Wednesday, June 4, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


'बाबु मलाई सहरको यो अँध्यारो कोठामा एक्लै बस्दाबस्दा पट्याइ लागिसक्यो । चिनेजानेका कोही छैनन् । गाउँ सम्झेर नियास्रो मात्र लाग्छ । पिँजडाको मैनाचरीझैं भएर कसरी दिन बिताउने ?’ सहरमा आएको केही दिनपछि आमाले छोरालाई भनिन् ।

'आमा, सहर भनेकै यस्तै हो । गाउँघरजस्तो त कहाँ हुन्छ र ! सहर भनेकै ठूला महलमा सानो मन भएका मान्छेहरू बस्ने ठाउँ हो । गाउँमा पनि तपाईं एक्लै बस्ने हो । यहाँ पनि एक्लै बस्ने । बरू मेरो कुरा मान्नुहुन्छ भने बृद्धाश्रममा जानुस्, त्यहाँ आफूजस्तै मान्छे हुन्छन् । उनीहरूसँग दुःख–सुखका कुरा गर्यो, बस्यो । चाहिने कुराको व्यवस्था म मिलाइहाल्छु । यहाँ उदास दिन बिताउनुभन्दा त्यहाँ गएर खुसी भएर बस्नु जाति ।’ छोराले भन्यो ।

'जहाँ बसे पनि आखिर एक्लो जीवन बिताउने हो । अब कति नै बाँचिएला र ? यो डेरामा छोरा–बुहारी र नाति–नातिनीको निम्ति पनि अप्ठेरो परेकै छ ।’ यही ठानेर आमाले छोराको कुरा स्वीकार गरिन् ।

‘ए रितु दिदी पनि आयौ ?’ बृद्धाश्रमको ढोका छेवैको फलैँचामा बसिरहेकी गीताले भनिन् ।

गीतालाई त्यहाँ देखेर रितु अर्थात् रिता पनि छक्क परिन् । दुवै जना एकै गाउँका दिदी बहिनी थिए । माइत जाँदा कहिलेकाहिँ भेट हुन्थ्यो दुवै जनाको । तर धेरै वर्ष भइसकेको थियो दुवैको भेट नभएको । गीता पहिलेदेखि नै रीतालाई रितु दिदी भन्ने गर्थिन् ।

‘गीता, ईश्वरले हामीलाई यहाँ पनि भेट गरायो ।’ रिताले यति भन्दै गीतालाई अँगालो हालिन् र भनिन्‌– ‘सानोमा हामी खुबै गट्टा खेल्थ्यौँ । तिमी सधैँ जित्थ्यौ । तिमीलाई सम्झना छ कि छैन ?’

‘हो दिदी, यहाँ पनि हामी गट्टा नै खेलेर बसुँला नि दिदी–बहिनी । अब भने म हारिदिउँला, हुन्छ ?’

यतिबेला तिनीहरू दुवैको आँखाबाट आँसुका ढिका खस्दै थिए गट्टा बनेर ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment