Pages

Monday, October 27, 2025

पुस्तक समीक्षा (अङ्क २८ मा प्रकाशित)


लघुकथाकार विवेक शर्मा गौतमको जेई नामक लघुकथासङ्ग्रह २०८० मा दोस्रो कृतिको रुपमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका झ्यालको पर्दा, अधुरो यात्रा, जोगी तरकारी, शंका, सुपर मायालु, ब्रत लगायत विभिन्न शीर्षकका एकाउन्नवटा लघुकथाहरू राखिएका छन् । यस सङ्ग्रहभित्रको झ्यालको पर्दा शीर्षकको पहिलो लघुकथामा महलका झ्यालहरूमा पर्दा नराख्दा पर्दाफास हुन्छ भन्ने उसलाई डर छ । ऊ सार्वजनिक जिम्मेवार पदमा छ । अतः उसले सबै झ्यालमा पर्दा राख्यो भनिएको छ ।

प्रस्तुत सङ्ग्रहका कथाहरू हाम्रो दैनन्दनीय घटनाहरूको बुनोट हो । कथाहरू सरल र बोधगम्य छन् । धर्म, संस्कृति, शिक्षा र सामाजिक भावनासँग जोडिएका विसङ्गतिहरूलाई सरल र सहज ढङ्गले प्रस्तुत गरिएको छ । जोगी तरकारी शीर्षकको लघुकथामा बाबाले चपबोर्डमा पाँच थरी तरकारी काटे । त्यस बाहेक मसला, लसुन, प्याज, आलु, गोलभेडा तयार गरे । कराहीमा तेल राखेर चुलोमा बसालेका छन् ।

सुपर मायालु शीर्षकको लघुकथामा तिम्रो र मेरो मायालाई माथ गर्ने सुपर मायालु अर्कै छ । तिम्रो पनि अरु नै छ, श्रीमान्‌ले भनेपछि यो कुरा सुन्नेबित्तिकै श्रीमतीले झटारो हान्दछिन् । लघुकथाका स्रष्टा विवेकले जीवनका विभिन्न सन्दर्भ र घटनालाई एक क्षणको अनुभूतिमा समाहित गरेर लघुकथाको आकारमा ढालेका छन् । त्यसरी व्यक्त क्षणको अनुभूति र सन्दर्भबाट जीवनको एउटा एउटा विषयले पूर्णताको बोध गराउँछ । घटनाको व्याख्या नगरी उनी विषयलाई संकेतात्मक रुपमा सम्प्रेषण गर्छन् । 

यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार विवेकले मनन गरेका छन् । विषय छनोट कथाकारको महत्वपूर्ण परीक्षणको क्षेत्र हो । कथाकारले आजको पाठकको भोकतिर्खा मेट्न सक्ने विषय छनोट गर्न सक्यो कि सकेन त्यो महत्वपूर्ण पाटो होे । यस सङ्ग्रहभित्रका कथाको शीर्षकहरूबाट नै कतिपय कथा व्यक्तिको चरित्र वा स्वभावसँग सम्बन्धित छन भन्ने स्पष्ट देखिन्छ । कतिपय शीर्षकले घटना, कतिले समस्या, कतिपयले जीवनानुभव र कतिपयले अवस्थाको सङ्केत गरेका छन् । यस कृतिभित्रका कथामा पनि व्यक्तिगत स्वभाव, सामाजिक परिघटनाहरू र प्रवृत्तिहरूकै चित्रण भएकाले कथाकार विवेक शीर्षक चयन वा कथाको नामकरण गर्नमा खप्पिस छन् । 

होली शीर्षकको लघुकथामा रातो वस्त्र लगाएको ओठेले सेतो रङ्ग समातिरहेको थियो । सेतो पहिरनमा रहेको गोठेले रातो रङ घोलिरहेको थियो । दुबै होली पर्व मनाउने तरखरमा थिए । चोटेले रातो रङ देशको माटोमा मिसाउँछ ।

अटैची शीर्षकको लघुकथामा लौ न नी ! हतार भयो ! बर्बाद भयो ! भन्दै भ्यागुतो र गंगटो बैठक कोठाभित्र पस्छन् । त्यो राज्यमा गंगटो ठेकेदार, भ्यागुतो मन्त्री र किसानको नेता मुसो हुन्छन् । आमाको आशीर्वाद शीर्षकको लघुकथाभित्र आमा रुँदै भन्नुहुन्छ आउँछन् कि आउँदैनन् । टाढा छन् । आउने आशा राखेकी छु । एकै ठाउँमा जम्मा नभएको धेरै वर्ष भयो भनेर विवेकले लेखेका छन् । विवेकका यस सङ्ग्रहका कथाहरू मध्ये विषयवस्तु प्रस्तुतिका कोणबाट अटैची, होली कथाको पात्र चयन र प्रयोगमा सुधारको खाँचो देखिन्छ भने अन्य कथाका पात्रहरू कथानक र परिवेशसँग मेल खाने देखिन्छ ।

सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । हाइब्रिड शहर शीर्षकको लघुकथामा पहिला राख्ने गरेको ठाउँ सफाचट भएछ । पाँच ठाउँमा राख्नलाई जमर्को गरे । अँह कतै भेट्टाइन । दशैँको किनमेल गर्न असन इन्द्रचोकसम्म पुग्नु छ । खिचापोखरीबाट भित्र पसेँ । धेरै ठाउँको असफल प्रयासपछि साधन राख्ने ठाउँ नपाएर न्यूरोड गेटबाहिर निस्के भनेर लेखिएको छ ।

कृतिः जेई (लघुकथासङ्ग्रह)
लघुकथाकारः विवेक शर्मा गौतम
प्रकाशकः सिर्जना अभियान समाज
संस्करणः वि.सं. २०८१ वैशाख
मूूल्यः रु. २५०/–, पृष्ठः ९६

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment