Thursday, February 27, 2025

लेख (अङ्क २१ मा प्रकाशित)


 - मोहनराज शर्मा

साहित्यका चार वटा मूल विधामध्ये एउटा आख्यान हो । आख्यानका तिन वटा उपविधा वा भेद छन्, जसमध्ये एउटा उपन्यास, अर्को कथा र तेस्रो लघुकथा हो । बाह्य संरचना एवं आकारमा उपन्यास बृहत्तम आख्यान, कथा मझौला आख्यान र लघुकथा लघुतम आख्यान हुन्छ । आख्यान भएकाले यी तिन वटैमा घटना हुन्छन्, तर बृहत् भएकाले उपन्यासमा जति पनि घटना रहनसक्छ भने मझौला भएकाले कथामा केही मात्र घटना र लघु भएकाले लघुकथामा दुईतिन स्वतन्त्र घटना मात्र रहनसक्छन् । आकार सानो ठुलो भए पनि यी तिनै समान रुपमा पूर्ण र स्वनिष्ठ हुन्छन् । ’पूर्ण’ हुनु भनेको आदि, मध्य र अन्त्य भाग हुनु र ’स्वनिष्ठ’ भनेको आफैंमा उभिनु हो ।

लघुकथा केवल एक पङ्क्तिको पनि हुनसक्छ तापनि यो सामन्यतः ५०० शब्दका वरपर रहनु उपयुक्त देखिन्छ । यसले १००० शब्द नाघ्दा कथाको संरचनामा प्रवेश गर्ने र ५०० शब्दभन्दा निकै सानो हुँदा चुटकिला बन्ने जोखिम रहन्छ । मेरा विचारमा कुनै रचना ३०० अथवा ५०० अथवा १००० शब्दको भएर मात्रै लघुकथा हुँदैन, त्यसमा उपर्युक्त आकार (शब्दसङ्ख्या) का साथै निम्नलिखित लक्षणहरू पनि हुन आवश्यक छ :

(१) लघुकथा आख्यानको एउटा भेद भएकाले यो अनिवार्यतः ’कथात्मक’ अर्थात् घटनात्मक हुन्छ । लघुकथा लेख्नाका लागि चयन गरिएको कथावस्तु वास्तविक वा काल्पनिक घटना, पात्र र परिवेश हुनसक्छ ।

(२) लघुकथा आफै आरम्भ हुँदैन, यसलाई कहीँबाट आरम्भ गर्नु पर्छ । अनि यो आफै टुङ्गिदैन, यसलाई कहीँ पुर्याएर टुङ्ग्याउनु पर्छ । यसको तात्पर्य के हो भने लघुकथा ’निर्मिति अर्थात् निश्चित आदि र अन्त्यका साथ बनाइएको वस्तु’ हो ।

(३) यसमा ’न्यूनतम कथानक’ हुन्छ । कम्तीमा दुईवटा ’स्वतन्त्र घटना’ भएको कथानकलाई न्यूनतम कथानक मानिन्छ । प्रत्येक स्वतन्त्र घटनाभित्र जति पनि’ आश्रित घटना’ रहन सक्छन्, तर लघुकथा लघु रचना भएकाले यसमा कमभन्दा कम आश्रित घटना हुनु पर्छ ।

(४) न्यूनतम भएर पनि यो 'पूर्ण’ हुन्छ । पूर्ण भनेको लघुकथामा उठाइएको मूल प्रश्न अन्ततः अनुत्तरित रहनु हुँदैन ।

(५) उपन्यास र कथाझैँ लघुकथाले पनि ’कथापथको एक फन्को मार्नै पर्छ । ’आरम्भ>विकास>चरम>ह्रास> समापन’को चक्रलाई कथापथ भनिन्छ । लघुकथाले तीव्र गतिमा दौडेर यो फन्को लगाउनु पर्छ । फन्को क्रमिक वा व्यतिक्रमिक हुनसक्छ ।

साथै लघुकथाका सन्दर्भमा पनि कथ्य, भाव, भाषा, शैली, समसामयिकता, मार्मिकता, सौन्दर्यबोध, सार्थकता, प्रयोजन, उद्देश्य, दृष्टिकोण, विचारधारा, सन्देश आदिका कुरा पनि उत्तिकै महत्वपूर्ण रुपमा आउँछन् ।

---------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment