Monday, April 28, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


"चैते दशैँ आउँदै छ । घर खर्च पनि सिद्धिएको छ । बुहारी गेलनमा घ्यू कति सङ्गल्यो ?’’ – दामोदरले कान्तिलाई सोधे ।

“त्यही आठ दश केजी होला बाबा ?’’ –कान्तिले अड्कल लगाई ।

“एउटा खसी पाठो छ यो घ्यू लिएर बजार बेच्नु पाए अहिलेको सङ्कट पार लाग्थ्यो । बहुरी बले र तिमी भएर घ्यू र खसी लिएर जाऊ है । अहिल्यै गयौ भने साँझसम्म आइपुग्छौ ढिला नगर । आउँदा यो समान पनि लिएर आए ।’’ –दामोदरले एउटा लिष्ट थमाउँदै अह्राए ।

कान्ति र उसको लोग्ने बले घ्यू बोकेर खसी डोर्‍याउँदै बजार जान हिंडे । साढे एक घन्टा पैदल हिंडेर बजार पुगे ।

“ए भाइ ! खसी बेच्ने हो ?’’ बजारको व्यपारीले सोध्यो ।
“हजुर बेच्ने हो । किन्नुहुन्छ ?’’ बलेले प्रश्न गर्यो ।
“अलि दुब्लाएको रहेछ । दिन्छौ सात सय रूपिँया किलो । देखाजाला’’ –व्यापारीले खसीतिर हेर्दै भन्यो ।

“आठ सय रूपियाँ किलो त गाउँमै बिक्छ । उताबाट यहाँ ल्याएको के फाइदा ?’’ –कान्तिले निधार खुम्चाउँदै भनी ।
“गाउँमा पैसा धैरै आउँछ भने उतै लैजाऊ, हामीले त सात सयभन्दा दिंदैनौँ ।’’ –व्यापारीले भन्यो ।
“बट्टामाको घ्यू हो ?’’ –नजिकै उभेको अर्को व्यापारीले सोध्यो ।
“हजुर हो ।’’ सटीकमा भनी ।
“बिक्री गर्ने हो की खसी जस्तै देखाउन ल्याएको ?’’ – उसले ठट्टाको शैलीमा भन्यो । 

“बेच्ने हो हजुर खसी पनि बेच्ने नै हो ।’’
“देखाउ त घ्यू कस्तो छ ?’’ – साहुनी कचौरा लिएर आई ।
“खै त कस्तो छ घ्यू ?’’ अर्की पनि कचौरा लिएर आई ।
“घ्यू राम्रै गरी खराएको छैन के लिन्छौं हामी नौ सयको हिसाबले दिएपछि लिन्छौ ।’’ –व्यापारीहरूले एकमुष्ट भने ।

“बाह्र सय त गाउँमै बिक्छ ।’’ –कान्तिले बलेसँग भनी ।
“बाह्रमा बिक्छ भने उतै लैजाउ । हामीले त नौँ सय केजी घ्यू सात सय केजी खसी पाए लिन्छौँ नत्र लिंदैनौँ ।’’ –त्यहाँ उभिएका व्यापारीले भने ।
“के गरौँ फर्काउने कि बेच्ने ?’’ –बलेले कान्तिसँग सोध्यो ।
“उता नबिकेर हो बाबाले पठाएको त ।’’ –कान्तिले भनि ।

“बाबालाई फोन मिलाउँ त !’’ – मिलाई रहेकी छु मिल्दैन सायद नेटवर्कले काम गरेको छैन् गाउँमा ।’’ –कान्तिले भनी ।

“घ्यू हजार, खसी आठ सय दिए दिन्छौं नत्र फिर्ता लिएर जान्छौँ ।’’ –कान्तिले भनी र अगाडी बढी ।
“सुन त, साढे सात खसी र साढे नौमा घ्यू दिनेभए देऊ नदिने भने जाऊ ।’’ – व्यापारीले कुरा टुङ्गायो ।

“दिउँ कान्ति समान पनि लिएर जानु छ ।’’ –बलेले कान्तिलाई भन्यो । यसरी व्यापारीले तोकेकै मूल्यमा घ्यू र खसी दिएर फर्किए ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment