Pages

Saturday, November 29, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


ए बाबु उठ्न कति सुतिरहेको छस् । घाम उदाएर डाँडामाथि आइसकेको छ । गाईवस्तु घाँस, पराल, खोले खान नपाएर छट्पटाइसके । भकारो सोर्नै बाँकी छ । फेरि दुध पनि दुनै पर्‍यो । कति धेरै काम गर्ने बुढालाई एकैछिनको व्यथाले कलिलै उमेरमा लगिहाले दैवले । यै एउटा छोराको मुख हेरेर, यो घर सम्हालेर बसेको छु । चिन्ता र कामको चापले होला अनि उमेर पनि त ओरालो लाग्दै जाने न हो । यो जाडो महिनामा खोकी लाग्छ । जिउ सबै कटकट खान्छ । बिहान उठेर काम गर्न हम्मेहम्मे पर्छ । छोराले अलिअलि काम सकाएर दुध, डेरीसम्म पुर्‍याएर स्कुल गइदिए अलि सजिलो होला भनेर करायो छोरो उठ्नै मान्दैन । 

पूजाको घण्टी बजाउँदै कमला देवताको नाम लिनु सट्टा आफ्नै दुखेसो पोखिरहेकी थिइन् । म उठिसकें आमा कति कराउनु हुन्छ ! अलिकति गृहकार्य सक्दै थिएँ । हत्तपत्त चोटाबाट तल झर्‍यो बिराज । हातमुख धोएर, आमाले पकाएको मिठो चिया पिएर, गोठको भकारो फाल्यो । गाईवस्तुलाई घाँसपराल र आमाले पकाएको कुँडो (खोले) खुवाउँदै दुध दोयो । अनि दुध क्यानमा राखेर डेरी जान तयार भयो ।

मङ्सिरको महिना बाहिर निकै चिसो थियो । आफ्नो स्वेटरहरू मैलो भएकोले के लगाउने भनेर खोज्दा आमाको दराजमा ह्याङ्गरमा झुण्डाएर राखेको ज्याकेटमा बिराजको आँखा पर्‍यो । त्यही ज्याकेट लगाएर दुधको क्यान बोकेर हिँड्यो । आमा म गएँ खाना छिट्टै बनाएर राख्नुस् है ? म आएर खाना खाएर स्कूल जानुपर्छ । 

कक्षा दशमा पढ्दै गरेको बिराज बाटोमा अलिपर चौतारीमा क्यान बिसाएर टुसुक्क बस्यो । र एकै क्षणमा जुरुक्क उठ्यो । भुईँभरी हजार हजारको नोटहरू छरिएको देख्यो । ओहो ! जीवनमै नदेखेको कति धेरै पैसा । घरमा पैसा नहुँदा स्कूलमा फि तिर्न धौधौ परेको बेला यत्तिका धेरै पैसा देखेर खुसीको सिमा नै रहेन । बिराज एकै साहसमा डेरीमा दुध खनाएर घर आइपुग्यो । हतार हतार आफूले पैसा भेटेको कुरा आमालाई सुनायो । 

आमा छोराले लगाएको ज्याकेट देखेर हैरान भइन । यो ज्याकेट किन लगाइस् यो तेरो बाबुको निसानी हो । तँलाई कलेज पढाउन तेरा बाबुले दिनरात मेहेनत गरी कमाएको पैसा हो यो । मलाई राख्न दिनुभएको थियो मैले त्यही ज्याकेटको खल्तीमा जम्मा गरेर राखेको थिएँ । त्यही खल्तीबाट तँ बस्दा भुँइमा झरेको हो ।

- टोखा १० काठमाडौं

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment