Pages

Thursday, July 10, 2025

पुस्तक समीक्षा (अङ्क २५ मा प्रकाशित)


लघुकथाकार रुद्र अधिकारी ‘निर्दोषी’को मनश्चक्षु नामक लघुकथासङ््‌ग्रह २०८१ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका मानवीयता, महान्, पारपाचुके, हस्ताक्षर, खेल, बाहुन दलित, विवशता लगायत विभिन्न शीर्षकका ६२ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ६२ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । यस सङ्ग्रहभित्रको मानवीयता शीर्षकको पहिलो लघुकथामा प्रहरीले वाकी–टकीमा कुरा गरेर सशस्त्र र सेनालाई बोलायो । उनीहरूबिच कसले नेतृत्व गर्ने, उद्धार पूर्व तयारी र जोखिम न्यूनीकरण तथा मूल्याङ्कनबारे विचार–विमर्श चल्यो भनिएको छ । 

सङ्ग्रहभित्रका सबै लघुकथाहरु सवाल्टर्निक छैनन् । विषय र विचारगत विविधता रुद्रका कथाहरुको विशेषता हो । पारपाचुके शीर्षकको लघुकथामा वकिलले मनमनै सोच्यो, “मिलिक्कै उनीहरूको सम्बन्ध श्रीमान्‌–श्रीमतीबाट पूर्व पति–पत्नीमा बदलियो । एउटा कागजको खोस्टोले उनीहरूको मात्र होइन आफन्तहरूको र कुटुम्बहरूको बर्सौंदेखिको नाता फेरिदियो । आजदेखि दुवैको ओछ्यान चिसो हुने भयो” भनेर रुद्रले लेखेका छन् । रुद्रका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीब्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरित मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरु हुन् । रुद्रको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् ।  

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अङ्ग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरु छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरु यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार रुद्रले मनन गरेका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । विसङ्गति, सामाजिक विडम्बना, आर्थिक विपन्नता, बौद्धिक दयनियता, सांस्कृतिक विचलन जस्ता कुराहरुमा रुद्रका लघुकथाहरुले व्यङ्ग्य गरिएको छ । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ । रुद्रका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारित छन् । यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रुपमा पनि आएका छन् । 

मनमा बिझेका, मनलाई छोएका, देखे–भोगेका र कल्पनामा दौडिएका कुराहरु नै कथाका रुपमा आउने रहेछन् । कतिपय कल्पना र स्वैरकल्पनालाई पनि समेट्ने प्रयास गरेको छु । यी कल्पनाहरू विगत र वर्तमानको धरातलको जगमा टेकेर गरिएको हुनाले यथार्थको नजिक भने अवश्य छन् । यही कारणले, यो लघुकथा– सङ्ग्रहको नाम पनि ‘मनश्चक्षु’ रहन गएको छ भनेर लघुकथाकार रुद्रले लेखेका छन् ।

प्रस्तुत लघुकथासङ्ग्रहमा प्रस्तुत दैनन्दिन जीवनसँग सापेक्षता भएका देश, काल र परिस्थितिहरू समसामयिकताका साथै समाज मैत्री परिवेशमा आधारित रहेका छन् । मानिसका जीवनका कतिपय रहस्यहरू विलय हुन्छन् भने कतिपय जागृत हन्छन् । तथापि यस लघुकथासङ्ग्रहमा सामाजिक, आदर्श र उन्नत जीवनको स्थापनाका लागि आदर्श पक्षको घटना र पात्रीय सन्दर्भमा आधारित भाव कथनलाई लघुकथाहरूमार्फत यथार्थको झल्को प्रशस्त दिएको पाइन्छ । प्राय लघुकथाहरूमा व्यङ्ग्यको चोट प्रकटन हनुका साथै व्यञ्जार्थ अर्थभावहरू लघुकथाको बनौटसँगै संवाद शृङ्खलामा सजिएको भेटिन्छ । बौद्धिकताको कसीमा भाव र सन्देशका बिचमा लघुकथाहरू प्रशस्त सजिएका छन् ।

त्याग शीर्षकको लघुकथामा जब भाउजू अरू काममा व्यस्त भइन्, बिर्खेले सुमनलाई सोध्यो, “मलाई दाइको कुरा सही लागेको थियो तर किन भाउजूलाई जित्न दिनुभएको’’ भनेर लेखिएको छ । सङ्कल्प शीर्षकको लघुकथाम समीक्षा सकिएसँगै उसले सुझावलाई आत्मसात् गर्ने प्रतिबद्धता, कमेन्टमार्फत जाहेर गर्‍यो । लघुकथाका विभिन्न पेजहरूमा नियमित लघुकथा प्रेषित गर्ने भएर होला, उसका लघुकथाहरू कहिले वाचनका लागि छनौट त कहिले उत्कृष्ट भइरहन्थे । लघुकथाको क्षेत्रमा उसको नाम चिनिन थालेको थियो भनेर लेखिएको छ ।

स्वतन्त्रता शीर्षकको लघुकथाले पदमले, “बलात्कारी तिम्रो छोरोले सजाय भोगिरहेको छ । उसलाई बलात्कारी भन्दैमा जुम्रा देखेको हुने ? तिम्रो खोक्रो आदर्श र कडाइको परिणाम, तिम्रो छोरोले भोग्नुपर्‍यो । के खुटानी लगाउँछौ भनेको छ । कर्म शीर्षकको लघुकथामा विज्ञानको विद्यार्थी भएर होला, तथ्य र प्रमाणबिना कुनै पनि कुराको विश्वास नगर्ने मेरो आदत थियो । प्रगतिशील वा क्रान्तिकारी उपमा पाए पनि म आफूलाई प्रजातान्त्रिक ठान्थेँ । प्रगतिशीलहरू भन्ने गर्दथे, “तपाईंको स्वभाव प्रगतिशील छ भनेर रुद्रले भनेका छन् ।

नेपाली साहित्यमा लघुकथाको आफ्नै विशिष्ट स्थान छ । आजको समयले लघुकथालाई झन् लोकप्रिय बनाएको छ । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्‌मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुतम वा सूक्ष्मत्तम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्‌लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको  छ ।

कृतिः मनश्चक्षु (लघुकथासङ्ग्रह)
लघुकथाकारः रुद्र अधिकारी 'निर्दोषी’
प्रकाशकः समकालीन साहित्य प्रतिष्ठान, बेलायत
संस्करणः वि.सं. २०८१ प्रथम
मूूल्यः रु. २५०/–, पृष्ठः १२०

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment