"दाइ ! तपाईंसँग म पनि मेलामा घुम्न जान्छु है ? मलाई पनि घुम्न मन लाग्यो ।’’ भाइले मेला हेर्ने र घुम्ने रहर गरेकोले दाइले भाइलाई मोटरसाइकलमा राखेर मेलामा घुमाउन लग्यो । सुरक्षित ठाउँमा मोटरसाइकल राखेर उनीहरू मेला हेर्न अगाडि बढे । मेलामा बाजागाजा, नाचगान लगायत झाँकीहरूको लावालस्कर थियो । मेला भर्न आउने मानिसहरूको बढ्दो क्रम चलिरहेको थियो ।
दाजुभाइ रमाइलो कुरा गर्दै, यताउता घुम्दै, रमाउँदै मेला हेर्दै थिए । अचानक भीडले गर्दा दाइको हातबाट फुत्किएर भाइ छलियो । भाइ छलिएको देखेर उसको होसहवास् उड्यो । उसले भ्याएसम्म चारैतिर धेरैबेर भाइलाई खोज्यो, हेर्यो, बोलायो । भाइलाई खोज्दाखोज्दै झमक्क साँझ परिसक्दा पनि भाइ कहिँ भेटिएन ।
भाइ छलिएकोमा के गर्ने, के नगर्ने…! उसले केही सोच्नै सकेन । उसलाई छट्पटी भयो । “अब मैले घरमा के भन्ने र कसरी मुख देखाउने ।’’ ऊ दिक्क हुँदै, निन्यारो मुख लगाएर मोटरसाइकल राखेको ठाउँमा पुग्यो ।
उता भाइ रुँदै, कराउँदै दाइलाई खोज्दै थियो । कतै नदेखेपछि अत्तालिँदै मोटरसाइकल भएको ठाउँमा आएर दाइलाई कुरेर बसिरहेको थियो । निकैबेर पछि दाइ हस्याङ्फस्याङ गर्दै बल्ल त्यहाँ आइपुग्यो ।
त्यहाँ भाइ रुँदै बसिरहेको देखेर हत्तपत्त बोक्दै भन्यो, “मेरो प्यारो भाइ ! धन्न तिमीले बुद्धि पुर्याएर यहाँ आएर बसेछौ । नत्र त्यत्रो भीडमा कहाँ भेट्नु र…! मैले तिमीलाई कहाँमात्र खोजिन…।’’
भाइले आँसु पुछ्दै भन्यो, “दाइ, म आफू छलिएपछि यताउता हेरेँ, रोँए, कराँए…। कतै नदेखेपछि पक्कै पनि यहीँ आउनुहुन्छ भन्ने सोचेर कुरिरहेँ । “भाइको यस्तो सोचविचार र बुद्धिमतापूर्ण काम देखेर दाइको खुसीको सीमा रहेन । छलिएको आफ्नो प्यारो भाइ भेटिएपछि खुशी हुँदै उनीहरू ढुक्कसँग घर फर्के ।
चाबहिल– ७, काठमाडौंँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment