"सधैँको जस्तो आज किन तपाईं खुशी हुनुहुन्न ?’’ उसले भन्यो ।
“खै“? किन किन आज अलि निराश छु ।’’ उनले सानो स्वरमा भनिन् ।
गड्याङ गुडुङ मेघगर्जनका साथ पानी परिरहेको थियो । बाहिर आकाशले तस्वीरहरू कैद गर्दै थियो । तर उनी बिहानैदेखि चिन्तित थिइन् ।
“मेरो बारेमा धेरै नसोच्नु है, आफ्नो पनि ख्याल राख्नु’’ उनलाई सम्झाउँदै थियो ।
“मैले कति पटक लात्तीले हाने होला, यताउता घुम्दा नि अइया’’ भनेको आवाज आउँथ्यो । मनमनै भन्दै थियो ऊ ।
उनलाई अस्पतालमा पुर्याइएको थियो । बेडमा बसेर “मरेँ नि आमा !’’ शब्दले चिच्याउँदै थिइन् । अर्धचेतनामा बर्बराउँदै थिइन्।
“केही हुन्न नडराउ’’ आफ्नो छेउमा बस्ने साथीले आश्वासन दिँदै थिए ।
पीडा भएर छटपटिएको उसले सुनिरहेको थियो । आफैँ अन्योल भएर चारफन्को लगाउँदा नि बाहिर आउन सकेको थिएन ।
“अब यसरी भएन, हामी दुबैजनाले बल गरौँ “केही सिप नलागेर उनलाई भन्दै थियो ।
उनी फेरि चिच्याइन, चिच्याईले अस्पतालको लेबर रूममा प्रतिध्वनि फ्याँकिरहेको थियो । लामो जमर्को पछि एकछिनमा ऊ बाहिर आयो ।
नर्सले उसलाई आमाको छातीमा टसाँइदिइन् । पीडाभन्दा पनि धेरै खुसी उनको मुहारमा छायो । छातीमा टाँसेर राखेको बालकको अनुहार एकोहोरो हेरिरहेकी थिइन् ।
बालक आमाको खुसी देखेर – “आमा म तिम्रो छातीमा अब सुरक्षित छु ।’’ सायद भन्दै थियो ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment