ढोकातिर क्वारक्वार्ती हेरिरहेको देखेर कोठा बढारिरहेकी महिलाले चियाको प्रस्ताव राखिन् ।
'आमा पनि चिया खानुहुन्छ कि !’ जसै बोलें, ओछ्यानमा पल्टनुभएकी आमाको मुखबाट निस्कियो– ‘खान्छु ।’
बिस्तारै बोलेको थिएँ, कसैले सङ्केत पनि गरेको थिएन, कसरी थाहा पाउनुभयो ? अचम्म लाग्यो ।
हरिहरकी आमा हो– उहाँ । हामी पुराना छिमेकी, आएका बेला साथीलाई भेटुँ भनेर बसेको, ऊ श्रीमतीसहित बाहिर गएको रहेछ ।
'आमा ठ्याम्मै सुन्दिनन्’ उसले पाँच, सात वर्षअघि भनेको थियो । त्यसलाई पत्याउनु कि अहिलेको यथार्थलाई ? मेरो असामञ्जस्य बुझेर हुनुपर्छ, सेताम्मे कपालमुनि मुस्कान छर्दै आमाको वाक्य फुट्यो– ‘बाबु, म तिम्री आमाकी साथी । तिमीहरू ससाना थियौं । मैले कान सुन्या’ देखेर छक्क परेका होलाउ, हैन ?’
मलाई अकमक्क देखेर गम्भीर हुँदै भन्नथाल्नुभयो– ‘हेर बाबु, म नसुन्ने बुढी हैन नि, छोरा, बुहारीले नसुन्ने बनाइदिएका हुन् । तिमीहरूकी आमा त बेलैमा बितिन्, भाग्यमानी रहिछिन्, ज्युँदी भएकी भए तिमीहरू नि यस्तै गर्थ्यौ कि !’
सुस्केरा हाल्दै उहाँ झन् भावुक हुनुभयो– ‘आफ्नै छोरो खोटो भएपछि अरूलाई के दोष ! यिनका नाममा घरजग्गा नलेखिदिएसम्मन् टोकस्या’टोकस्यै’ गरे । मधेशको जग्गा पनि नातिलाई अमेरिका पठाउन बिकाएरै छाडे । आफूसित कौडीदाम रहेन, पत्याउँदैनन् ! कति सवालजवाफ गरिरहनु ! त्यसैले कान नसुन्ने बहाना गरेकी हुँ । नानाथरी फलाकिरहन्छन्, कान नसुन्ने बुढी झैं म हाँसिरहन्छु ।
चिया लिन गएकी नानी वर्षौंदेखि यहीं छिन्, काम गर्छिन्, मलाई औधि माया गर्छिन्, मेरो पीडा कसैलाई भन्दिनन्, बाबुले नि नभन्नुहोला है ! नत्र मलाई जिउँदै लास पार्छन् ।
आमाका व्यथा सुनेर असह्य भयो । नचाहँदा नचाहँदै आँखा रसाए । कुन बेला गह भरिए, पत्तै भएन ।
–सरस्वतीनगर, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment