तीन वर्ष अगाडि संसारमा कोरोनाको महामारी प्रकोप फैलिंदा नरेश पनि अछुतो रहन सकेन । उसलाई च्यापिहाल्यो । पहिला पहिला भए हामी साथीहरूमध्ये कसैलाई रुघासम्म लाग्यो भने पनि एकले एक अर्काको चिन्ता लिइन्थ्यो । घरमा भए घरमा अस्पतालमा भए अस्पताल मै गएर हेर्न गइन्थ्यो । हामीहरू एउटै टोलका । स्कूल पनि सँगै पढेका । एस एल सी पछिमात्रै कलेज क्याम्पस छुट्टाछुट्टै हुन थाले । पछि हुँदै गए पछि बसाईं पनि छुट्टाछुट्टै ठाउँमा सर्नु पर्यो । असनमा बस्ने हामी पछि कोही धापासी बस्न गए कोही इमाडोल । कोही बुढानिलकण्ठ कोही कहाँ ? कोही कोही त आफ्ना छोरा छोरीले बोलायो भनेर अमेरिका, अष्ट्रेलिया पनि गए । म भने असनरुपी कुवाको भ्यागुतो असनको असन मै । नरेश त टाढा भनेर त्यति टाढा पनि बस्न गएको हैन, त्यहीं नक्साल मै हो । नन्दिकेश्वर मन्दिरको नजिकै हो । तर खासै टाढा नहुँदा पनि नरेशलाई कोरोना हुँदा भेट्न जान सकिंन । कोरोनाको बेला मान्छे देखेर मान्छे नै तर्सिनु पर्ने बेला थियो । त्यसमाथि पनि लकडाउन । चाहेर पनि मैले नरेशलाई भेट्न जान पाइन । मनमा खुल्दुली त छँदै थियो । नरेशलाई भेट्न आतुर पनि थिएँ । मैले यही मनको बह फोन मार्फत नरेशलाई पोखें । मेरो कुरा सुनेर नरेश भावुक भए जस्तो महसुस भयो । उसले जवाफ फर्काउन समय लगायो । उसको असहजता अनुभूति गर्दै मैले नै सोधें, "किन के भो ? ज्यादै गार्हो छ कि के हो ?”
"मलाई कोरोनाले च्यापेको छ । गार्हो त हुने भइहाल्यो नि । तर तिमीले मसँग भेट्ने इच्छा गर्दा पुरानो दिन सम्झना आयो । भेट्न पाए हुन्थ्यो जस्तो लाग्यो । पहिला पहिला यसरी सन्चो नहुँदा साथी ईष्टमित्रहरू भेट्न आउँदा रोग नै आधी निको भए जस्तो हुन्थ्यो । तर अहिले तिमीलाई आउन त आउ भेटौं भनेर मन खोलेर भन्न सकिंन । त्यसैले मन रोयो ।” उसले कुरा नलुकाइ भने ।
"मन रुवाउनु पर्दैन । म आइहाल्छु नि ?” मैले मनको कुरा राखें ।
"भनिहालें नि तिमीसित भेट्न पाए हुन्थ्यो जस्तो त लाग्छ छ तर हाम्रो टोलमा यहाँ कोरानाको त्रासले गर्दा कोही पनि अपरिचित र असम्बन्धित मान्छे टोलमा प्रवेश निषेध भनेर सूचना टाँस गरिएको छ । त्यसैले !” नरेशको कुरा सुनेर मैले मन मारेरै भए पनि उसलाई भेट्न जाने विचार त्यागें । अनि सामाजिक सन्जालको सहारा लिएर उसको सुस्वास्थ्यको कामना गरें । एउटा सामाजिक सन्जालको भित्तामा लेखें “गेट वेल सुन्”
समय बित्दै गयो । यसपालि मलाई डेंगीले समात्यो । ज्वरो आएको आयै । जिउ खत्राकखुत्रुकै गल्यो । अइया अइया भनेर खाटमा बसेर कराएको करायै छु । धेरै दिन भयो यसरी वेदनाले छटपटाइ रहेको तर मलाई हेर्न भेट्न चरा मुसा कोही पनि आएको हैन । अरु आए न आए पनि नरेश त आउला नि भन्ने ठूलो आश थियो । उ पनि आएन । मेरो मन मानेन । मैले मोबाइल उठाएँ । उसलाई फोन गरें । आफु बिरामी परेको कुरा सुनाएँ अनि उसित एकपटक भेट्न चाहेको इच्छा पनि पोखें ।
"डेंगी भएको छ । राम्ररी उपचार गराइराखेकै छौ होला । यस्मा त टन्न तागतिलो खानेकुरा खाईरहनु पर्छ रे । खानु है ।” उसको कुरालाई काटेर मैले उसलाई एकपटक मकहाँ आउन गरेको आग्रहको उत्तरमा उसले , “आउन त मन छ नि ! तर के गर्ने यहाँ मेरो छोराबुहारीले यो बुढ्यौली उमेरमा यताउता हिंड्न हुँदैन भनेर भन्या छ । त्यसेैले आउन सकिंन है । राम्ररी ख्याल गरेस् । गेट वेल सुन् !”
नरेशको कुरा सुनेर म झसंग भएँ । उसलाई कोरोना हुँदाको समय सोचें । अहिले त कोही मान्छे मर्यो भने सामाजिक सन्जालमा रेष्ट इन पीस र कोही बिरामी पर्यो भने गेट वेल सुन् लेखिदिए पुग्ने रहेछ । गेट वेल सुन् ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment