Tuesday, April 29, 2025

लघुकथा (अङ्क २३ मा प्रकाशित)


"ऋतुराज वसन्त आयो, सृष्टि अब रङ्गिलो हुनेभो’’, भन्दै सुरिलो स्वरमा सन्देश फैलाउने निष्पाप सामर्थ्य कोइलीबाहेक कसको छ र ! यस्तै माहोलमा होलीको पर्व । 

“आगोले नपोल्ने वरदान पाएकी ’होलिका’ राक्षसीलाई पापी हिरण्यकशिपुले आफ्नै पुत्र ’प्रह्लाद’लाई मार्न लगाएको हुन्छ । बालक प्रह्लाद विष्णुभक्त भएकाले अग्निको ज्वालामा पनि सकुशल रहेको र होलिका भने पापको पक्षमा रहेकी हुनाले तथा वरदानको दुरुपयोग भएकोले स्वयम अग्निमा भस्म हुन्छे । यसप्रकार पाप र अन्यायप्रति विजयप्राप्त भएकाले आज अर्थात फाल्गुण पूर्णिमाको दिन होली पर्व रिस, द्वेष, अहङ्कार भुलेर हामी सबै शान्ति, एकता र मिलन जीवित राखौँ भन्दै नानारङ्गी अबिर एक अर्कालाई लगाउँछौँ । प्राचीनकालदेखि चलाइआएको परम्परा हो ।’’ जेष्ठ नागरिक मञ्चका एकजना सदस्यले होली खेल्न आएका आफ्नो टोलका पुरुष, महिलाहरूलाई खुसी हुँदै भने ।

त्यसैबेला एउटा डि.आई. वाहनमा करिब २०/२२ जना तरुण युवायुवतीहरू साउन्ड बक्समा नबुझिने गरि घन्किएको धुनमा एक अर्काको शरीरमा ठोकिने गरि उफ्रिँदै गए । टिसर्ट र हाफ पाइन्टमा रहेका यिनीहरूलाई चिन्न मुस्किल छ! अबिर र लोलाको रङ्गले सबै उस्तै देखिन्छन् । हातमा भएको बोतल छिनछिनमा घुट्काउँछन् । यिनीहरूको भव्य आगमनले छेउछाउका पसलेहरू आत्तिएर झ्यालढोका बन्द गर्छन् ।

टोल नजिक शतायु नाघेको पिपलको वृक्षबाट आवाज आयो “को हो…को हो…!’’

हजुरबासँग होली खेल्न आएको सानो बालकले हजुरबालाई सोध्यो “हजुरबा, त्यो चरोले कसलाई भनेको को हो…को हो…?’’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment