Thursday, May 7, 2026

पुस्तक समीक्षा (अङ्क ३४ मा प्रकाशित)

लघुुकथाकार शंकर खरेलको ॐ तृप्यन्ताम नामक लघुकथासङ्ग्रह २०८० मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका स्व. मतदाता, लोकप्रिय नेता, जो चोर उसैको ठूलो स्वर, काकालाई धन्यवाद, लोकप्रिय नेता, बेपत्ता लगायत विभिन्न शीर्षकका ७८ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ७८ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । यस सङ्ग्रहभित्रको स्व. मतदाता शीर्षकको पहिलो लघुकथामा राजनीतिक परिवर्तनपछिका निर्वाचनमा उनी हरेक पटक मतदान गर्दा नामावली सूची हेर्न लगाउँथे, मेरो धर्मपत्नी दैवन्तीदेवी मुखियाले आज मतदान गर्न सकिन हजुर ? निर्वाचनमा खटिएका कर्मचारीले सूची पल्टाउँदै भन्थे, अँ, मतदान गरेर हिडिसक्नु भयो त आमै भनिएको छ ।

डिस्ट्रिन्सन शीर्षकको लघुकथामा तीनै डिस्ट्रिन्सन आज गाउँको पालिका अध्यक्ष भएका छन् । बीए पास गरेको, लोकसेवा लडेर अधिकृत पास भएको कर्मचारीलाई आफू मुन्तिर राखेर काम गराउन पाएको छ भनेर खरेलले लेखेका छन् । छोराको मोह शीर्षकको लघुकथामा सुनिताको गर्भ रह्यो । 

१० महिनापछि उनले अर्को बच्चा जन्माइन । अस्पताल पुगेर शिवम्‌ले थाहा पायो दोस्रोपटक पनि छोरी नै भयो भनिएको छ । सानो आकार र आयाममा अभिव्यञ्जित जीवनको कुनै एउटा विषय अनुभूति र घटनाको प्रकटित रुप नै लघुकथा हो ।

अलिकति भोगाइ, अलिकति सुनेको अलिकति देखेको घटनाले मनमा जगाएको विभिन्न किसिमका भावनालाई खरेलले अक्षरमा उन्दै गएका छन् । कथाकार खरेलले प्रायः लघुकथामा आकार र प्रभावकारितालाई ध्यान दिएका छन् । उनको विशेषता हो कुनै विषय वा घटना देख्नासाथ त्यसलाई लघुकथाको विषय बनाइहाल्नु । कथाकारले ससाना घटना भोगाइ र सन्दर्भलाई लघुकथामा उतारेका छन् । त्यस्ता विषयलाई उनी सरल र सीधा संरचनामा प्रस्तुत गर्छन् । 

यस सङ्ग्रहभित्रका लघुकथाहरू सत्यका नजिक छन् र चोटिला छन् । वर्तमान सामाजिक, राजनीतिक, धार्मिक विषयका लघुकथाहरू नै सङ्ग्रहमा छन् । यही कारण पाठकले यो लघुकथासङ्ग्रह पढेर नजिकबाट आत्मसात गर्न सक्ने विश्वास गर्न सकिन्छ । समाजमा हुनेगरेका क्रियाकलाप र त्यही हुने गरेका विकृति र बिसङ्गतिलाई पनि लघुकथाकारले केलाउन सकेका छन् । 

यसभित्रको प्लेनको यात्रा शीर्षकको लघुकथामा हरेराम प्लेनको यात्रा गर्न डराउँछन् । अझ माघेसंक्रान्तिका दिन प्लेन नदीको खोचमा दुर्घटना भएर ७० भन्दा बढीको मृत्युको खबरले त हरेरामको होसह्‌वासै उड्यो भनेर लेखिएको छ ।  पुरस्कार शीर्षकको लघुकथाभित्र काठमाडौँबाट आएका मन्त्री महोदयले जीवनमै त्यही कार्यक्रममै ऋषिकेशको नाम सुनेका थिए । उनले पनि भाषण गर्दा निकै फुर्क्याए भनेर खरेलले लेखेका  छन् । 

यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महङ्खव बढ्नेछ । यस तथ्यलाई लघुकथाकारले मनन गरेका छन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्संदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्‌् । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्‌मा पूर्ण  हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । 

हरेस खाएपछि शीर्षकको लघुकथामा २५ वर्षको उमेरमा रामभजनले धेरैलाई चकित बनाउने गरी अब्बल दर्जाको शिक्षा लिइरहेको थियो । अध्ययनमा तेज रामभजनका लागि कुनै विषय एकदमै सहज लाग्थ्यो र सामान्य ज्ञानका कठिन प्रश्नको जवाफ उसका लागि एकदमै सजिलो मानिन्थ्यो भनेर लेखिएको छ ।  बिक्री भयो सिद्धान्त शीर्षकको लघुकथामा राजनीति भनेको सिद्धान्त र अनुशासनको कुरा हो । सिद्धान्त स्थीर रहेन भने राजनीतिको लक्ष्य प्राप्त हुदैन । मेरो यो कट्टरतालाई सबैले मानेका छन् । सिद्धान्तप्रतिको अनुशासन, एकयबद्धता भनेको हाम्रो परिवारको मूल सम्पत्ति हो भनेर खरेलले लेखेका छन् । सुख र सकारात्मक संसार निर्माणको पहलमा यो लघुकथासङ्ग्रहले अग्रगामी बिचार पस्केको छ । वास्तवमा लघुकथा लेख्नु निकै जोखिमको विषय हो । 

कृतिः ॐ तृप्यन्ताम (लघुकथासङ्ग्रह)
लघुकथाकारः शंकर खरेल
प्रकाशकः न्यू सृष्टि दैनिक
संस्करणः वि.सं. २०८० पहिलो
मूूल्यः रु. २००/–, पृष्ठः १५६

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment