आफ्नो दैनिकी जीवनको डायरी लेख्ने क्रममा आफूले भोगेका थुप्रै कथा व्यथाहरू उसले लेखिसकेको छ । जागिरबाट सधैंको लागि अवकाश पाएको दिनको अर्को एउटा डायरी लेख्न उसले शुरु गर्दै थियो । त्यत्तिकैमा, "बाबा अब सुत्ने बेला भयो । राती अबेरसम्म बसेर आफ्नो शरीरलाई कमजोर नबनाउनुहोस् ।’’ भन्दै उसको एक्ली सानी छोरी त्यहाँ आईपुगी । बाबाले पनि हुन्छ छोरी । म केही छिनमै सुतिहाल्छु "बरु तिमी गएर सुत ल…।’’ भनी जवाफ दिए ।
उसले आफ्नो डायरीमा जागीरे कालमा भोगेका थुप्रै सुखदुःखका कुराहरू क्रमशः सम्झदै अनि लेख्दै गयो । उ लेख्दै थियो, “आज मिति २०८१/०८/२५ गते… । लामो समयको अन्तराल पछि म आज पिँजडाबाट मुक्त भएर खुल्ला आकाशमा उडेको स्वतन्त्र पंक्षीतुल्य भएको छु । सुखदुःख, आरोह अवरोह मिहिनेत पसिनासँग मैले धेरै सङ्घर्ष गरेको छु ।’’ उसले आफ्नो लेखाइमा थप्दै गयो, “यो मेरो अवकाश पछिको शेष कालले अबका दिनमा कहाँ पुर्याएर कुन मोडको परिस्थितिमा मलाई धकेलिदिन्छ, त्यो अनिश्चित परिस्थिति हेर्न बाँकी छ ।’’ रात क्रमशः छिप्पिदै गइरहेको थियो… ।
भोलिपल्ट अबेरसम्म पनि बाबा नउठ्नु भएकोले उठाउनु पर्यो भनेर छोरी कोठामा छिरिन् । त्यहाँ बाबाले लेख्नु भएको डायरी देखिन् र पढ्न थालिन् । डायरी पढ्दापढ्दै छोरीको आँखा रसाएर आयो । उनले मनमनै भनिन्, “ओहो… हाम्रो लागि बाबाले धेरै रगत पसिना बगाउनु भएको रहेछ । बाबा, हजुरको यो अमूल्य गुन म छोरीले कसरी चुकाउँ… ।’’ यति भन्दै थाम्न नसकेको आँसु पुछ्दै बाबालाई उठाइन् ।
छोरीको घचघच्याईले उनी ब्युँझिए । छोरीको आँखाभरि आँसु देखेर आतिंदै सोधे, “छोरी तिम्रो आँखामा आँसु… ! के भयो तिमीलाई ?’’ छोरीले आँसु पुछ्दै भनिन्, “बाबा, हजुर महान हुनुहुन्छ ।’’ यसपछि छोरी निशब्द बनिन् । र आफ्नो आँसु पुछ्दै स्नेहका साथ बाबाको अंगालोमा बाँधिइन्… ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment