Pages

Saturday, October 25, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


 

अफिसमा बसेर कर्मचारीहरु ईर्ष्याको पिङ्ग खेल्दैथिए !

“होइन, खरदार लक्ष्मणको कहिल्यै सरुवा हुँदैन त ! हामीलाई त दुई वर्ष नहुँदै डाँडो कटाउँछन् !” सहकर्मी बिदुरले भने ।

“म पनि छक्क परेको छु । ऊ काम पनि केही गर्दैन तैपनि हाकिमको प्यारो छ !” अर्का सहकर्मी उमेशले थपे ।

“उसको ठूलै पावर छ जस्तो लाग्छ ! एउटै कार्यालयमा पेन्सन पकायो !” फेरि उनै बिदुरले थपे । 

“यस्तो मालदार अफिसमा कोही टिक्छ यत्रो बर्ष ? छब्बीस – छब्बीस बर्ष एउटै कार्यालयमा टिक्नु मजाक हो र ! ऊ यत्रो बर्ष के गरेर टिकेको होला ?’’ उमेशले पुनः सवालको मुक्का चलाए ।

कार्यालयमा चिया पिउने समयको अतिरिक्त अरु समयमा पनि लक्ष्मणप्रसादको विषयमै गफ हुँदैथियोे ! अचानक मन्त्रालयका सचिव सहितको हाकिमहरूको टोली कार्यालयको निरीक्षण गर्न आइपुग्यो । सबैजना सतर्क भए !

सचिवले सबैको अनुहार नियालेर सोधे, “खोइ त लक्ष्मन् खरदार ? मैले कतै पनि देखिँन उनलाई ! उनी नभए त म आउनुको के अर्थ भो र !”

लक्ष्मणको खोजीमा दुई तीन जना कार्यालय सहयोगीहरुलाई चारैतिर दौडाइयो । आधा घण्टापछि लक्ष्मणप्रसाद आफैं आइपुगे ।

एकपटक धनुष्टंकार दण्डवत गरेर उनी के हराएका थिए, कोसेलीको पोको सचिवको बिलासी जीपको डिकीमा थन्क्याएर हत्केलामा खैनी माँड्दै हाकिमहरूको सामुन्ने खडा भए । लक्ष्मणले बनाएको खैनी आफ्नो ओठभित्र घुसारेर सचिवले आफ्ना सहकर्मी हाकिमहरुलाई हेर्दै भने, “खैनीको त उस्ताद हो लक्ष्मणप्रसाद ! यस्तो इमान्दार कर्मचारी पाउन गाह्रो छ । यस बर्षको उत्कृष्ट निजामती पुरस्कार यिनैलाई दिनुपर्छ !”

 - बागमती ११, कर्मैया, सर्लाही

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment