‌मा सिग्मन्ड फ्रायडद्वारा प्रतिपादित मनोविश्लेषणवादी मान्यताका आधारमा विश्वेश्वरप्रसाद कोइरालाले ‘चन्द्रवदन’ (१९९२) प्रकाशन गरेपश्चात् नेपाली साहित्यमा मनोविज्ञानवादको प्रयोग हुन पुगेको हो । कथाको संरचना र रूपविन्यास दुवै क्षेत्रमा पूर्ण आधुनिकता ल्याउने कार्य विश्वेश्वरप्रसाद कोइरालाबाटै भयो(श्रेष्ठ, २०५९, पृ. २७) । कथाकार कोइरालाले रुसी कथाकार एन्तोन चेखव र म्याक्सिम गोर्कीका कथा मान्यताका साथै फ्रायडको यौनमनोविश्लेषणवादी कथा रचना गरी पाश्चात्य कथामान्यतालाई समेत नेपाली कथालेखनको परम्परामा अवतरण गराउन सफल भए मनोविज्ञानवादले नेपाली कथामा आधुनिक मूल्यलाई अझ वजनदार बनाएर एउटा समृद्ध परम्पराको सृजना गरिदियो । नेपाली कथामा पाश्चात्य प्रभावलाई भिœयाएर आधुनिकताको परिमितिलाई धेरै फराकिलो पनि तुल्याइदियो (श्रेष्ठ, २०५९, पृ. २७) । आधुनिकतालाई सबल बनाउने कार्य कोइरालाको कथात्मक उदयपश्चात्‌हुन पुगेको छ । मनोविज्ञानका विभिन्न शाखाहरूमध्ये मूलतः यौनमनोविज्ञान, बालमनोविज्ञान, अपराध मनोविज्ञान, सामान्य मनोविज्ञान, नारी मनोविज्ञानजस्ता मान्यतालाई आधार बनाएर कथा लेख्ने पद्धति मौलाएर गएको पाइन्छ । कथावस्तुलाई भन्दा चरित्रलाई मुख्य मानेर कथा रचना गर्ने पद्धति मनोवैज्ञानिक धारामा भेटिन्छ । सामान्य र असामान्य मनोविज्ञान, यौनमनोविज्ञान, अपराध मनोविज्ञान, नारी मनोविज्ञान आदि विविध मनोविज्ञानको अध्ययन, मान्छेको अचेतन मनको विश्लेषण, मान्छेको दमित कुष्ठाको अभिव्यक्ति, मान्छेका चेतन, अवचेतन र अचेतन मनको चित्रण, मान्छेको मनोरचनाको विश्लेषण, मान्छेभित्रका इद र अहम् वृत्तिका मूल्यका बिचको द्वन्द्व, मान्छेका मनोवैज्ञानिक रहस्यको उद्घाटन आदि प्रवृत्तिहरू मनोवैज्ञानिक यथार्थवादी धाराका कथामा पाइने प्रमुख विशेषता हुन् (गौतम र अधिकारी, २०६९, पृ. ८०) । यस धारामा आबद्ध भई कथा लेख्ने कथाकार विश्वेश्वरप्रसाद कोइराला, भवनी भिक्षु, तरणीप्रसाद कोइराला, गोविन्द गोठाले, विजय मल्ल, केशवलाल कर्माचार्य, देवकुमारी थापा, पोषण पाण्ड,े प्रेमा शाह, पुष्कर लोहनी, मदनमणि दीक्षित, परशु प्रधान, सीता पाण्डे आदि प्रमुख रहेका छन्।


प्रगतिवादी धारा 

आधुनिक नेपाली कथापरम्परामा सामाजिक यथार्थवादी धाराकै पृष्ठभूमिबाट विकसित मान्यतालाई प्रगतिवादका रूपमा चिनिन्छ । कार्लमार्क्सबाट प्रतिपादित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिवादी जीवनदृष्टिबाट सामाजिक संरचना र मानवीय सम्बन्धको व्याख्या गर्ने साहित्यिक धारा प्रगतिवाद हो (गौतम र अधिकारी, २०६९, पृ. ९५) । नेपाली साहित्यमा रमेश विकलले २००६ सालमा ‘गरिब’ शीर्षकको कथा प्रकाशन गरी प्रगतिवादी धाराको प्रवर्तन गर्ने कार्य गरेका हुन्। यो मान्यता नेपाली कथामा कहिले प्रमुख अनि कहिले सहायक हुँदै वर्तमान समयसम्म पनि गतिमान् रहेको छ । २००७ सालमा भएको राजनीतिक परिवर्तनले पनि प्रगतिवादी साहित्यलेखनको पद्दतिलाई मद्दत गरेको भेटिन्छ । श्यामप्रसाद शर्माले नख्खु जेलभित्रै जनसाहित्य मण्डल खोलेर प्रगतिशील साहित्यलाई नेपाली वाङ्मयमा प्रतिष्ठित गर्ने प्रयास गरेका थिए । यसै सन्दर्भमा जनयुग (२००९) जनविकास (२०१०), जनसाहित्य (२०११), साहित्य (२०१६) जस्ता पत्रपत्रिका प्रकाशन भए भने अर्कातिर विभिन्न संस्था र प्रकाशन माध्यमहरू पनि खोलिए (श्रेष्ठ, २०५९, पृ. २८) । साहित्यसृजना तथा पत्रपत्रिका प्रकाशन अनि नयाँ व्यावस्थाको स्थापनाका लागि राजनीतिसँग नजिक सम्बन्ध राख्दै प्रगतिवादी दृष्टिकोण अगाडि बढेको देखिन्छ । समाजमा विद्यमान असमानताका भन्डाफोर गरी समानतामूलक समाजको परिकल्पना गर्ने प्रगतिवादी कथामा मार्क्सवादी रुढता र कट्टरतालाई बढी स्वीकार गारिएको हुनाले राजनीतिक वैचारिक चेतना तीव्र भई कलात्मक मूल्य क्षीण हुन पुगेको देखिन्छ । यस चरणका कथामा मार्क्सवादी वैचारिक प्रतिबद्धता, वर्गीय चेतना, आर्थिक असमानता, वर्गीय द्वन्द्व, अन्याय, अत्याचार, शोषण र दमनको विरोध, विपन्न वर्गप्रतिको सहानुभूति, क्रान्ति र विद्रोही चेतना आदि विशेषताहरू प्राप्त गर्न सकिन्छ (गौतम र अधिकारी, २०६९, पृ. ९५) । यस धारामा आबद्ध भई कथा रचना गर्ने उल्लेख्य कथाकारहरू रमेश विकल, हृदयचन्द्रसिंह प्रधान, भवानी घिमिरे, चूडामणि रेग्मी, डी.पी. अधिकारी, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, खगेन्द्र सङ्ग्रौला, राजव, हरिहर खनाल, ऋषिराम बराल, इस्माली, विजय चालिसे, नारायण ढकाल, पूर्णविराम, पुण्यप्रसाद खरेल, कृष्णप्रसाद सर्वहारा, घनश्याम ढकाल, राममणि ढुङ्गेल, कपिल लामिछाने आदि प्रसिद्ध रहेका छन्।


नवचेतनावादी वा प्रयोगवादी धारा 

आधुनिक नेपाली कथालेखनको इतिहासमा सामाजिक यथार्थवादी धारा, मनोवैज्ञानिक धारा, प्रगतिवादी धारा पछाडि विकसित भएको नवीन मान्यतालाई नवचेतनावादी धाराका रूपमा परिभाषित गरिएको छ । परम्पराले निर्धारण गरेको मार्गभन्दा छुट्टै मार्ग निर्माण गरी इतिहासभन्दा नयाँ पथबाट साहित्यको रचना गर्न चाहने स्रष्टाहरूको सक्रिय सहभागितामा नवचेतनावादी धाराको स्थापना भएको हो । २०२० को दशकमा परम्परा विरोधी साहित्यिक आन्दोलनहरू यथेष्ट मात्रामा मच्चिएः जसको आग्रह थियो नयाँ परम्पराको स्थापनाद्वारा नेपाली कथा साहित्यको कायापलट गर्ने । नभन्दै आधुनिकताको नयाँ आयाममा नेपाली कथाहरूको आकृति बदलियो, नयाँ मान्यता फेरियो र नयाँ परिभाषामा कथाहरूलाई हेरियो (श्रेष्ठ, २०५९, पृ. २९) । नेपाली कथामा चल्दै आएको परम्परित मूल्य र मान्यता यस धारामा आइपुग्दा खण्डित भएको हुन पुग्यो । इन्द्रबहादुर राई अनि धु्रवचन्द्र गौतमका नवीन प्रवृत्ति र नवीन शैलीका कथाहरूबाट नै नवचेतनावादले गति प्राप्त गरेको हो । नवचेतनावादले आधुनिक नेपाली कथालेखनका क्षेत्रमा नयाँ मूल्य स्थापित गरिदिएको छ । नवचेतनावादलाई आधुनिक नेपाली कथाको नवलेखनका रूपमा पनि व्याख्या गरिएको छ र अन्तर्वस्तु तथा भाषाशैलीमा समेत नवप्रयोगको आग्रहलाई अङ्गीकार गरिएकाले प्रयोगवादी धाराका रूपमा पनि यो धारा परिचित छ (गौतम र अधिकारी, २०६९, पृ. ११०) । नवचेतनावादी धारालाई अझ सशक्त बनाउने कार्य आयामेली आन्दोलन (२०२०), राल्फा आन्दोलन (२०२३), अस्वीकृत जमात (२०२६), अमलेख (२०२७), योङ्ग राइटर्स फ्रन्ट (२०३१), बुटपालिस (२०३१) जस्ता साहित्यिक आन्दोलनले पनि गरेका छन् । 


नवचेतनावादी धारामा प्रयोगवाद विसङ्गतिवाद, अतियथार्थवाद, अस्तित्ववाद, शून्यवादता आदि पाश्चात्य साहित्यमा विकसित वादहरूको एकल तथा मिश्रित प्रयोगले कथाको नयाँस्वरूप निर्माणमा महङ्खवपूर्ण भूमिका निर्वाह गरेका छन् । नवचेतनावादी धाराका कथाले एकातिर सामाजिक, आर्थिक, राजनीतिक आदिका परिवृत्तमा रहेर युगीन यथार्थलाई अभिव्यञ्जित गरेका छन् भने अर्कातिर पात्रका अन्तर्मनको यथार्थको उद्घाटनबाट मानवीय मनोरचनालाई पनि देखाएका छन् । यस चरणका कथामा परम्परित सामाजिक एवम् नैतिक मूल्यप्रति विद्रोह र मान्छेभित्रका हीनताग्रन्थिको अभिव्यक्ति, मान्छेका नैतिक, अनैतिक, सुन्दर, असुन्दर सबै पक्षको चित्रण पाइन्छ । मान्छेभित्रका नीचता क्रूरता, यौनदुराचारी प्रवृत्ति, सहरिया जीवनका कुरूपता, यौनको प्रकृतवादी प्रयोग कथ्य र शिल्पमा नयाँ प्रयोग आदि यस धाराका प्रमुख विशेषता हुन्‌(गौतम र अधिकारी, २०६९, पृ. ११०) । यस धारामा कथा लेख्ने मुख्य कथाकारहरू शङ्कर लामिछाने, इन्द्रबहादुर राई, मोहनराज शर्मा, मनु ब्राजाकी, धु्रवचन्द्र गौतम, विश्वम्भर चञ्चल, मुरारी अधिकारी, पारिजात, नरेन्द्रराज शर्मा, भाउपन्थी, जगदीश घिमिरे, पद्मावती सिंह, खगेन्द्र सङ्ग्रौला, हरि मञ्जुश्री, भागीरथी श्रेष्ठ, मञ्जु काँचुली, अनिता तुलाधर, देवीप्रसाद सुवेदी, तुलसी भट्टराई, रमेश गोर्खाली, माया ठकुरी, सरुभक्त, धु्रव मधिकर्मी, जैनेन्द्र जीवन, वनमाली निराकार, भुवन ढुङ्गाना, प्रदीप नेपाल, सन्तोष भट्टराई अविनाश श्रेष्ठ, धु्रव सापकोटा, कविताराम श्रेष्ठ, अशेष मल्ल, इन्दिरा प्रसाई, गोरखबहादुर सिंह प्रमुख रहेका छन्। 

बाँकी भाग अर्को अङ्कमा

साभारः
A Peer Reviewed Yagyodaya Journal Vol. 2, Issue 1, May 2024


--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment