उज्यालो नहुँदै बाबुलाल आफ्नो एरियामा पत्रिका बाँड्दै आउँछ । एउटा बुज्रुक ग्राहक घरको कम्पाउण्डमा उभिरहेको हुन्छ । साइकल रोक्छ र नमस्कार गर्दै पत्रिका दिन्छ र भन्छ – ‘सन्चै हुनुहुन्छ बुवा ? बुवा त बरोबर कति दिन पत्रिका उठाउनै हुन्न रहेछ पढ्ने फुर्सद पाउनु हुन्न या बरोबर कतै बाहिर जानु हुन्छ ?’
‘के भन्नु बाबु खै बाहिर त बाहिरै गएको थिएँ घुम्न होइन पशुपतिमा गएर बसेको थिएँ । बुढी बितेको थिई १३ दिनसम्म त्यहीँ थिएँ । त्योभन्दा अघि बरोबर हस्पिटल बसें । एक्लो छु । छोरा छोरी कोही यहाँ छैनन् ।’
‘ए त्यस्तो पो ? दुःख लाग्यो हजुरको कुरा सुनेर !’ भन्दै साइकल अगाडि बढाउन खोज्दा बुढा बाले एकछिन बाबु भन्दै रोके अनि भने – ‘युवा जति सबलाई विदेशै प्यारो भो । देशमा बस्नै चाहँदैनन् । बाबु, अब त म नितान्त एक्लो भएँ ।’
अलि अप्ठ्यारो मान्दै खल्तीबाट केही निकालेर दिंदै भने – ‘एउटा यो मेरो फोन नम्बर भएको कागज राखी राख्नुस् न बाबु !’ भन्दै एउटा भिजिटिङ्ग कार्ड दिन्छन् जसमा आफ्नो नाम फोन नम्बरसँगै छोराछोरीको पनि नाम ठेगाना र फोन नम्बर पनि लेखिएको हुन्छ ।’ बिहान तपाईं आउँदा पत्रिका टिपेको रहेन छ भने एकचोटी यसो फोन गर्नुस् । फोन पनि उठेन र ढोका खुलै रहेछ भने भित्र एकचोटी आएर हेरि दिनुस् न है । के ठेगान भगवान्को कहिले मर्जी हुन्छ र बोलाउनु हुन्छ ? हुन त यो नम्बर दुध ल्याउने र सफा गर्न आउने बहिनीलाई पनि दिएको छु, जस्ले पहिला देखे पनि … एम्बुलेन्स वा अरु कुनै सहयोग चाहिने भए सहयोग गरिदिनु भए ठूलो धर्म लाग्छ बाबुहरूलाई ।’
– भक्तपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment