Thursday, February 27, 2025

लेख (अङ्क २१ मा प्रकाशित)


 गत अङ्कको बाँकी भाग

- उप्र पा. डा. प्रेमप्रसाद तिवारी

नेपाली कथाको समसामयिक धाराको प्रारम्भ २०३६ सालपछि प्रारम्भ हुन्छ । समसामायिक शब्दले अहिले समयको, हालसालको वा वर्तमान कालको भन्ने आशय बुझाउँछ (अधिकारी र भट्टराई, २०६०, पृ. ९७७) । कथालेखनको सबैभन्दा पछिल्लो चरणमा विकसित भएको मान्यता नै समसामयिक धारा हो । समसामयिक धारा कुनै एउटा व्यक्तिको रचनाबाट प्रभावित नभई समूहिक रचनाबाट प्रभावित भएको चरण हो । नवचेतनावादी धारापछि आधुनिक नेपाली कथामा पूर्ववर्ती प्रयोगवादी शैलीमा केही परिवर्तन आई कथाको कथ्य, विषय, स्वरूप र शैलीशिल्पमा समेत विविधता देखिएकाले वि.सं. २०३६ यताका नेपाली कथा केही पृथक् पहिचानका साथ अगाडि बढेकाले यस अवधिलाई समसामयिक वा उत्तरवर्ती चरण मान्नु उपयुक्त देखिन्छ (गौतम र अधिकारी, २०६९, पृ. १६४) । प्रयोगवादी वा नवचेतनावादी धाराले कथाविधामा जटिलता ल्याई पाठक र लेखकको सम्बन्ध विच्छेद गरेको अवस्थामा सम्प्रेषण शून्यतालाई चिर्दै समसामयिक धाराको स्थापना भएको हो । सम्प्रेषणीयताको पुनः प्रत्यावर्तन गर्ने प्रयास समयासामयिक धारामा गरिए पनि २०२० सालभन्दा अगाडिको कथाको सहजतालाई भेट्टाउन सकेको देखिँदैन । २०३६ सालमा चलेको सडक कविता क्रान्तिबाट यस धाराले प्रशस्त आधार ग्रहण गरेको छ । शैलीगत विविधता अनि विषयगत विधिताले कविताजत्तिकै सरल संरचना कथाले प्राप्त गर्न सकेको छैन । २०३६ सालको पृष्ठभूमिबाट क्रमशः विकसित हुँदै आएका राजनीतिक घटनावलीको परिदृश्यबाट कथाको विषयवस्तु पनि निर्देशित अनि नियन्त्रित हुँदै आएको देखिन्छ । यस अवधिमा स्वैरकल्पना र विसङ्गतिवादको व्यापक चाहनामा कथाकारहरू सक्रिय रहे भने अर्कातर्फ आफ्नै क्षेत्रीय परिवेशभित्रका स्थानीय गुणहरूको खोजी गरेर ती कथाकारहरूले राष्ट्रिय संस्कृतितर्फको मोहलाई जनाए (श्रेष्ठ, २०५९, पृ.३१) । अन्तराष्ट्रिय परिवेश तथा नेपाली राजनीतिक सन्दर्भको आडमा कथावस्तु निर्माण गरी कथाको संरचना तयार पार्ने कार्यमा कथाकारहरू सक्रियताका साथ लागेको देखिन्छ । २०३६ सालपछि विकसित भएका राजनीतिक घटनाक्रमलाई मुख्य आधार बनाएर अध्ययन गर्दा समसामयिक धारा निम्न उपमोड विकसित हुन पुगेको देखिन्छ :

पहिलो उपमोड (२०३६ — २०४६)
दोस्रो उपमोड (२०४७ — २०५२/५३)
तेस्रो उपमोड (२०५४ — २०६२/०६३)

पहिलो मोडमा स्वतन्त्रताको प्रकटीकरण, व्यङ्ग्यात्मकता, प्रतीकात्मकता आञ्चलिकता, ठोस कथाको बाहुल्य, यौनमूलकता, आशावादी दृष्टिकोण, भाषामा संवेदनशीलता र सम्प्रेषणीयता पाइन्छ भने २०४७ पश्चात्‌का कथामा स्वतन्त्रता पीडा, विकृतिप्रति आक्रोश, शैलीमा ठाडोपन, मार्क्सवादी धु्रवीयता, अन्तर्मुखीपन तरल कथाको पुनस्थापना, अर्थबहुलताको प्रवेश, निराशवादी जीवन दृष्टि र भाषामा निरसता पाइन्छ । २०६० को दशकका कथामा माओवादी सशस्त्र विद्रोहका कारण उत्पन्न अभिधातका पीडाहरू पनि कथानकका रूपमा प्रस्तुत भएका छन् । नेपाली कथाको २०३६ देखि वर्तमानसम्मको अवस्थाको नेपाली समाज, राजनीति, सत्ता परिवर्तन अनि देशमा फैलिएको द्वन्द्वको अवस्थालाई मुख्य विषयका रूपमा प्रस्तुत गरिएको छ । यस अवधिमा कथा लेख्ने कथाकारहरू राजेन्द्र पराजुली, गोविन्द गिरी प्रेरणा, महेशविक्रम शाह, सुशीला देउजा, रामप्रसाद पन्त, विवश पोखरेल, आमोद भट्टराई, इन्द्रकुमार श्रेष्ठ, नवराज रिजाल, नयनराज पाण्डे, बाबुराम लामिछाने, इल्या भट्टराई, पुष्पलता आचार्य, मातृका पोखरेल, ललिता दोषी, रेवती राजभण्डारी, रोशन थापा ‘नीरव’, राजकुमार थापा, कमला स्वरूप, साधना प्रतीक्षा, कुमार नगरकोटी, सीताराम कोइराला, विवश वस्ती, सुस्मिता नेपाल, मणि लोहनी, ममता शर्मा नेपाल, सुविसुधा आचार्य, नवीन विभास, रत्नमणि नेपाल, अमर न्यौपाने, शर्मिला खड्का, जलेश्वरी श्रेष्ठ, हरिमाया भेटवाल, उत्तमकृष्ण मजगैया, घनश्याम शर्मा, नीमल कार्की, दिव्य गिरी, जया राई, फूलमान बल आदि सक्रिय रहेका छन् । वि.सं. २०४० को दशकमा आइपुग्दा नेपाली कथालेखनको परम्पराले नेपाली समाजलाई मात्र केन्द्र नबनाई विश्वसन्दर्भसँग हातेमालो गर्न पुगेको छ । विश्वसाहित्यमा विकसित भएका नवीन वाद, तथा मान्यतामा नेपाली कथालेखनको प्रवाह जोडिन पुगेको पाइन्छ । अन्तर्राष्ट्रिय सन्दर्भ र राष्ट्रिय अस्मिता अनि संस्कृतितर्फको मोहका कारणले नयाँ बाटो निर्माण गरी कथा अगाडि बढ्न थालेको पाइन्छ । यही अवधिमा डायस्पोरिक साहित्य लेखन अगाडि बढेको पाइन्छ । डायस्पोरिक साहित्यको परिर्चा नेपालमा २०६० सालपछि मात्र सुरु भएको देखिन्छ (एटम, २०७०, पृ.१५७) । लेखकको लेखनी कुनै एउटा वादसँग मात्र सम्बन्धित नरही बहुल विचार र वादसँग जोडिएकाले नेपाली कथाको यस अवस्थालाई बहुलवादी चरण अर्थात् उत्तरआधुनिकतावादी चरणका रूपमा पनि परिभाषित गरिएको छ । पूर्ववर्ती सामाजिक यथार्थवादी प्रवृत्ति बढी युगीन यथार्थपरक स्वैरकाल्पनिक र अधियथार्थपरक भएर अभिव्यक्त हुनु, यौनमनोविज्ञान बढी प्रकृतवादी भएर देखा पर्नु, समाजवादी यथार्थवादी वा प्रगतिवादी प्रवृत्तिका कथामा मार्क्सवादी रुढता न्यून हुँदै गई प्रयोगशीलता देखिनु, अकथात्मक, विनिर्मित र चेतनप्रवाह शैलीका कथाहरूको प्रयोग बढ्दै जानु, प्रविधि संस्कृतिको प्रभाव र प्रयोग देखिनु, कथामा बहिर्मुखीपन बढी देखिनु, प्रयोगवादी धाराका कथामा तुलनामा अकथात्मकता न्यून भई कथात्मकता बढी देखिए पनि ती व्यक्तिकेन्द्रीभन्दा बढी समाजकेन्द्री देखिनु, कथामा तरलता न्यून हुँदै जानु, बहुअर्थका सम्भावनाहरू देखिनु आदि उत्तरआधुनिक बहुलवादी प्रवृत्तिका नेपाली काथका विशेषताहरू हुन् (गौतम र अधिकारी, २०६९, पृ. २५१) । अशेष मल्ल, अभय श्रेष्ठ, किशोर पहाडी, अनमोलमणि, अविनाश श्रेष्ठ, आमोद भट्टराई, इन्द्रबहादुर राई, इन्दिरा प्रसाई, कृष्ण धरावासी, किसन थापा अधीर, कुमार नगरकोटी, गोपाल पराजुली, जया राई, ध्रुवचन्द गौतम, पद्मावती सिंह, परशुप्रधान, मोहनराज शर्मा, भाउपन्थी, राजव, शैलेन्द्र साकार, विश्वम्भर चञ्चल, विजय चालिसे, सरुभक्त, होमनाथ सुवेदी आदि यस चरणमा सक्रिय रूपमा कथा लेख्ने कथाकार हुन् ।


निष्कर्ष 

आधुनिक नेपाली कथाका यात्रा गुरुप्रसाद मैनाली (‘नासो’ : १९९२, ‘शारदा’) को कथाबाट यात्रारत भई वर्तमान समयसम्म आइपुगेको छ । आठ दशक लामो यात्रा तय गर्ने क्रममा नेपाली कथामा विभिन्न किसिमका उतार चढाव आए । कल्पनाको आकाशमा रमाउने माध्यमिक कालीन कथालेखनको धारबाट विमुख हुँदै यथार्थ अवस्थामा अवतरण गरेपश्चात् सामाजिक यथार्थवादी धाराको विकास हुन पुगेको हो । सामाजिक यथार्थवादी धाराको समकालिक धाराका रूपमा विकसित मनोविश्लेषणवादी धाराले पाश्चात्य शिल्प र ढाँचाका कथालेखन गरी आधुनिक नेपाली कथालाई परिपुष्ट आकार प्रदान गर्ने कार्य गरेको छ । रमेश विकलको कथात्मक उदय सँगसँगै जन्मिएको प्रगतिवादी धाराबाट आधुनिक नेपाली कथाले प्रशस्त वैचारिक शक्तिग्रहण गरेको छ । नवचेतनावादको अवस्थामा आइपुग्दा त आधुनिक नेपाली कथाले विषय र संरचना अर्थात्‌संरचना र रूपविन्यास दुवैमा नयाँ कलेवर प्राप्त गरेको छ । परम्परित कथालेखनको पद्धतिसँग असहमति जनाउँदै नयाँ ढाँचाको अन्वेषण गरी कथा लेख्ने कार्यमा यस चरणका कथाकारहरू सक्रिय रूपमा सहभागी भएका छन्। २०३६ सालमा भएको रानीतिक परिवर्तन अनि साहित्यक चिन्तनलाई लक्षित गर्दै प्रारम्भ गरिएका साहित्यिक आन्दोलनहरूकै जगमा नेपाली कथा समसामयिक तथा उत्तरवर्ती चरणमा प्रवेश गर्न सफल भएको छ । २०४० को दशकपछि देशमा देखिएका राजनीतिक परिवर्तन अनि पाश्चात्य साहित्यमा प्रचलित विभिन्न मान्यता तथा वादको एकीकृत प्रयोगको प्रभावबाट उत्तरआधुनिकतावाद अर्थात्‌बहुलवादी अवस्थामा नेपाली कथा प्रवेश गर्न सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशलाई आत्सात्‌गर्दै बहुलवादी अवारणाको उपयोग गरी नेपाली कथा वर्तमान अवस्थामा आइपुगेको छ ।

साभारः A Peer Reviewed Yagyodaya Journal Vol. 2, Issue 1, May 2024


---------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment