Wednesday, June 4, 2025

म किन लेख्छु ? (अङ्क २४ मा प्रकाशित)


म किन लेख्छु ? प्रश्न जति सरल र कोमल छ, उत्तर अलि कठीन रहेछ । म एकछिन घोत्लन वाध्य भएँ । र घोत्लिएपछि मैले यस्तो लेखेँ –

मैले ४० को दशकदेखि साहित्य पढ्न र लेख्न थालेको हुँ । साहित्यमा आख्यान र काव्य मेरो सर्वाधिक रुचिको विषय हो । यही दुई विधामा म खेल्न अत्याधिक रुचाउँछु ।

लघुकथा संसार अनलाइन पत्रिका नेपालभित्र पहिलो लघुकथाको अनलाइन पत्रिका भएकोले आख्यान र लघुकथामा नै केन्द्रीत भएर आफ्नो लेखन अवधारणा व्यक्त गर्नु उपयुक्त हुन्छ ।

कथामा म निवन्धका केही टुक्राहरू मिसाएर लेख्छु भने लघुकथामा काव्यका केही अंश र गुणहरूको सुगन्ध महशुस गराउन म रुचाउँछु ।

म किन लेख्छु त ? मूल प्रश्न यही हो । खासमा आफैमा रमाउन म लेख्छु । आफ्नै भोगाई, सोचाई र देखाईले कहिले आफ्नै मनमा शान्ति र कहिले भ्रान्ति फैलाइरहेको म महशुस गर्छु । मनको विविध शान्ति र भ्रान्तिलाई व्यवस्थापन गर्नको लागि नै म लेख्छु । लेखन नै मेरो कसरत र लेखन नै मेरो ओखति पनि हो ।

'म पाठक बढाउन वा पाठकलाई बुझाउन लेख्छु’ भन्ने अनावश्यक तनाव पाल्दिन । समाज परिवर्तनको लागि लेख्छु वा समाजमा भएका विसङ्गतिहरू पखाल्न लेख्छु भन्ने धङ्धङ्ती पनि मलाई कहिल्यै आएन । साँचोमा, मलाई मेरै नजिकका छिमेकीले लेखक हो भनी चिन्दैन पनि । मलाई मेरो परिचयमा म लेखक, साहित्यकार  वा लघुकथाकार हुँ भनी चिनाउन पनि जाँगर वा रुचि दुवै पटक्कै छैन ।

वास्तवमा म लेखनका सिद्धान्तहरू पनि रुचिपूर्वक पढ्छु । मलाई हरेक सिद्धान्तहरूमा थप कुरा अझै बाँकी छन् झै लाग्छ । फेरि स्रष्टा भन्ने 'जिनिस’ द्रष्टा पनि बन्नु पर्छ भन्ने भ्रम ममा सधैँ जिउँदो/जाग्दो छ । द्रष्टाले बनिबनाउ बाटोबाट मात्र हिड्नु हुँदैन भन्ने अहंम ममा छ । म आफैभित्र रमाउने अहंमवादी व्यक्ति हुँ । बनिबनाउ अकाट्य संविधान झैं सिद्धान्तलाई 'रिनोभेट’ गर्नलाई पनि म लेख्न रुचाउँछु । तसर्थ लघुकथामा विलोमको प्रयोग गरिएको पनि हो ।

मेरो मस्तिष्कमा जब चेतनाले बास बसेको महशुस गरेँ त्यस दिनदेखि नै मैले आफ्नो जीवनलाई मेरै स्तरबाट प्रयोग गर्दै आइरहेको छु । प्रयोगकला मेरो रुचि हो ।साहित्य लेखनमा पनि मैले आफ्नो प्रयोगकलालाई रुचिपूर्ण प्रस्तुत गर्ने गरेको छु/गरिरहन्छु ।

लेखन मेरो बिजनेस हैन । त्यसो त लेखेर मलाई कसैलाई जित्नु पनि छैन । म सधैँ – 'शब्दम् शरणम् गच्छामि’ जपिरहन्छु । यो मन्त्र नबिर्सनको लागि पनि म लेखिरहन्छु । यस मन्त्रले मलाई मनशान्त गरेको छ । मेरो जीवनमा शब्दको मोह, अनुशासन र विनिर्माण मेरो जीवनभन्दा पनि बढी छ । तसर्थ यस जीवनलाई शब्दको योगमा जोडेर जीवनबाट मुक्त हुन म लेख्छु/ लेखिरहन्छु ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment